स्केचअप प्रयोग गरी आधारभूत तहमा डिजाइन शिक्षण मोड्युल तयार गर्नु आजको प्रविधिमैत्री शिक्षण प्रणालीको एक महत्वपूर्ण पक्ष हो । वर्तमान समयमा निर्माण, वास्तुकला, आन्तरिक सजावट, सहर योजना तथा इन्जिनियरिङ्गजस्ता क्षेत्रहरूमा त्रिआयामिक (३ डि) डिजाइनको प्रयोग तीव्र रूपमा बढिरहेको छ । यस्तो अवस्थामा विद्यार्थीहरूलाई प्रारम्भिक चरणदेखि नै डिजिटल डिजाइनका आधारभूत सीपहरू प्रदान गर्नु आवश्यक भएको छ । स्केचअप एक सरल, प्रयोगकर्ता–मैत्री तथा सिक्न सजिलो थ्री–डी मोडलिङ सफ्टवेयर भएकाले आधारभूत तहका विद्यार्थीहरूलाई डिजाइनको अवधारणा सिकाउन अत्यन्त उपयोगी माध्यम बन्न सक्छ ।

यस शिक्षण मोड्युलको मुख्य उद्देश्य विद्यार्थीहरूलाई त्रिआयामिक डिजाइनको आधारभूत ज्ञान प्रदान गर्नु, कम्प्युटरको माध्यमबाट वस्तुहरूको मोडल निर्माण गर्न सक्षम बनाउनु तथा उनीहरूको सिर्जनात्मक क्षमता विकास गर्नु हो । स्केचअपको प्रयोगबाट विद्यार्थीहरूले वास्तविक जीवनमा देखिने भवन, कोठा, फर्निचर, पार्क, पुल तथा अन्य संरचनाहरूको डिजिटल प्रतिरूप तयार गर्न सिक्छन् । यसले उनीहरूको कल्पनाशक्ति, समस्या समाधान क्षमता तथा दृश्यात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पु¥याउँछ ।
मोड्युल सुरु गर्दा विद्यार्थीहरूलाई डिजाइनको आधारभूत अवधारणाबारे परिचय गराइन्छ । डिजाइन भनेको कुनै वस्तु, संरचना वा स्थानको योजना, स्वरूप तथा कार्यक्षमताको संयोजन हो भन्ने कुरा बुझाइन्छ । दैनिक जीवनमा प्रयोग हुने विभिन्न वस्तुहरूको डिजाइन कसरी तयार गरिन्छ भन्ने विषयमा उदाहरणसहित छलफल गरिन्छ । विद्यार्थीहरूलाई आफ्नो घर, विद्यालय, खेलमैदान वा मनपर्ने भवनको स्वरूपबारे विचार गर्न लगाइन्छ । यस प्रक्रियाले उनीहरूमा डिजाइनप्रतिको रुचि विकास गर्न मद्दत गर्दछ ।

त्यसपछि स्केचअप सफ्टवेयरको परिचय गराइन्छ। सफ्टवेयरको उद्देश्य, प्रयोगका क्षेत्र तथा यसको महत्वबारे जानकारी दिइन्छ । विद्यार्थीहरूलाई स्केचअपको कार्यक्षेत्र (वर्कस्पेस), मेनु बार, टुलबार, ड्रइङ क्षेत्र तथा विभिन्न उपकरणहरूको परिचय गराइन्छ । शिक्षकले प्रोजेक्टर वा कम्प्युटर स्क्रीनको माध्यमबाट प्रत्यक्ष प्रदर्शन गरी विद्यार्थीहरूलाई प्रत्येक उपकरणको प्रयोग देखाउँछन् । लाइन टुल, रेक्टेङ्गल टुल, सर्कल टुल, पुश–पुल टुल, इरेजर टुल, मुभ टुल तथा रोटेट टुलको आधारभूत प्रयोग सिकाइन्छ ।
शिक्षण प्रक्रिया अभ्यासमुखी बनाइन्छ । विद्यार्थीहरूलाई सुरुमा साधारण दुई आयामिक आकृतिहरू बनाउन लगाइन्छ । वर्ग, आयत, वृत्त, त्रिभुज तथा अन्य ज्यामितीय आकारहरू कोर्न लगाइन्छ । यसले उनीहरूलाई माउस नियन्त्रण, उपकरण चयन तथा सही मापन प्रयोग गर्ने सीप विकास गर्न मद्दत गर्दछ। त्यसपछि पुश–पुल उपकरणको प्रयोग गरी ती आकारहरूलाई त्रिआयामिक स्वरूपमा रूपान्तरण गर्न सिकाइन्छ। उदाहरणका लागि, आयतबाट बाकस, वृत्तबाट सिलिन्डर तथा वर्गबाट घन बनाउने अभ्यास गराइन्छ ।

