कक्षाकोठामा विद्यार्थीहरूको न्यूरोविश्लेषण, विशेष गरी असामान्य अवस्थाहरूमा सिकाई व्यवहार देखाउने विद्यार्थीहरूको सन्दर्भमा, मस्तिष्कले आन्तरिक र बाह्य अवरोधहरूमा कसरी प्रतिक्रिया जनाउँछ भन्ने विषयमा गहिरो बुझाई आवश्यक हुन्छ । सामान्य सिकाई वातावरणमा विद्यार्थीहरूले जानकारी ग्रहण गर्न, प्रशोधन गर्न र प्रयोग गर्न संज्ञानात्मक, भावनात्मक र न्यूरोलोजिकल प्रक्रियाहरूको समन्वित अन्तरक्रियामा निर्भर हुन्छन् । तर जब कुनै विद्यार्थी तनाव, आघात, न्यूरोलोजिकल विकार वा वातावरणीय अस्थिरता जस्ता असामान्य अवस्थाहरूमा काम गरिरहेको हुन्छ, यी प्रक्रियाहरूमा ठूलो परिवर्तन आउन सक्छ । यस्तो अवस्थामा मस्तिष्क सन्तुलित सिकाई प्रणालीको रूपमा काम गर्नुको सट्टा बाँच्ने प्रवृत्ति र संज्ञानात्मक विकासबीचको द्वन्द्वस्थल बन्न पुग्छ ।
सुरुआतमा, सिकाई मूलतः न्यूरल प्लास्टिसिटी (न्यूरल प्लास्टिसिटी भनेको मस्तिष्कको त्यो क्षमता हो जसले अनुभव, सिकाई, अभ्यास वा चोटपटकपछि नयाँ स्नायु सम्बन्धहरू निर्माण गरेर आफूलाई परिवर्तन र अनुकूलन गर्न सक्छ । यसले स्मरण शक्ति, सीप विकास र पुनःसुधार प्रक्रियालाई सहयोग गर्छ र जीवनभर निरन्तर सिकाई सम्भव बनाउँछ ।) मा आधारित हुन्छ, जसले मस्तिष्कले नयाँ स्नायु सम्बन्धहरू निर्माण गरेर आफूलाई पुनःसंरचना गर्ने क्षमतालाई जनाउँछ । सामान्य अवस्थामा यही प्लास्टिसिटीले स्मरण शक्ति, ध्यान, तर्क र समस्या समाधानलाई सहयोग गर्छ । तर असामान्य अवस्थाहरूमा, जस्तै दीर्घकालीन तनाव वा चिन्ता, मस्तिष्कले सिकाईभन्दा बाँच्नेलाई प्राथमिकता दिन्छ । डर र भावनात्मक प्रतिक्रियाहरू प्रशोधन गर्ने अमिग्डाला (मस्तिष्कको एउटा सानो बदाम–जस्तो संरचना हो, जुन मुख्यतः भावना—विशेष गरी डर, रिस र चिन्ता—को प्रशोधनसँग सम्बन्धित हुन्छ । यसले खतरा पहिचान गर्ने, तुरुन्त प्रतिक्रिया (लड्ने, भाग्ने वा स्थिर हुने) दिने र भावनात्मक स्मरणहरू निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ । ) अत्यधिक सक्रिय हुन्छ ।
यस्तो उच्च सतर्कताले प्रिफ्रन्टल कोर्टेक्स (मस्तिष्कको अगाडिको भाग हो, जसले सोच्ने, निर्णय गर्ने, योजना बनाउने, ध्यान नियन्त्रण गर्ने र व्यवहार व्यवस्थापन गर्ने काम गर्छ । यसले उच्चस्तरीय संज्ञानात्मक क्षमता विकासमा मद्दत गर्छ र भावनात्मक प्रतिक्रियालाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेल्छ । ) को कार्यलाई दबाउँछ, जुन निर्णय क्षमता, ध्यान नियन्त्रण र उच्चस्तरीय सोचसँग सम्बन्धित क्षेत्र हो । परिणामस्वरूप विद्यार्थीहरूले ध्यान केन्द्रित गर्न, निर्देशनहरू पालना गर्न वा कक्षाका गतिविधिहरूमा अर्थपूर्ण रूपमा संलग्न हुन कठिनाई अनुभव गर्न सक्छन् ।
