सुनिल गौतम
के पैसा मात्र पठाएर अभिभावकीय दायित्व पूरा हुन्छ ?
आजको नेपाली समाजमा एउटा यथार्थ छ— हजारौं बुवा–आमाहरू आफ्ना छोराछोरीको राम्रो भविष्यका लागि विदेशमा पसिना बगाइरहेका छन्। उनीहरूको त्याग र संघर्ष अतुलनीय छ। आफ्नो सुख, आराम र परिवारसँग बिताउने अमूल्य समय त्यागेर उनीहरू सन्तानको भविष्य निर्माणमा जुटेका छन्। तर यही सन्दर्भमा एउटा गम्भीर प्रश्न उठ्छ—
के पैसा मात्र पठाएर अभिभावकीय दायित्व पूरा गर्न सकिन्छ ?
उत्तर स्पष्ट छ— सकिँदैन।
किनभने अभिभावक हुनु भनेको केवल कमाउने व्यक्ति हुनु होइन, सन्तानको जीवनको पहिलो शिक्षक, मार्गदर्शक, संरक्षक र भावनात्मक आधार बन्नु पनि हो। आज धेरै बालबालिकाहरू आफ्ना बुवा वा आमा, कतिपय अवस्थामा दुवै अभिभावकबाट टाढा छन्। आर्थिक रूपमा उनीहरूलाई कुनै कमी नहुन सक्छ। महँगो मोबाइल छ, इन्टरनेट छ, आवश्यक खर्चका लागि पैसा छ। तर एउटा कुरा भने अभाव हुन्छ— अभिभावकको समय, स्नेह, निगरानी र भावनात्मक साथ । बालबालिका यस्तो उमेरमा हुन्छन् जहाँ उनीहरूलाई सही र गलत छुट्याउन मार्गदर्शन आवश्यक हुन्छ । उनीहरू जिज्ञासु हुन्छन्, नयाँ कुरा सिक्न चाहन्छन्, साथीहरूको प्रभावमा छिटो पर्छन् र भावनात्मक रूपमा संवेदनशील हुन्छन्। यही समयमा अभिभावकको उपस्थितिले उनीहरूलाई सही दिशा दिन्छ । तर जब त्यो उपस्थिति कमजोर हुन्छ, उनीहरू विभिन्न बाह्य प्रभावको शिकार बन्न सक्छन्।
विशेष गरी आजको डिजिटल युगमा मोबाइल फोन बालबालिकाको जीवनको अभिन्न हिस्सा बनेको छ । मोबाइल आफैंमा खराब होइन, तर निगरानीबिनाको प्रयोग खतरनाक हुन सक्छ । धेरै अभिभावकले आफ्ना छोराछोरी खुसी होऊन् भनेर महँगो मोबाइल किनिदिनुहुन्छ, तर त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने कुरा बुझ्न समय दिनुहुन्न। कल्पना गरौं, १० देखि १२ वर्ष उमेर समुहको एक बालकलाई विदेशमा रहेका बुवाले राम्रो मोबाइल किनिदिनुभयो । सुरुमा त्यो मोबाइल पढाइ र मनोरञ्जनका लागि प्रयोग भयो । बिस्तारै सामाजिक सञ्जाल, अनलाइन गेम, अपरिचित साथीभाइ र विभिन्न समूहहरूमा उसको पहुँच बढ्यो ।
कसैले भेप प्रयोग गरेको भिडियो देखायो, कसैले चुरोटलाई ‘स्टाइल’ को रूपमा प्रस्तुत ग¥यो । साथीहरूको दबाब र जिज्ञासाका कारण उसले पनि प्रयास ग¥यो। विस्तारै त्यो बानीमा परिणत भयो । घरमा पैसा अभाव थिएन, तर उसको व्यवहार परिवर्तन भइरहेको कुरा कसैले गम्भीर रूपमा बुझेन। अन्ततः ऊ कुलततर्फ फस्यो । यो केवल एउटा काल्पनिक उदाहरण मात्र होइन, हाम्रो समाजमा यस्ता धेरै घटनाहरू देखिन थालेका छन् । समस्या मोबाइलमा होइन, निगरानीको अभावमा छ । धेरै बालबालिकाहरू कुलतमा फस्नुको कारण केवल खराब साथी मात्र होइन, भावनात्मक खालीपन पनि हो । जब बच्चाले आफ्नो मनको कुरा सुनिदिने, समस्या बुझिदिने र सही सुझाव दिने अभिभावकको साथ पाउँदैन, उसले त्यो साथ अरू कतै खोज्न थाल्छ । कहिलेकाहीँ त्यो खोजी गलत व्यक्ति, गलत समूह वा गलत बानीसम्म पुग्न सक्छ । त्यसैले विदेशमा हुनुहुने अभिभावकहरूले आफू टाढा भए पनि जिम्मेवारीबाट टाढा हुनु हुँदैन । नियमित रूपमा भिडियो कल गर्नु, छोराछोरीसँग केवल पढाइको मात्र होइन, उनीहरूको भावना, साथीभाइ, रुचि र समस्याबारे पनि खुला संवाद गर्नु आवश्यक छ । उनीहरूलाई “कति नम्बर आयो?“ मात्र नभई “तिमी कस्तो महसुस गरिरहेका छौ?” भनेर सोध्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।
बच्चाको कोठामा कति महँगो मोबाइल छ भन्नेभन्दा पनि उसको मनमा कति आत्मविश्वास छ, उसले आफूलाई कति सुरक्षित महसुस गरेको छ र ऊ सही दिशामा अघि बढिरहेको छ कि छैन भन्ने कुरा अभिभावकको चासोको विषय हुनुपर्छ । आज समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन, मानसिक तनाव, अनलाइन लत, साइबर अपराध र किशोर अपराधका घटनाहरूले एउटा स्पष्ट सन्देश दिइरहेका छन । बालबालिकालाई पैसा मात्र होइन, अभिभावकको निरन्तर साथ र निगरानी चाहिन्छ। सन्तानको भविष्य केवल बैंक खातामा पठाएको रकमले सुरक्षित हुँदैन । त्यो भविष्य सुरक्षित हुन्छ अभिभावकको माया, विश्वास, संवाद, संस्कार र समयले।
त्यसैले हरेक अभिभावकले सम्झनुपर्छ—“पैसा कमाउनु जिम्मेवारी हो, तर सन्तानलाई सही बाटोमा हिँडाउनु कर्तव्य हो । पैसा पठाएर आवश्यकता पूरा गर्न सकिन्छ, तर समय र माया दिएर मात्र भविष्य निर्माण गर्न सकिन्छ ।“ आजको सानो चासोले भोलिको ठूलो दुर्घटना रोक्न सक्छ । आजको संवादले भोलिको पश्चाताप बचाउन सक्छ । र आजको निगरानीले भोलिको सफल, जिम्मेवार र संस्कारी नागरिक निर्माण गर्न सक्छ। बालबालिकालाई सबैभन्दा धेरै आवश्यक कुरा महँगो मोबाइल होइन, अभिभावकको माया, समय, साथ र सही मार्गदर्शन हो।
टिप्पणी गर्नुहोस्