Monday, May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

E-paper

बागलुङ नगरका १० विद्यालयबाट एसइइमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण

बुधबार, बैशाख ३०, २०८३

बागलुङ : बागलुङ नगरपालिका अन्तर्गतका १० वटा विद्यालयले एसइइ परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएका छन् । बागलुङ नगरपालिका भित्रका कुल ४१ विद्यालयमध्ये १० वटा विद्यालयले मात्रै एसइइमा सहभागी भएका सबै विद्यार्थी उत्तिर्ण गराउन सफल भएका हुन् । बागलुङ नगरपालिका शिक्षा शाखाका अनुसार शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउनदेखि एक जना पनि विद्यार्थी उत्तिर्ण गराउन नसक्ने विद्यालय पनि रहेका छन् ।

सामुदायिकतर्फ दुई विद्यालय र संस्थागततर्फ ८ विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएका हुन् । सामुदायिक विद्यालयतर्फ धवलागिरी विरेन्द्र माध्यमिक विद्यालय र कुँडुले माध्यमिक विद्यालयले सतप्रतिशत विद्यार्थी एसइइ उत्तिर्ण गराउन सफल भएका छन् । धवलागिरी विरेन्द्र माध्यमिक विद्यालयले साधारणतर्फ २२ जना र प्राविधिक धारतर्फ १९ जना गरी कुल ४१ विद्यार्थी सहभागी गराएकोमा सबै विद्यार्थी उत्तिर्ण भएका छन् । कुँडुले माध्यमिक विद्यालयबाट २४ विद्यार्थी सहभागी भएकोमा सबै उत्तिर्ण भएको बागलुङ नगरपालिका शिक्षा शाखाका पुरन घर्तीले जानकारी दिए ।

निजी तथा संस्थागत विद्यालयतर्फ धवलागिरी अग्रेजी आवासीय माध्यमिक विद्यालय, गरिमा आवासीय माध्यमिक विद्यालय, फ्युचर ब्राईटर आवासीय माध्यमिक विद्यालय, अमर आदर्श आवासीय माध्यमिक विद्यालय, न्यू एभेरेष्ट एकेडेमी, गुराँस विद्या सदन र सिद्धार्थ शिक्षा सदनले सहभागी भएका सबै विद्यार्थी एसइइ उत्तिर्ण गराउन सफल भएका छन् । बागलुङ नगरपालिका शिक्षा शाखाले तयार पारेको तथ्याङ्क अनुसार धौलागिरि आवासीय माविबाट १३ जना सहभागी भएकोमा सबै उत्तिर्ण भए ।

गरिमा आवासीय माविबाट २६ जना, फ्युचर ब्राईटरबाट ३१ जना, अमर आदर्श माविबाट ४८ जना, न्यू एभरेष्ट एकेडेमीबाट १६ जना, गुराँस विद्या सदनबाट ३१ जना र सिद्धार्थ शिक्षा सदनबाट १७ जना विद्यार्थी सहभागी भएकोमा सबै विद्यार्थी उत्तिर्ण भएका छन् । १० विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउँदा मुक्तिनाथ वेद विद्याश्रम कुँडुलेबाट एसइइमा सहभागी कुनै पनि विद्यार्थी उत्तिर्ण भएनन् । उक्त विद्यालयबाट ३ जना विद्यार्थीले एसइइमा सहभागीमा भएकोमा सबै अनुत्तिर्ण भएको तथ्याङ्कले देखाएको छ । अमलाचौरका पृथ्वीहिरण्य माविले ३९ जना विद्यार्थी सहभागी गराएकोमा ३ जना मात्रै उत्तिर्ण भएका छन् ।