उदाहरणका लागि, द्वन्द्वग्रस्त पारिवारिक वातावरणबाट आएको विद्यार्थीलाई विचार गरौँ । यस्तो विद्यार्थी कक्षामा प्रवेश गर्दा नै उच्च भावनात्मक तनावमा हुन सक्छ । सामान्य जस्तो देखिने कुनै सानो उत्तेजना—जस्तै ठूलो आवाज वा आकस्मिक चाल—ले पनि अमिग्डालालाई सक्रिय पार्न सक्छ, जसले लड्ने, भाग्ने वा स्थिर हुने प्रतिक्रिया उत्पन्न गर्छ । त्यस्ता क्षणहरूमा मस्तिष्कले सिकाइबाट ध्यान हटाएर तत्काल बाँच्ने प्रक्रियामा स्रोतहरू केन्द्रित गर्छ । विद्यार्थी ध्यान नदिएको, चञ्चल वा अव्यवस्थित देखिन सक्छ, तर यी व्यवहारहरू जानाजानी गरिएको अवज्ञा होइनन् बरु असामान्य वातावरणीय अवस्थाले सिर्जना गरेका न्यूरोलोजिकल प्रतिक्रियाहरू हुन् ।
असामान्य सिकाई अवस्थाहरूमा मस्तिष्क विश्लेषणको अर्को महत्वपूर्ण पक्ष कार्यशील स्मरण शक्ति हो । कार्यशील स्मरण शक्तिले विद्यार्थीलाई छोटो समयका लागि जानकारी समातेर त्यसलाई प्रयोग गर्न सक्षम बनाउँछ, जुन गणितीय समस्या समाधान वा जटिल निर्देशन बुझ्न आवश्यक हुन्छ । असामान्य अवस्थाबाट गुज्रिरहेका विद्यार्थीहरूमा यो क्षमता कमजोर हुन सक्छ । कोर्टिसोल (शरीरमा तनाव हुँदा उत्पादन हुने एक महत्वपूर्ण हर्मोन हो, जुन एड्रिनल ग्रन्थिबाट स्राव हुन्छ । यसले शरीरलाई आपतकालीन अवस्थासँग जुध्न ऊर्जा उपलब्ध गराउँछ । तर लामो समयसम्म यसको उच्च मात्रा रहँदा स्मरण शक्ति, ध्यान र स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । )जस्ता तनाव हर्मोनहरूले हिप्पोक्याम्पसमा असर पार्छन्, जुन स्मरण निर्माण र पुनःस्मरणसँग सम्बन्धित हुन्छ । लामो समयसम्म कोर्टिसोलको मात्रा उच्च रहँदा जानकारी राख्न, सिकेको कुरा सम्झन र नयाँ ज्ञान समाहित गर्न कठिनाइ हुन्छ ।
ध्यान अभाव तथा अति सक्रियता विकार (ए.डि.एच.डि) भएको विद्यार्थीको उदाहरण लिऔँ । यस्तो विद्यार्थीमा डोपामिन नियमन ( मस्तिष्कमा हुने एक महत्वपूर्ण न्यूरोट्रान्समिटरको उत्सर्जन प्रक्रिया हो । यसले प्रेरणा, आनन्द, ध्यान र पुरस्कार प्रणालीलाई नियन्त्रण गर्छ। सिकाई, सफलता वा सकारात्मक अनुभव हुँदा डोपामिन बढ्छ, जसले व्यवहार दोहोर्याउन प्रोत्साहित गर्छ र ध्यान तथा संलग्नता बढाउँछ । )मा फरक हुन्छ । कक्षामा यस्तो विद्यार्थीलाई शान्त बसेर ध्यान दिन, काम पूरा गर्न वा लामो समयसम्म ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ । परम्परागत शिक्षण विधि, जसमा निष्क्रिय रूपमा सुन्ने काम बढी हुन्छ, यस्तो विद्यार्थीका लागि प्रभावकारी नहुन सक्छ । यसको सट्टा अन्तरक्रियात्मक, चलायमान वा पुरस्कारमा आधारित सिकाई विधिले बढी राम्रो काम गर्न सक्छ । यसले व्यवहारको न्यूरोलोजिकल आधार बुझेर शिक्षकहरूले कसरी आफ्नो रणनीति परिवर्तन गर्न सक्छन् भन्ने देखाउँछ ।
