संगम घर्तीमगर
वडादशैं सुरु भैसकेको छ । दशैै सुरु भएसंगै जन्मघरमा आफ्नो दशै मनाउन फर्किनेहरु बढ्र्दै गएका छन् । तर गाउँ फर्किन त्यति सजिलो भने छैन । मुख्य सडकहरुको अवरोध छिचोल्दै गाउँ प्रवेशको तयारीमा गर्दा ग्रामिण सडकको बेहालले झन् दिग्दारी लगाउँछ । दशैंको टिका आउन केही दिन मात्रै बाँकी हुँदा पनि बागलुङका अधिकांस क्षेत्रको ग्रामिण सडकहरुको बिजोग छ । दशैमा सडक सरसफाई नहुँदा कतिपय गाउँमा सवारी साधन नै सञ्चालनमा आएका छैनन् भने कतिपय ठाउँमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
दशैं सुरु भैसक्दा पनि सडकको सरसफाई नभएको काठेखोला गाउँपालिका—३ धम्जाका दिलु क्षेत्रीले बताए । ‘दशै आईसक्यो, बाटो बिजोग छ, अहिले त झन् डुडियाँखोलामा ठेकेदार र नेता मिलेर बाटो छेकेका छन्,’उनले भने,‘सरसफाई र मर्मत नभएका कारण बाटाहरुमा समस्या छन् ।’ दशैंका बेलामा लामो बाटो घुमेर यात्रा गर्नु परेको समेत गुनासो गरे । बागलुङका केही शाखा सडक त बन्द अवस्थामा छन् कतिपय जोखिमपूर्ण भएका छन् ।
मध्यपहाडी लोकमार्गकै सवारी साधनका लागि समस्या भएको अर्का चालक प्रताप केसीको भनाई छ । ‘बागलुङ—बिहुँ खण्डमा लोकमार्गमै सवारी साधनलाई समस्या छ,’उनले भने,‘अलिअलि बनाउन खोजे जस्तो त देखिन्छ, तर ठूलठूला खाल्डो भएर समस्या भएको ठाउँमा बनाईएको छैन ।’ गाउँतिरका धेरै जसो सडकहरुले अहिले जोखिमपूर्ण अवस्थामा रहेको उनले बताए । ‘गाउँ गाउँ जाने बाटाहरु त भेलले चिरिएको छ, पहिरोले भत्काएको छ,’उनले भने,‘अहिलेसम्म पनि मर्मत भएका छैनन् । खै कहिले बन्ने हुन् ?’
दशैंमा पनि सडक सुचारु गर्ने सुरसार नदेखेपछि बडिगाड—३ सिसाखानीका स्थानीय नागरिक आफै श्रमदानमा जुट्न थालेका छन् ।
दशैं अगाडि गाडी आउँछ भने सबैले श्रम गरौं भनेर श्रमदानमा जुटेको सीता भुजेलले बताईन् । ‘हाम्रो भलामीको ज्योतिखोलामा सबै खोलाले भत्काएर गाडी नै आएको छैन, असारबाटै गाडी बन्द भएको हो,’उनले भनिन्,‘वडा सदस्य भाई गोपिरामले दशैं अगाडि गाडी ल्याउनका लागि श्रमदान गर्नुपर्छ भन्नुभयो । हामी साविकको ५,६ र ४ नम्बर वडाका सबैले श्रमदान गरेका छौं । दशैंमा गाडी आउँछ भने काम गर्नुपर्छ भन्ने सबैलाई छ ।’
अघिल्लो वर्ष पनि त्यही ठाउँमा ठूलो भड्खालो पारेर गाडी सञ्चालन नहुँदा नागरिकले दुःख पाएको उनले सुनाईन् । ‘अलिल्लो वर्ष पनि असारमै बगाईदिएको थियो, सरकारलाई कुर्दा दशैंमा गाडी नै आएन,’उनले भनिन्,‘स्काभेटर पनि आउन नसक्ने बाटो भएपछि हामीले श्रमदान गरेका छौं ।’ बडिगाड—३ सिसाखानीको किटेनीमा पनि स्थानीले श्रमदान थालेको स्थानीय समाजसेवी लोकेन्द्र काउचाले बताए ।
