संगम घर्तीमगर
बागलुङ : बागलुङ बजारको विभिन्न ठाउँमा भएको खाल्टाखुल्टी यहाँको नागरिकले सास्ती व्यहोर्न बाध्य भएका छन् । ठाउँ ठाउँमा भएको सडकको खाल्टाले स्थानीय व्यवसायीदेखि पैदलयात्रीले दुःख खेप्न बाध्य भएका छन् । बागलुङ बजारको उपल्लो क्याम्पसगेट, बालमन्दिरगेट, धौलागिरिचोक, बागलुङ नगरपालिका अगाडि, हल्लनचोकदेखि बुद्धचोक, लायन्सचोकदेखि शिवधाराचोक लगायतका ठाउँमा भएको सडकको खाल्टाले स्थानीयलाई दुःख दिएको छ । नागरिकले दुःख पाए पनि वडा कार्यालय र नगरपालिका कार्यालयले वेवास्ता गरिररहेको उनीहरुको गुनासो छ ।
‘पानी प¥यो कि खाल्टामा पानी जम्छ, गाडी आयो भने पसल भित्रैसम्म पानीले छ्याप्छ,’बागलुङ नगरपालिका—२ क्याम्पसगेटमा मोबाईल पसल सञ्चालन गरी बस्ने रामु पौडेल भन्छन्,‘ठूला मान्छेहरु यही बाटो गाडीमा हिँड्छन् । उनीहरुलाई हिलो छ्याप्ने भए थाहा पाउँथे । हाम्रो दुःख कस्ले देख्छ र ?’ सडकको खाल्टोमा जमेको पानीले पैदल यात्रीलाई पनि धेरै नै सास्ती दिएको उनले बताए ।
‘बागलुङको व्यस्त चोक हो, क्याम्पस जाने र अन्य कामले पनि यो बाटो ओहोर दोहोर गर्ने धेरै हुन्छन्,’ पौडेलले भने,‘गाडी र बाईक आउँदा पानीले हिलो छ्याप्दा पैदल यात्रा गर्नेलाई निकै सास्ती भएको छ । हामी पसल गर्नेहरुलाई त सधैंको समस्या भैहाल्यो ।’ अली ठूलो पानी प¥यो कि सडकभरी भेल आएर बाटो काट्नै नसक्ने अवस्था हुने गरेको उनको गुनासो छ ।
‘खाल्टोमा जमेको पानीले दिएको दुःख एकातिर छ, अर्कोतिर पानी पर्दा बाढी नै आउँछ यो सडकमा,’उनले भने,‘मध्यपहाडी लोकमार्गबाटै आउने भेल जम्मा भएर आउँदो रहेछ । पसल भित्रै बाढी पस्न खोज्छ । नालीको सही व्यवस्थापन नहुँदा पनि हामीले दुःख पाएका छौं ।’ पटक पटक सम्बन्धित निकायमा जानकारी गराए पनि समस्या जस्ताको त्यस्तै रहेको स्थानीय जीवन शर्मा बताउँछन् ।
‘खाल्टाखुल्टीले पारेको समस्या बारेमा हामीले वडा कार्यालय, नगरपालिका सम्बन्धित सबैलाई जानकारी गराएका छौं,’शर्मा भन्छन्,‘समस्याको जस्ताको त्यस्तै छ । हामी आफैले ढुङ्गा गिटी हालेर टाल्ने प्रयास पनि ग¥यौं । तर सम्भव नहुने रहेछ केही दिनमै उस्तै हुन्छ ।’ खाल्टाखुल्टीले त्यहाँ वरपर व्यवसाय गर्नेहरुलाई धेरै नै मर्का पारेको उनको भनाई छ । ‘बर्खाको समयमा ताल पोखरी बनेर सडक बसेको हुन्छ,’उनी भन्छन्,‘पसलमा आउने ग्राहकहरु पनि पानी तर्किदै हिँड्दा व्यवसायमा पनि प्रभाव परेको छ । व्यवसायी मर्कामा छन् ।’
लायन्सचोकदेखि शिवधारा चोकतर्फ जाने सडकमा भएको खाल्टाखुल्टीले पटक पटक दुर्घटना समेत घटाएको स्थानीय व्यवसायी शशी भट्टराई बताउँछन् । ‘सडक साँघुरो छ, त्यसैमा बीचैमा खाल्टा छन्,’उनले भने,‘आकाशबाट दैनिक पानी परेको छ । दोहोरो सवारी पास हुँदा दुर्घटना समेत हुने गरेको छ । साईड दिन खोज्दा थुप्रै पटक मोटरसाईकल पल्टिएको छ ।’ सडकमा गुड्ने सवारी साधनले सडकमा जमको पानी छ्याप्ने गरेको उनको गुनासो ।
‘पानी जमेपछि बाटो सम्मै जस्तो देखिन्छ, तीब्र गतिमा आउने बाईक र गाडीले पानी छ्यापेर पसलमा बस्दा मेरो अनुहारमै पानी छ्यापियो,’उनी भन्छन्,‘पटक पटक भन्दा पनि कसैले ध्यान दिदैनन् । दुःख हामीले भाग्नु परेको छ ।’ पटक पटक सरोकारवाला निकायमा जानकारी गराउँदा पनि समाधान नभएपछि आफैहरुले घर अगाडिको खाल्टो टाल्ने गरेको धौलागिरि चोकका अगमकुमार पालिखे बताउँछन् ।
‘बालमन्दिरचोकदेखि धौलागिरिचोक र लालीगुराँसचोक क्षेत्रमा स्थानीयले नै खाल्टा पुर्ने काम गरेको छन्,‘मेरो पसल अगाडि ठूलो समस्या भएपछि म आफैले खाल्टा टालेको थिएँ । सडक मर्मत गर्नुपर्ने वडा कार्यालय, नगरपालिकाले ध्यान दिँदैनन् ।’ आफुहरुले गिटी बालुवा हालेर सिमेन्ट समेत प्लास्टर गरेर टाले पनि दिर्घकालिन नभएको उनको भनाई छ । ‘कालोपत्र गरेको ठाउँमा सिमेन्ट हालेर टाल्दा पनि नहुने रहेछ,’उनले भने,‘बनाएको केही समयमा फेरी आफै उक्किन्छ ।’
बागलुङ नगरपालिका—२ का वडा सदस्य विदेशकुमार श्रेष्ठ भने अलि बढि समस्या भएको ठाउँमा खाल्टाखुल्टी पुर्ने र सडक मर्मत गर्ने गरी सडक बोर्डले काम थालेकाले आफुहरुले यो काम नगरेको बताए । ‘सडक बोर्डले काम थालेकाले हामी पनि गर्दा दोहोरोपन हुने भएकाले अहिले हामीले यो कामलाई थाती राखेका छौं,’उनले भने,‘सडक बोर्डले जिम्मा लिएको काम छिटो गरिदिए सबैलाई राहत हुन्थ्यो ।’
सडक बोर्ड मार्फत झण्डै एक करोड रुपैयाँको टेन्टर निक्लेर काम अगाडि बढेको उनले बताए । श्रेष्ठले काम अगाडि बढेको बताए पनि सडकमा अहिले नागरिकको सास्तीमा भने कमी आएको छैन । सडक बोर्ड मार्फत असारमा उपल्लाचौर आर्मी क्याम्प अगाडि, बागलुङ नगपालिका कार्यालय अगाडि र हल्लनचोकदेखि बुद्धचोकसम्मको केही काम भएपछि अहिले अस्तव्यस्त अवस्थामा छ ।
असारमा सडक भत्काएर केही ठाउँमा बेस राख्ने काम गरे पनि अहिले निरन्तर पानी पर्दा सवारी साधनले खाल्टाखुल्टी पारेका छन् । त्यसले झन् धेरै दुःख दिएको छ । बागलुङ नगर उपप्रमुख राजु खड्काले सडक बोर्डले जिम्मा लिएका क्षेत्रहरुको काम सकिएपछि अन्य क्षेत्रमा नगरपालिकाले सडक मर्मत र खाल्टा टाल्ने कामलाई अगाडि बढाउने बताउँछन् ।
‘अलि धेरै समस्या भएको ठाउँहरु ट्राफिकचोक–आवारोड, हल्लनचोक–बुद्धचोक र उपल्लचौर आर्मी क्याम्पस क्षेत्रको काम सडक बोर्डले लिएकोले त्यो काम सकिएपछि बाँकी रहेको क्षेत्रमा हामीले सडक मर्मतको कामलाई अगाडि बढाउँछौं,’उनले भने,‘गतवर्ष नै मर्मत गर्नुपर्ने केही ठाउँहरुमा बजेट अभावले काम गर्न नसक्दा झन् धेरै मसस्या भएको छ । हामीले दशैंसम्म मर्मतको काम अगाडि बढाउँछौं ।’
बजार भित्रसंगै पञ्चकोटको सडक मर्मतका लागि पनि यसपटक बजेट विनीयोजन गरेको उनले बताए । वर्षा सुरु भएर दैनिक पानी परेकाले अहिले सडक बोर्डको काम रोकिएको र घाम लाग्न थालेपछि काम अगाडि बढ्ने उनले जानकारी दिए ।
टिप्पणी गर्नुहोस्