त्यसैगरी, डिस्लेक्सिया ( एक सिकाईसम्बन्धी समस्या हो जसले व्यक्तिको पर्ढाइ, लेखाई र हिज्जे गर्ने क्षमतामा कठिनाइ ल्याउँछ। यो बुद्धिमत्तासँग सम्बन्धित हुँदैन । डिस्लेक्सियामा शब्द र अक्षर चिन्ने, मिलाउने र बुझ्ने कार्यमा समस्या देखिन्छ, तर उचित सहयोग र शिक्षणले यसलाई सुधार्न सकिन्छ । )जस्ता सिकाई कठिनाई भएका विद्यार्थीहरूमा भाषा प्रशोधनसँग सम्बन्धित मस्तिष्कका क्षेत्रहरू फरक तरिकाले काम गर्छन् । अनुसन्धानहरूले देखाउँछन् कि यस्ता विद्यार्थीहरूले पढ्दा वा शब्द चिन्ने क्रममा वैकल्पिक स्नायु मार्गहरूको प्रयोग गर्छन् । कक्षामा उनीहरू बिस्तारै पढ्न सक्छन्, धेरै गल्ती गर्न सक्छन् वा पढ्ने कामबाट टाढा भाग्न सक्छन् । यस्ता व्यवहारलाई प्रायः आलस्य वा प्रयासको कमीका रूपमा बुझिन्छ, तर वास्तवमा यी मस्तिष्कीय प्रक्रियामा आधारित फरक तरिकाहरू हुन् । उपयुक्त हस्तक्षेपहरू—जस्तै बहु–संवेदी शिक्षण र संरचित साक्षरता कार्यक्रम—मार्फत यस्ता विद्यार्थीहरूले प्रभावकारी रणनीति विकास गर्न सक्छन् ।
भावनात्मक नियन्त्रण पनि असामान्य अवस्थामा सिकाई व्यवहारलाई प्रभाव पार्ने अर्को महत्वपूर्ण पक्ष हो । मस्तिष्कको लिम्बिक प्रणाली, जसमा अमिग्डाला र हिप्पोक्याम्पस (मस्तिष्कको लिम्बिक प्रणालीभित्र रहेको एक महत्वपूर्ण संरचना हो । यसले नयाँ सम्झनाहरू बनाउन, सिकाईलाई सहयोग गर्न र स्थान तथा दिशाको सम्झना राख्न मद्दत गर्छ । हिप्पोक्याम्पसले छोटो समयको स्मरणलाई लामो समयको स्मरणमा रूपान्तरण गर्दछ, जसले दैनिक जीवनमा जानकारी सम्झन र प्रयोग गर्न महत्वपूर्ण भूमिका खेल्छ ।) समावेश हुन्छन्, भावनाहरू व्यवस्थापन गर्न प्रमुख भूमिका खेल्छ । जब विद्यार्थीहरूले आघात वा दीर्घकालीन तनाव अनुभव गर्छन्, उनीहरूको भावनात्मक नियन्त्रण क्षमता कमजोर हुन सक्छ । यसले बारम्बार मनोवृत्ति परिवर्तन, चिडचिडापन वा सामाजिक अन्तरक्रियाबाट टाढा हुने अवस्था निम्त्याउँछ । कक्षामा यस्ता विद्यार्थीहरूलाई साथी वा शिक्षकसँग सम्बन्ध बनाउन कठिन हुन्छ, जसले सिकाईमा सहभागिता र प्रेरणालाई घटाउँछ ।
