Monday, March 16, 2026
सोमवार, चैत्र २, २०८२

E-paper

जन्मभूमिको माया

अन्तर्राष्ट्रिय बागलुङ समाजले भलिबल प्रतियोगिता गर्दै

बुधबार, भदौ १८, २०८२

संगम घर्तीमगर

अन्तर्राष्ट्रिय बागलुङ समाजले बागलुङ जिल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगता आयोजना गर्ने भएको छ । बागलुङ जिल्लाका १० वटै पालिकाबाट टिम सहभागी गराए आगामी असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म प्रतियोगिता गर्न लागेको अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष गंगा शर्माले बताए । युवाहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गर्ने खेलकुदलाई पनि आयआर्जनको क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको उनले बताए ।

‘युवापुस्तालाई खेलकुदको क्षेत्रमा अग्रसर बनाउने र खेलकुदको विकास गरेर यसलाई पनि आम्दानीको माध्यम बनाउने उद्देश्यले हामीले यो प्रतियोगिता आयोजना गरेका हौं,’उनले भने,‘यस पटक पहिलो चोटी भएकाले बागलुङ १० वटै पालिकालाई समावेश गरेर पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेका छौं ।’ बागलुङबाट विश्वकमा विभिन्न मुलुकमा पुगेका बागलुङेहरुको साझा संस्था भएको यस मार्फत बागलुङको विकास अन्य विभिन्न क्षेत्रमा हातेमालो गर्ने प्रयास गरिएको उनले बताए ।

‘बागलुङ जन्मघर भई विश्वभर छरिएका बागलुङेहरुको साझा संस्था अन्तर्राष्ट्रिय बागलुङ समाज हो,’उनले भने,‘हामी बाध्यताले परदेशमा पुगेका छौं । अब यहाँका युवालाई यही देशमा राख्नका लागि हामी जे जस्तो गर्नसक्छौं । त्यसका लागि हातेमालो अवश्य गर्छौं । अहिले भलिबल एउटा सानो प्रयास मात्रै हो ।’ जन्मभूमि बागलुङका लागि हातेमालो भन्ने नाराका साथ प्रतियोगिताको आयोजना गरिएको छ । ‘बागलुङका खेलाडी उत्पादन र प्रवद्र्धनमा टेवा पुगोस् भनेर हामीले जिल्ला भित्रका पालिकालाई मात्रै सहभागी बनाउने निर्णय गरेका छौं,’ शर्माले भने ।

बागलुङका १० पालिका सहभागी हुने पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद २ लाख मेडल ट्रफी र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद एक लाख मेडल ट्रफी र प्रमाणपत्र, तृतीय पुरस्कार नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र र सान्त्वना पुरस्कार नगद २५ हजार राखिएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजना हुने उक्त प्रतियोगिताको व्यवस्थापन भने जिल्ला भलिबल संघ बागलुङले गर्नेछ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट पुरस्कार पनि राखिएको खेल संयोजक राजु थापाले जानकारी दिए ।

विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडी खेलाडी नगद १० हजार, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सेटर, उत्कृष्ट मिडिल ब्लकर, उत्कृष्ट डिफेन्स र उदयमान खेलाडीलाई पनि नगद पाँच पाँच हजारका दरले पुरस्कारको व्यवस्था गरिएको छ । बागलुङका १० वटै पालिकाबाट टिम सहभागी बनाउने र सहभागी सबै टिमलाई खान बस्नको व्यवस्थापनका लागि सुरुमै २५ हजारका दरले आर्थिक सहयोग गर्नेगरी व्यवस्थापन गरिएको जिल्ला भलिबल संघ बागलुङका उपाध्यक्ष किशोर थापाले जानकारी दिए ।

‘सहभागी टिमबाट दर्ता शुल्क लिदैनौं, उल्टो सहभागीता बापत २५ हजारका दरले खाने बस्ने खर्च दिने निर्णय भएको छ,’उनले भने,‘एउटा पालिकाको एउटा मात्रै टिम सहभागी गराएर लिग सिस्टमबाट खेल खेलाईनेछ ।’ १० पालिकालाई दुई समुह विभाजन गरेर लिग खेलाउने र उत्कृष्ट चार टिमबीच सेमिफाईनल खेल हुने उनले बताए । बडादशैं पछाडि र भाईटिका अगाडी सक्नेगरी प्रतियोगिताको आयोजना मिलाईएको छ ।

‘दशैंको बेलामा विभिन्न ठाउँहरुमा हुने प्रतियोगिताहरु सकिएपछि हुनेगरी खेल तालिका मिलाईएको छ,’उनले भने । उक्त प्रतियोगितामा सहभागीमध्येबाट एउटा जिल्लास्तरीय राम्रो निर्माण गर्ने थापाले बताए । प्रतियोगितालाई सकेसम्म बागलुङ बजार भित्रै सम्पन्न गर्नेगरी ठाउँको खोजी भैरहेको उनले जानकारी दिए ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर