Friday, January 16, 2026
शुक्रबार, माघ २, २०८२

E-paper

चाडवाडको झल्को

मानवसेवा आश्रममा आश्रितहरुको चाडबाडमा आँखा छल्किन्छ

सोमवार, अशोज १३, २०८२

मानवसेवा आश्रममा आश्रित १०४ वर्षीया मनिरुपा लामिछाने । 

संगम घर्तीमगर

जिल्लाको जैमिनी नगरपालिका—१ कुस्मीसेराकी डम्मरी शर्मा ८ वर्षदेखि मानवसेवा आश्रममा आश्रित छिन् । श्रीमानले दोस्रो विवाह गरेपछि मुद्दा मामिला गरेर एक्लै भएकी उनको आश्रयस्थल मानवसेवा आश्रम भएको हो । अरुबेला आश्रमको बसाइँ गज्जबै छ । चाडबाडमा भने आफन्तको झल्को आउँछ । आश्रमको गेटतिर हेरिरहन्छिन् । कोही आफन्त आउँछन् कि भनेर आशा राख्छिन् । कोही नदेखेपछि निरास हुन्छिन् । उनी भन्छिन्,‘माइतीबाट भतिजहरु बेला बेला भेट्न आउँछन् र पकाएर खुवाउन भ्याउँदैनन् भनेर मलाई लैजान्नन् ।’

बागलुङ बजारमा प्लाष्टिक बोतल संकलन गर्दै वेसाहारा जीवन बिताउँदै आएकी शर्मालाई आश्रमले उद्धार गरेर राखेको हो । २०४८ सालमा श्रीमानले दोस्रो विवाह गरेपछि उनले कानुनी लडाइ लडेर जग्गाजमिन पाएकी थिईन् । ‘बजारमा बोतल टिपेर बेच्दै हिँड्थे, त्यतिबेला पानीमा भिजेर कागजपत्र पनि छैन, जग्गा त मलाई दिएका थिए, अहिले कागज छैन,’उनले भनिन् । उनको एक छोरा अहिले पनि भारतमै बस्छन् । बेला बेलामा भिडीयो कलमा कुरा हुन्छ ।

‘छोरासंग बेला बेलामा कुरा हुन्छ दिदी फोन लगाईदिनुहुन्छ, आश्रमकी सञ्चालिका विपना तामाङतर्फ इशारा गर्दै उनले भनिन्,‘मलाई लिन आईज भनेको छुट्टी मिल्दैन भन्छ ।’ केही समय अघि राष्ट्रिय परिचयपत्र बनाउन र सासुलाई भेट्न गाउँ गएकी शर्मा कोही नभेटिँदा निराश हुँदै फर्केकी थिईन । ‘राष्ट्रिय परिचयपत्र बनाउन भनेर गएको थिएँ, सासु र देवर जेठाजुहरुलाई भेट्न गएको थिएँ, सबै नेपालगञ्ज चितवनतिर गएछन्,’उनले सुनाईन् । बागलुङ नगरपालिका—१४ की दुरपति पौडलको पनि अहिले आश्रयस्थल मानवसेवा आश्रम बनेको छ ।

श्रीमान र छोराको मृत्युपछि बुहारीको हेला सहन नसकेर उनी घर छोडेर हिँडेकी थिईन् । भन्छिन्,‘घरमा कसैलाई सम्झनै मन लाउन्न, वरपर छिमेकीको याद आउँछ, गाउँलेको याद आउँछ । गाउँले र छिमेकीले त मलाई माया गर्थे ।’ उनले यसरी आफ्ना विगतहरु कोट्याउँदै गर्दा गहभरी आशु थियो । उनले घरका कसैले सम्झन मन नलाग्ने बताए पनि नातीको कुरा गर्दा गला अवरुद्ध भयो । चाडवाड र आफन्तको कुरा गर्दा उनी भक्कानिईन् । आश्रममा पौडेललाई भेट्न बेलाबेला छोरीहरु र तिनी पट्टीका नातीहरु भेट्न आएपनि घरपट्टीबाट कोहि आउँदैनन् ।

पौडेललाई छोरीहरुले सँगै जाम नभनेको र उनलाई पनि म जान्छु भन्न मन नभएको सुनाईन् । ‘घरमा छोरा छैनन् बुहारीले वास्तै गर्दैनन्, छोरीहरु भेट्न आउँछन् उनीहरुले पनि जाम भन्न सक्दैनन् मैले पनि जान्छु भनेको छैन,’ उनले भनिन् । चाडपर्वमा भने दिवंगत श्रीमान, छोरा र गाउँघरको याद झल्झली आउने उनको भनाई छ । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका ८३ वर्षीय दानबहादुर शाही ठकुरी दुई वर्षदेखि आश्रममा बस्दै आएका छन् । भारतीय सेनाको पेन्सन थियो । गाउँमा राम्रै मानसम्मान र इज्जत पनि थियो ।

तर चलचित्रको पर्दामा जस्तै उनको सबै मानसम्मान र भारतीय सेनाको पेन्सन पनि खोसियो । एक जना म्याग्दीतिरको मान्छेको भर पर्दा उनले सर्वस्व गुमाउन पुगे । ‘म्याग्दीको मान्छेले अरुलाई विदेश पठाउने काम गर्दो रहेछ, पैसा ऋण लिएको साक्षी हो भनेर मलाई साक्षी राख्यो, उ भाग्यो पछि मलाई समातियो, त्यही कारणले मेरो पेन्सन पनि रोकिएको छ, अहिले पनि मुद्दा लड्दैछु,’ उनले भने । उनको श्रीमतीको मृत्यु भैसक्यो । एउटा छोराको धुमधामका साथ विवाह गरिदिएका थिए । तर छोराले अर्कै केटी टिपेर हिँडे । अहिले कहाँ छन् भन्ने कुनै थाहा टुंगो छैन । उमेर बढ्दै जाँदा पाखुरी चल्न छोड्यो ।

पकाएर खाना खुवाउने मान्छे कोही नभएपछि जग्गा जमिन बहिनीलाई जिम्मा लगाएर उनी आश्रममा आश्रित हुन आएका हुन् । अहिले उनलाई आश्रममा ‘लाहुरे बा’ को नामले चिन्छन् । ‘छोराले अर्को केटी लिएर हिँड्यो, बुहारी नाती टिपेर हिँडी, म एक्लै भएँ घरमा । आफ्नो हात पाखुरा चल्न छोडेपछि घरबारी बैनीलाई दिएर यहाँ आएर बसेको छु,’ उनले भने । चाडपर्वमा घरको सम्झनाले सताउने तर आफन्तले नसम्झिँदा आफूलाई पनि सम्झन मन नलाग्ने उनले बताए । पल्टनमा हुँदा तीन वटा युद्ध लड्न दुस्मनको गोलीले नढलेका उनलाई कपटीको विश्वासले ढलायो । चीनसँग १९६२ र पाकिस्तानसँग १९६७ तथा १९७१ मा युद्ध लड्दा नढलेका उनी साथीको विश्वासमा पर्दा विश्वासघातले ढल्न पुगे ।

आश्रममा केही बालबालिका र अधिकांस वृद्धवृद्धा गरी ६६ जना आश्रित रहेका छन् । चाडबाड र आफन्तको सम्झनाले उनीहरुको गह भरिन्छ । चाडबाडको झल्को मेटाउने आश्रममै चाडबाड मनाउने गरिएको मानवसेवा आश्रम बागलुङकी सञ्चालिक विपना तामाङ बताउँछिन् । ‘यहाँ सबै प्रकारका धर्म मान्नेहरु हुनुहुन्छ, हामीले सबै प्रकारका चाडबाडहरु मनाउँछौं,’उनले भने,‘दशैं तिहार मात्रै होईन अरु धर्म र चाडबाड पनि यहाँ मनाईन्छ ।’ आश्रमले १०४ वर्षीया मनिरुपा लामिछानेको हातबाट टिका लगाउने तयारी गरेको छ ।

हाल आश्रममा ३० महिला, २८ पुरुष र ८ बालबालिका रहेका छन् । तामाङका अनुसार मानव सेवा आश्रमले सडकबाट उद्धार गरिएका आमा–बुबा र बालबालिकालाई परिवारसँग मिलाउने प्रयास गर्दै आएको बताईन् । अहिले आश्रमका लागि बानपा—१ निरयघाटमा भवन निर्माणको काम भैरहेको छ । आश्रमको बाँकी काम पूरा गर्नका लागि महायज्ञ लगाउने तयारी गरिएको छ । करिब तीन करोड रुपैयाँ भएमा भवन निर्माण सम्पन्न हुनेछ ।

 

टिप्पणीहरू (२)

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

  1. McKenzie4202 मङ्लबार, मंसिर १६, २०८२ मा ०२:४६ बेलुका बजे
  2. Emmanuel63 बिहिबार, मंसिर ४, २०८२ मा १०:०१ बिहान बजे

U

सम्बन्धित खबर