उदाहरणका लागि, दुव्र्यवहार अनुभव गरेको विद्यार्थीले सामाजिक संकेतहरू प्रति अत्यधिक संवेदनशीलता विकास गर्न सक्छ । मस्तिष्कले सामान्य अन्तरक्रियालाई पनि खतरा ठान्न सक्छ, जसले टाढा रहने वा रक्षात्मक व्यवहार उत्पन्न गर्छ । यसले विद्यार्थीलाई झन् अलग्गै बनाउँदै लैजान्छ र सहकार्यात्मक सिकाईका अवसरहरू घटाउँछ । यस्ता अवस्थाहरू पहिचान गर्न सक्ने शिक्षकहरूले सुरक्षित र समावेशी वातावरण सिर्जना गरेर यस्तो प्रभावलाई कम गर्न सक्छन् ।
निद्राको कमी पनि अर्को असामान्य अवस्था हो जसले मस्तिष्क र सिकाई व्यवहारमा गहिरो प्रभाव पार्छ । पर्याप्त निद्रा स्मरण सुदृढीकरण, ध्यान र भावनात्मक नियन्त्रणका लागि आवश्यक हुन्छ । जब विद्यार्थीहरूले पर्याप्त निद्रा पाउँदैनन्, उनीहरूको संज्ञानात्मक क्षमता घट्छ । प्रिफ्रन्टल कोर्टेक्स कमजोर बन्छ, जसले निर्णय क्षमतामा कमी, ध्यानमा कमी र आवेगशीलता बढाउँछ । कक्षामा यस्ता विद्यार्थीहरू थाकेका, अनुत्साहित वा सजिलै विचलित हुने देखिन्छन् । दीर्घकालीन रूपमा यसले शैक्षिक प्रदर्शन र मानसिक स्वास्थ्यमा असर पार्छ ।
डिजिटल उपकरणहरूको अत्यधिक प्रयोग वा पारिवारिक जिम्मेवारीका कारण ढिलो सुत्ने विद्यार्थीलाई विचार गरौँ । निद्राको अभावले मस्तिष्कको प्राकृतिक लय बिगार्छ, जसले कक्षामा राम्रोसँग काम गर्न कठिन बनाउँछ । विद्यार्थी सिक्न इच्छुक भए पनि, न्यूरोलोजिकल सीमाहरूले जानकारी प्रशोधन र सम्झनामा बाधा पु¥याउँछन् । यसलाई समाधान गर्न विद्यार्थीको जीवनशैली र मस्तिष्कीय आवश्यकताहरूलाई ध्यानमा राखेर समग्र दृष्टिकोण अपनाउनुपर्छ ।
पोषण पनि मस्तिष्क र सिकाई व्यवहारमा महत्वपूर्ण भूमिका खेल्छ । मस्तिष्कलाई राम्रोसँग काम गर्न ग्लुकोज, ओमेगा–३ (एक प्रकारको आवश्यक बहुअसंतृप्त फ्याट्टी एसिड हो, जुन शरीरले आफैं उत्पादन गर्न सक्दैन । यो माछा, बदाम र केही वनस्पतिजन्य स्रोतबाट प्राप्त हुन्छ । ओमेगा–३ ले मुटु स्वस्थ राख्न, मस्तिष्कको कार्य सुधार्न र सूजन कम गर्न मद्दत गर्छ ।) फ्याटी एसिड र आवश्यक भिटामिनहरूको आवश्यकता हुन्छ । कुपोषण वा अनियमित भोजनको अवस्थामा विद्यार्थीहरूको संज्ञानात्मक क्षमता घट्छ । ऊर्जा कमी, कमजोर ध्यान र स्मरण शक्ति घट्नु सामान्य हुन्छ । उदाहरणका लागि, बिहान खाना नखाई विद्यालय आउने विद्यार्थीलाई बिहानको कक्षामा ध्यान दिन गाह्रो हुन्छ । यसले आधारभूत शारीरिक आवश्यकताहरू पूरा गर्नु कति महत्वपूर्ण छ भन्ने देखाउँछ ।