सिद्धार्थ जिल्लामै उत्कृष्ट

शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएको सिद्धार्थ शिक्षा सदन बानपा—१ बागलुङ एसइइको नतिजामा जिल्लामै उत्कृष्ट ठहरिएको छ । उक्त विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ४ जनाले ४ जिपिए अंक ल्याउन सफल भएका छन् । कुनै एक विद्यालयबाट ४ जना विद्यालयले ४ जिपिएर ल्याएको सिद्धार्थ एक मात्र विद्यालय भएको सिद्धार्थ शिक्षा सदनका प्रिन्सीपल गणेश कार्कीले जानकारी दिए । सिद्धार्थका गिता थापामगर, सक्षम शर्मा, सिम्रण सुवेदी र आशिका खड्काले ४ जिपिए ल्याएको विद्यालयले जनाएको छ ।

विद्यालयबाट सहभागी ११ जना विद्यार्थीले ३.६० देखि ३.९६ जिपिए ल्याएका छन् भने २ जनाले ३.२० देखि ३.६० जिपिए ल्याएका छन् ।
सिद्धार्थ शिक्षा सदनपछि सबैभन्दा बढि ४ जिपिए ल्याउने विद्यार्थी चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बानपा—१ रामरेखाका रहेका छन् । चिल्ड्रेन लाईफबाट सहभागीमध्ये ३ जनाले ४ जिपिए ल्याएको विद्यालयका प्रिन्सीपल नवराज श्रेष्ठले जानकारी दिए । चिल्ड्रेन लाइफका पल्पसा आचार्य, आयुष गिरी र अंकित पौडेलले ४ जिपिए प्राप्त गरेको प्रिन्सीपल श्रेष्ठले बताए । प्रिन्सीपल श्रेष्ठका अनुसार ३.६ देखि ४ जिपिएसम्म ल्याउने विद्यार्थी ६२ र ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थी १७ जना छन् । उक्त विद्यालयबाट ८० जना विद्यार्थी एसइइमा सहभागी भएका थिए । एसइइको नजितासंगै विद्यालयले कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायतर्फ भर्ना सुरु गरेको श्रेष्ठले जानकारी दिए ।

एसइइमा सहभागी शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएको अमर आदर्श आवासीय माध्यमिक विद्यालयबाट एक जनाले ४ जिपिए ल्याउन सफल भएका छन् । अमर आदर्शका आशिष खत्रीले ४ जिपिए ल्याएको विद्यालयका प्रिन्सीपल हेमन्त थापाले बताए । थापाका अनुसार परीक्षामा सहभागि कुल ४८ परीक्षार्थीमध्ये एक जनाले ४ जिपिए, १२ जनाले ३.६० देखि माथि, ३० जनाले ३.२० माथि र ५ जनाले २.८० माथिका जिपिए ल्याएर उत्तिर्ण भएका छन् ।

गरिमा आवासीय माध्यमिक विद्यालय (डिग्निटी) का १ जनाले ४ जिपिएर ल्याउन सफल भएका छन् । विद्यालयका ऋतु आचार्यले ४ जिपिए ल्याउन सफल भएको विद्यालयका प्रिन्सीपल तेजेन्द्र कँुवरले बतााए । विद्यालयबाट एसइइ परीक्षामा २६ जना विद्यार्थी सहभाग िथिए । परीक्षामा १० जना विद्यार्थीले ए प्लस, १५ जना विद्यार्थीले ए र एक जना विद्यार्थीले बी प्लस ल्याएको विद्यालयले जानकारी दिएको छ ।

धौलागिरिकै जेठो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयले कुल ७१ विद्यार्थी सहभागी गराएकोमा ६७ जना विद्यार्थी उत्तिर्ण गराएको छ । विद्यालयका अनुसार यस वर्ष एसईईमा सहभागी विद्यार्थीमध्ये ११ जनाले ३.६ देखि ४.० जिपिए प्राप्त गरेका छन् । यस्तै १९ जनाले ३.२ देखि ३.६, २७ जनाले २.८ देखि ३.२ तथा १० जनाले २.४ देखि २.८ जिपिए हासिल गरेका छन् ।

टिप्पणीहरू (१)

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

  1. Cole4210 बिहिबार, बैशाख ३१, २०८३ मा ०६:१५ बेलुका बजे

U

सम्बन्धित खबर