विद्यार्थीहरूले आधारभूत आकारहरू निर्माण गर्न सकेपछि सरल संरचनाहरू तयार गर्ने गतिविधि सञ्चालन गरिन्छ । एउटा सानो घरको मोडल, टेबल, कुर्सी वा पुस्तक राख्ने दराज बनाउने कार्य दिइन्छ । शिक्षकले प्रत्येक चरण क्रमशः प्रदर्शन गरी विद्यार्थीहरूलाई अभ्यास गराउँछन् । यस अवधिमा मापन, अनुपात तथा वस्तुको आकार मिलाउने तरिकाबारे विशेष ध्यान दिइन्छ । विद्यार्थीहरूले आफ्नै सिर्जनात्मक विचार प्रयोग गरी संरचनामा झ्याल, ढोका, छाना तथा सजावटका अन्य तत्वहरू थप्न सक्छन् ।
डिजाइन शिक्षणमा दृश्य सामग्रीको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले शिक्षण प्रक्रियामा विभिन्न चित्र, भिडियो तथा तयार मोडलहरूको प्रयोग गरिन्छ । वास्तविक भवनहरूको तस्वीर देखाएर त्यसलाई स्केचअपमा कसरी तयार गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिन्छ । यसले विद्यार्थीहरूलाई वास्तविक संसार र डिजिटल डिजाइनबीचको सम्बन्ध बुझ्न सहयोग पु¥याउँछ । उनीहरूले अवलोकन गर्ने, विश्लेषण गर्ने तथा देखेको वस्तुलाई डिजिटल रूपमा पुनःनिर्माण गर्ने क्षमता विकास गर्छन् ।

सहकार्यात्मक सिकाइलाई पनि मोड्युलमा समावेश गरिन्छ । विद्यार्थीहरूलाई साना समूहमा विभाजन गरी एउटा साझा परियोजना तयार गर्न लगाइन्छ । उदाहरणका लागि, विद्यालय भवनको मोडल, सानो पार्क वा खेलमैदानको डिजाइन तयार गर्न सकिन्छ । समूहगत कार्यले सञ्चार सीप, नेतृत्व क्षमता तथा सहकार्यको भावना विकास गर्न मद्दत गर्दछ । विद्यार्थीहरूले आफ्ना विचार आदानप्रदान गर्दै उत्कृष्ट डिजाइन तयार गर्ने प्रयास गर्छन् ।
शिक्षकको भूमिका केवल जानकारी दिने मात्र नभई मार्गदर्शक, सहायक तथा प्रेरकको रूपमा रहन्छ । शिक्षकले प्रत्येक विद्यार्थीको सिकाइ गति अनुसार सहयोग प्रदान गर्नुपर्छ । कम्प्युटर प्रयोगमा कठिनाइ भएका विद्यार्थीहरूलाई अतिरिक्त समय र निर्देशन उपलब्ध गराउनुपर्छ । सफल डिजाइनका उदाहरणहरू प्रस्तुत गरी विद्यार्थीहरूलाई सिर्जनात्मक बन्न प्रेरित गर्नुपर्छ । त्रुटि सुधार गर्ने प्रक्रियालाई सिकाइको अवसरका रूपमा प्रस्तुत गर्नुपर्छ ताकि विद्यार्थीहरू आत्मविश्वासका साथ अभ्यास गर्न सकून् ।
मोड्युलमा परियोजनामूलक शिक्षणलाई विशेष महत्व दिइन्छ । विद्यार्थीहरूले सिकेका सीपहरूको प्रयोग गरी अन्तिम परियोजना तयार गर्छन्। परियोजनाको विषय विद्यार्थीहरूको रुचि अनुसार चयन गर्न सकिन्छ । कसैले आफ्नो घरको मोडल बनाउन सक्छ भने कसैले सपनाको विद्यालय, पुस्तकालय वा पार्कको डिजाइन तयार गर्न सक्छ । परियोजना निर्माणका क्रममा योजना बनाउने, मापन निर्धारण गर्ने, मोडल तयार गर्ने तथा अन्तिम प्रस्तुति गर्ने सम्पूर्ण प्रक्रिया विद्यार्थीहरूले आफैं सम्पन्न गर्छन् ।
मूल्याङ्कन प्रक्रियालाई पनि व्यवहारिक र समग्र बनाइन्छ । केवल अन्तिम नतिजा मात्र नभई सिकाइ प्रक्रियालाई समेत मूल्याङ्कन गरिन्छ । विद्यार्थीको सहभागिता, सिर्जनात्मकता, उपकरणको सही प्रयोग, मापनको शुद्धता तथा समस्या समाधान क्षमतालाई आधार मानेर मूल्याङ्कन गरिन्छ । शिक्षकले निरन्तर अवलोकन, प्रश्नोत्तर, कक्षा अभ्यास तथा परियोजना प्रस्तुतीकरणमार्फत मूल्याङ्कन गर्न सक्छन् । आत्ममूल्याङ्कन र सहपाठी मूल्याङ्कनलाई समेत समावेश गर्दा विद्यार्थीहरूले आफ्ना सबल तथा सुधार गर्नुपर्ने पक्षहरू पहिचान गर्न सक्छन् ।