अटिजम स्पेक्ट्रम विकार (ए.एस.डी.– एक विकाससम्बन्धी अवस्था हो जसले व्यक्तिको सामाजिक व्यवहार, सञ्चार र व्यवहारमा फरकपन ल्याउँछ । यसलाई “स्पेक्ट्रम” भनिन्छ किनभने लक्षण र गम्भीरता व्यक्तिअनुसार फरक–फरक हुन्छ । केही व्यक्तिमा भाषा र सामाजिक अन्तरक्रियामा कठिनाई हुन्छ, तर उनीहरू विशेष रुचि र क्षमतामा उत्कृष्ट हुन सक्छन् ।) जस्ता न्यूरोलोजिकल अवस्थाहरू पनि विचार गर्नुपर्ने अर्को पक्ष हो । यस्ता विद्यार्थीहरूमा संवेदन प्रशोधन, सञ्चार र सामाजिक अन्तरक्रियामा फरक देखिन्छ । उनीहरूको मस्तिष्कले प्रकाश, आवाज वा स्पर्शजस्ता उत्तेजनाहरू फरक तरिकाले प्रशोधन गर्न सक्छ । सामान्य कक्षाको वातावरण, जुन प्रायः आवाजयुक्त र अनिश्चित हुन्छ, यस्ता विद्यार्थीका लागि चुनौतीपूर्ण हुन्छ । उनीहरूले कान छोप्ने, आँखा सम्पर्क टार्ने वा समूह गतिविधिमा असहज महसुस गर्ने व्यवहार देखाउन सक्छन् । यी व्यवहार अवज्ञा होइनन्, बरु संवेदनात्मक अधिकभारका प्रतिक्रियाहरू हुन् ।
यस्ता अवस्थाहरू बुझेर शिक्षकहरूले शान्त स्थान उपलब्ध गराउने, दृश्य सामग्री प्रयोग गर्ने वा अनावश्यक उत्तेजनाहरू घटाउने जस्ता उपाय अपनाउन सक्छन् । यसले विद्यार्थीलाई सहज वातावरणमा सिक्न मद्दत गर्छ र व्यवहारलाई अनुशासनको दृष्टिकोणबाट मात्र नहेरी न्यूरोलोजिकल दृष्टिले बुझ्न आवश्यक रहेको देखाउँछ । प्रेरणा पनि असामान्य अवस्थामा मस्तिष्कले प्रभावित गर्ने महत्वपूर्ण तत्व हो । डोपामिनसँग सम्बन्धित मस्तिष्कको पुरस्कार प्रणालीले सिकाईमा संलग्न हुन प्रेरणा दिन्छ । डिप्रेसनजस्ता अवस्थाहरूमा यो प्रणाली कमजोर हुन्छ । विद्यार्थीहरूले पहिले मन पराएका गतिविधिहरूमा पनि रुचि गुमाउन सक्छन् । उनीहरू अनुत्साहित, निरुत्साहित वा उदासीन देखिन सक्छन् । तर यस्तो व्यवहार इच्छाशक्तिको कमी होइन, बरु न्यूरोकेमिकल असन्तुलनको परिणाम हो ।
उदाहरणका लागि, डिप्रेसनबाट गुज्रिरहेको विद्यार्थीलाई काम सुरु गर्न वा निरन्तरता दिन कठिन हुन्छ, यद्यपि उसलाई शिक्षाको महत्त्व थाहा हुन्छ । पुरस्कार वा सजायजस्ता परम्परागत उपाय प्रभावकारी नहुन सक्छन्। बरु परामर्श, साथीसँग सहयोग र लचिलो सिकाई रणनीतिहरू आवश्यक हुन्छन् । यस्तो अवस्थामा शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । शिक्षक ज्ञान दिने मात्र होइन, व्यवहार बुझ्ने र सिकाई वातावरण निर्माण गर्ने व्यक्ति पनि हुन् । न्यूरोविश्लेषणको बुझाईले शिक्षकलाई विद्यार्थीको व्यवहार सही रूपमा व्याख्या गर्न मद्दत गर्छ । उदाहरणका लागि, ध्यान नदिएको विद्यार्थीलाई सजाय दिनुको सट्टा शिक्षकले उसको तनाव, थकान वा न्यूरोलोजिकल समस्याबारे सोच्न सक्छन् । यसले सहानुभूतिपूर्ण र प्रभावकारी शिक्षणलाई प्रोत्साहन गर्छ । कक्षाको वातावरण पनि सिकाई व्यवहारमा महत्वपूर्ण हुन्छ । सहयोगी, संरचित र पूर्वानुमेय वातावरणले स्नायु प्रणालीलाई सन्तुलित राख्छ र सुरक्षाको भावना दिन्छ । विद्यार्थी सुरक्षित महसुस गर्दा मस्तिष्क सिकाईमा केन्द्रित हुन्छ । तर अव्यवस्थित वा कठोर वातावरणले तनाव बढाउँछ र सिकाई क्षमता घटाउँछ ।
