हरिकृष्ण गौतम, म्याग्दी : म्याग्दीबाट यसबर्ष बैधानिक रुपमा १ केजी यार्सागुम्बा सङ्कलन र निकासी भएको छ । जिल्लाको उच्च हिमाली भेगमा बहुमुल्य जडिबुटी यार्सा प्रशस्त पाईने भएपनि बैधानिक रुपमा न्युन मात्रामा निकासी हुने गरेको छ । डिभिजन वन कार्यालय म्याग्दीबाट यार्सागुम्बा सङ्कलन र निकासीका लागि राजस्व तिरेर सङ्कलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्नुपर्ने भए पनि गत आर्थिक वर्ष २०८१÷०८२ सालमा यार्सा निकासीबाट ३१ हजार राजश्व संकलन भएको कार्यालय प्रमुख विष्णुप्रसाद अधिकारीले बताए ।
राजश्व धेरै भएको र आम्दानी कम हुने भन्दै अवैधबाटो बाट यार्सागुम्बा जिल्ला बाहिर जाने तथा जिल्लाभित्र समेत संकलनकर्ताले व्यक्तिगत प्रयोगका लागि सानो आकारमा बेच्ने गरिन्छ । म्याग्दीमा बर्षेनी १० केजीभन्दा बढी यार्सा संकलन हुने अनुमान गरिन्छ। यार्सागुम्बा संकलनपूर्जी नलगि छुट पुर्जी नपाइने भएकाले संकलनकर्ताले संकलन गरेपछि स्थानीय ब्यापारीमार्फत अवैध बाटोबाट बिक्री गर्ने गरेको पाइन्छ ।
म्याग्दीमा एकदशक अगाडी सरकारी निकायबाटै अनुमति लिएर संकलन र छुट पुर्जी बनाई २३ किलोसम्म यार्सा निर्यात भएको थियो । जिल्लाको धवलागिरी गाउँपालिकाको गूर्जा, लुलाङ, मुदी, मल्कबाङ र रघुगंगा गाउँपालिकाको चिमखोला, कुईनेमंगले क्षेत्र र अन्नपूर्ण गाउँपालिकाको दानाको माथिल्लो चरन क्षेत्रमा यार्सा पाइन्छ । सबैभन्दा धेरै गुर्जा,चुरेन र पुथा हिमालको बुकी र चिमखोला क्षेत्रमा यार्सा संकलनका लागि महिना दिनसम्म बुकिमै बस्ने गर्दछन् । जिल्लामा सरकारी संयन्त्रको कमजोरीका कारण संकलन पुर्जि लिनेको संख्या र परिमाणममै भारी गिरावट आएको देखिन्छ ।
एउटा यार्साको बुटीलाई दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री हुन्छ । यार्सा सङ्कलन भएपछि ब्यापारी गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् भने सर्वसाधारण समेत जंगलमै बसेर संकलन गर्छन् । विशेष गरी वैशाखको मध्यदेखि जेठको अन्त्यसम्ममा हिमालको फेदीसम्म पुगेर जोखिम मोलेरै स्थानीयले यार्सा सङ्कलन गर्ने गर्छन्। सर्वसाधारणबाट व्यवसायीहरुले प्रतिकिलो पाँचदेखि ६ लाखसम्ममा यार्सा खरिद गर्ने गरेका छन्। हालको बजारमूल्य प्रतिकिलो ८ देखि ११ लाखसम्म रहेको छ । स्थानीय दुःख गरेर टिपेको यार्सा अनेक झन्झट व्यहोर्नुभन्दा नेपाली बजार र विदेशमा समेत अन्य जिल्लाकासँग मिसाएर बिक्री गर्ने गरिएकाले बुकीबाटै यार्साको अवैध निकासी हुने गरेको छ ।
टिप्पणी गर्नुहोस्