स्केचअप प्रयोगबाट विद्यार्थीहरूले डिजिटल साक्षरता पनि विकास गर्छन् । उनीहरूले फाइल खोल्ने, सुरक्षित गर्ने, निर्यात गर्ने तथा विभिन्न फम्र्याटमा काम गर्ने सीप सिक्छन् । यस्ता सीपहरू भविष्यमा उच्च शिक्षा तथा व्यावसायिक क्षेत्रमा अत्यन्त उपयोगी हुन्छन् । आधुनिक प्रविधिको प्रयोगले विद्यार्थीहरूलाई चौथो औद्योगिक क्रान्तिको आवश्यकतासँग परिचित गराउँछ र उनीहरूलाई भविष्यका चुनौतीहरूको सामना गर्न तयार बनाउँछ ।
आधारभूत तहमा स्केचअप शिक्षण गर्दा जटिल प्राविधिक विषयभन्दा सरल र प्रयोगमुखी गतिविधिहरूमा केन्द्रित हुनुपर्छ । विद्यार्थीहरूको उमेर, रुचि तथा सिकाइ क्षमताअनुसार गतिविधिहरू छनोट गर्नुपर्छ । रमाइलो, सहभागितामूलक तथा सिर्जनात्मक वातावरणमा सिकाइ सञ्चालन गर्दा विद्यार्थीहरूले डिजाइनलाई कठिन विषयका रूपमा नभई रोचक र उपयोगी सीपका रूपमा ग्रहण गर्छन् ।
यस प्रकारको शिक्षण मोड्युलले विद्यार्थीहरूमा अवलोकन, विश्लेषण, कल्पना, सिर्जना तथा प्रस्तुतीकरणजस्ता महत्वपूर्ण सीपहरूको विकास गर्दछ । उनीहरूले वास्तविक वस्तुहरूको संरचना बुझ्ने, मापन गर्ने तथा डिजिटल रूपमा पुनःनिर्माण गर्ने क्षमता प्राप्त गर्छन् । साथै, प्रविधिप्रतिको सकारात्मक दृष्टिकोण विकास हुन्छ र भविष्यमा वास्तुकला, इन्जिनियरिङ्ग, डिजाइन तथा अन्य प्राविधिक क्षेत्रहरूमा अध्ययन गर्न आधार तयार हुन्छ ।

स्केचअपमा आधारित आधारभूत डिजाइन शिक्षण मोड्युल आधुनिक शिक्षाको आवश्यकतासँग मेल खाने प्रभावकारी कार्यक्रम हो । यसले विद्यार्थीहरूलाई केवल सफ्टवेयर चलाउन मात्र सिकाउँदैन, बरु उनीहरूको सिर्जनात्मक सोच, समस्या समाधान क्षमता, डिजिटल दक्षता तथा व्यावहारिक ज्ञानको विकास गर्दछ । नियमित अभ्यास, उचित निर्देशन तथा परियोजनामूलक गतिविधिमार्फत विद्यार्थीहरूले डिजाइन शिक्षालाई रोचक, अर्थपूर्ण र जीवनोपयोगी अनुभवका रूपमा ग्रहण गर्न सक्छन् । यही कारणले आधारभूत तहदेखि नै स्केचअपको प्रयोग गरी डिजाइन शिक्षणलाई विद्यालय शिक्षामा समावेश गर्नु समयसापेक्ष र आवश्यक कदम मानिन्छ ।
एल.बि. रेड
टिप्पणी गर्नुहोस्