स्पष्ट नियम, नियमितता र सकारात्मक प्रोत्साहन भएको कक्षाले चिन्तित विद्यार्थीलाई सुरक्षित महसुस गराउँछ । यसले मस्तिष्कलाई खतरा खोज्नुभन्दा सिकाईमा ध्यान दिन सहयोग गर्छ । साथै, ध्यान केन्द्रित गर्ने र भावनात्मक नियन्त्रण सुधार्ने गतिविधिहरू—जस्तै गहिरो सास फेर्ने वा ध्यान अभ्यास—समावेश गर्नु पनि उपयोगी हुन्छ । साथीहरूको अन्तरक्रियाले पनि मस्तिष्क र व्यवहारलाई प्रभाव पार्छ । सकारात्मक सम्बन्धले अक्सिटोसिन हर्मोन उत्पादन बढाउँछ, जसले विश्वास र सम्बन्ध मजबुत बनाउँछ । यसले सिकाईलाई सहयोग गर्छ । तर नकारात्मक अनुभवहरू—जस्तै दुव्र्यवहार वा बहिष्कार—ले तनाव बढाउँछ र संज्ञानात्मक विकासमा बाधा पु¥याउँछ । त्यसैले सकारात्मक कक्षा संस्कृति आवश्यक हुन्छ ।
प्रविधि पनि सही तरिकाले प्रयोग नभएमा असामान्य सिकाई अवस्था सिर्जना गर्न सक्छ । अत्यधिक स्क्रिन प्रयोगले ध्यान, निद्रा र सामाजिक सीपमा असर गर्छ । निरन्तर डिजिटल उत्तेजनाले मस्तिष्कलाई लामो समयसम्म ध्यान दिन कठिन बनाउँछ । उदाहरणका लागि, बारम्बार एप वा खेल परिवर्तन गर्ने विद्यार्थीलाई एउटै काममा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ । यसले सन्तुलित प्रविधि प्रयोगको आवश्यकता देखाउँछ । असामान्य अवस्थाहरूमा विद्यार्थीहरूको न्यूरोविश्लेषणले सिकाई व्यवहार केवल अनुशासन वा इच्छाशक्तिको विषय नभई मस्तिष्क र वातावरणीय प्रभावहरूको परिणाम हो भन्ने देखाउँछ । प्रत्येक विद्यार्थीको न्यूरोलोजिकल संरचना फरक हुन्छ, जुन अनुभव, वंशानुगतता र वर्तमान अवस्थाले निर्धारण गर्छ । यसलाई बुझ्दा शिक्षकहरूले सबैका लागि उपयुक्त र समावेशी शिक्षण रणनीति अपनाउन सक्छन् ।
निष्कर्षमा, असामान्य अवस्थाहरूमा सिकाई व्यवहारको न्यूरोलोजिकल आधार बुझ्नुले कक्षाको चुनौतीहरूलाई स्पष्ट रूपमा देखाउँछ । यसले सहानुभूति, लचिलोपन र वैज्ञानिक हस्तक्षेपको आवश्यकता जोड दिन्छ । मस्तिष्कीय र वातावरणीय कारणहरूलाई सम्बोधन गरेर शिक्षकहरूले विद्यार्थीहरूको शैक्षिक सफलता मात्र होइन, समग्र कल्याण सुनिश्चित गर्न सक्छन् । यस प्रकारको समग्र दृष्टिकोणले हरेक विद्यार्थीलाई सिक्ने र विकास गर्ने समान अवसर प्रदान गर्छ ।
जय शिक्षा । जय नेपाल ।।
टिप्पणी गर्नुहोस्