‘हामीले बुधबारबाट श्रमदानको आह्वान गरेका छौं, रुसुन्दे खोलाले बाटो बगाएपछि किटेनीमा पनि गाडी आएको छैन, माथि शिरमथानमा पनि बगाएको छ, सिरुबारीमा पनि भत्काएको छ । कतिसम्म सकिन्छ । दशैंसम्म गाडी चलाउने भनेर लागेका छौं ।’ वडा कार्यालय र पालिकाले समयमा ध्यान नदिंदा समस्या भैरहेको उनले बताए । ‘सडक मर्मतका लागि बजेट छ भन्ने सुनेको, खै अहिलेसम्म कुनै सुरसार छैन, अब आफै भए पनि कस्सिनुप¥यो भनेर लागेका छौं,’उनले भने ।
सडक सरसफाई गर्ने निकाय भने एकले अर्कोलाई दोष दिएर उम्किने दाउमा छन् । बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले वडाले सडक सरसफाईको बजेट राखेकाले पालिकाले चासो नदिएको बताईन् । ‘गतवर्ष हामीले गाउँपालिकाबाट एकमुष्ट बजेट राखेर दशैंमा सडक सरसफाई गरेका थियौं, तयसमा वडाध्यक्षहरुको विरोध आयो,’उनले भनिन्,‘अहिले सबै वडाले मर्मत खर्च छुट्याएका छन् । रातो किताबमै आएको छ । वडाले गर्ने काम वडाध्यक्षहरुले परिचालन गर्नुपर्छ ।’
वडाले गरेको कामममा अपुग भएमा वा भत्किएमा पुनः गाउँपालिकाले काम गर्ने उनको भनाई छ । ‘वडाको बजेट हुँदा हुँदै गाउँपालिका डोजर पठाउने वा काम गराउने भन्ने हुँदैन, दोहोरोपन हुन्छ,’उनले भनिन्,‘वडाले गरेको कामपछि पनि समस्या आयो भने बल्ला गाउँपालिकाले हेर्छ । अहिले पहिलो चरणको काम वडाले गर्नुपर्छ ।’ बडिगाड—३ का वडाध्यक्ष खडक पुन भने गाउँपालिकाले कार्यादेश पनि नदिएकाले बजेटबाट पनि काम गर्न समस्या भएको बताउँछन् ।
‘गाउँपालिकामा आउँदा कोही भेटिनन्, कार्यपालिका बैठक छैन, काम गर्ने कार्यादेश छैन, त्यत्तिकै रातो किताबमा बजेट छ भनेर हामीले के गर्ने हो र,’ उनले भने,‘न हामीले बजेट निकाल्न मिल्छ न हामीले नापजाँच गर्न मिल्छ ।’ बैठक बसेर समस्याको पहिचान गरेर समाधानका लागि गाउँपालिकाले प्रयास नगरेको गुनासो गरे । सम्झौता गरेर काम गर्नका लागि पनि गाउँपालिकामा कर्मचारी नभएको उनले बताए ।
यता काठेखोला गाउँपालिका प्रवक्त टिका संगम विकले वडाध्यक्षलाई जिम्मा लगाएको बताए । ‘डुँडियाघाट सडक विस्तारका लागि काम भएकाले रोकिएको थियो, दशैं आयो अब खोल्नुपर्छ भनेर भनेका छौं,’उनले भने,‘अन्यत्र वडाहरुमा वडाध्यक्षज्यूहरुलाई नै काम अगाडि बढाउन भनेका छौं । जेसिभी डोजर पुग्न बाँकी भएर होला ।’ लोकमार्गको विषयमा आफुहरुले पनि कुरा उठाईरहेको उनले सुनाए ।
टिप्पणीहरू (१)
https://shorturl.fm/gdgZ6