बागलुङ
बागलुङ नगरपालिका—१ खनियाबासका कृष्ण माझी ४२ वर्ष पुगे । उनले अहिलेसम्म पनि आफ्नो घरमा जमरा राखेको देखेका छैनन् । दशैं नमनाउने भएर जमरा नराखिएको होईन । उनी जान्ने भए देखि नै घर परिवारले अन्तैबाट जमरा लिएर दशैंमा टिका जमरा लगाउँछन् । घरमा भने कहिल्यै जमरा राख्दैनन् । ‘हाम्रो घरमा जमरा राखेको मलाई अहिलेसम्म थाहा छैन,’माझी भन्छन्,‘हामीले जान्ने सुन्ने हुँदाको समय देखि नै जमरा राखेको थाहा छैन । आमाहरुले अरुकै घरबाट जमरा लिएर दशैंमा चढाउने र टिका जमरा लगाउने गरेका थाहा छ ।’
घरमा जमरा किन नराखिएको भन्ने उनलाई थाहा छैन । ‘हाम्रोमा जमरा राखिदैन क्यारे, सानै देखि राखिएको थाहा भएन, किन नराखिएको भन्ने पनि थाहा छैन,’ कृष्णले अगाडी थपे । फुलमाया माझी बिहे गरेर खनियाबास आएकी हुन् । दशैंमा घरमा सासु ससुराले दशैंमा जमरा राखेको उनलाई पनि थाहा छैन । ‘म त बिहे गरेर आएकी हुँ, माईतमा त हाम्रो जमरा राख्नुहुन्छ,’ उनी भन्छिन्,‘खै कुन्नी किन हो, यहाँ त जमरा नराख्ने चलन रहेछ ।’ दशैंमा अरुकै बाट जमरा लिएर टिका लगाउने चलन छ । उनले पनि किन जमरा नराखिएको हो भन्ने बारेमा सोधी खोजी गरेकी छैनन् ।
‘दशैंमा टिका लगाईन्छ, जमरा अरुकै बाट लिने चलन छ,’फुलमाया भन्छिन्,‘खै किन यस्तो चलन रहेछ त्यो त मैले पनि सोधेकी छैन ।’ फुलमाया जस्तै उमा माझी पनि बहे गरेर खनियाबास आएकी हुन् । उनलाई पनि दशैंमा जमरा राख्ने गरेको थाहा छैन । भन्छिन्,‘उहिले उहिले जिजु बाजेको पालामा त जमरा राख्थे रे, कुन्नी के हो नराम्रो घटना भएपछि राख्छ छाडेको भन्ने सुनिन्छ,’ उनले भनिन्,‘यहाँ त दशैंमा जमरा राख्दैनन् । टिका लगाउनका लागि अरुलाई माग्ने हो ।’ खनियाबास र मालढुङ्गामा बस्ने माझीहरुले घरमा जमरा नराख्ने गरेको उमा बताउँछिन् ।
‘अन्यत्र त राख्छन्, बलेवा, फलेवासतिर पनि माझीहरु घरमा जमरा राख्छन्,’उमा भन्छिन्,‘यही खनियाबास र मालढुङ्गामा जमरा नराख्ने चलन रहेछ ।’ देउकली माझीलाई पहिले पहिले त घरमा जमरा नराख्दा दशैं आए जस्तो पनि लाग्थेन । अहिले भने सामान्य लाग्न थालेको छ । ‘पहिला पहिला त जमरा नराख्दा कस्तो कस्ता लाथ्यो,’ उमेर साढे ६ दशक नजिक पगेकी देउकली भन्छिन्,‘अहिले त बानी परो । दशैंमा अर्कालाई नै मागेर भए पनि दशैं मनाईन्छ । टिका जमरा लगाईन्छ ।’ आईतबार घटस्थापना, हिन्दु धर्ममा आस्था राख्ने र दशैं मनाउने सबैले घर घरमा जमरा छरेका छन् ।
तर यो पटक पनि बागलुङ नगरपालिका—१ खनियाबास र मालढुङ्गाका माझी समुदायले घरमा जमरा राखेनन् । घरमा जमरा नरोख पनि माझीहरुले दशैं भने आफ्नो क्षमता र गक्ष अनुसार धुमधामसंगै मनाउँछन् । अर्काकै घरबाट जमारा लिएर भए पनि जमरा टिका लगाउने, मिठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा छ । जिजु बाजेको पाला देखि नै घरमा दशैंका लागि जमरा राख्न छोडिएको पाका व्यक्तित्व सोमबहादुर माझी बताउँछन् ।
‘धेरै पहिला जिजु बाजेको बालमा त हाम्रो पनि जमरा राख्ने चलन थियो रे, त्यति खेर घरमा जमरा राख्दा जुन वर्ष जमरा राख्यो त्यो वर्ष घरकी कन्याको मृत्यु भएपछि जमरा राख्न छोडिएको रहेछ,’ उनी भन्छन्,‘वर्षैपिच्छे जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको हो रे ।’
जमरा राख्दा लगातार घर परिवारमा मानवीय क्षेति हुन थालेपछि जमरा राख्न छोडिएको र दशैंको टिका मागेको जमराबाट काम चलाउने स्थानीय बलबहादुर माझी बताउँछन् । ‘दशैं मनाउन छोडिएन, त्यसका लागि जमरा चाहियो, अरुलाई मागेर भए पनि दशैं चाँही मनाईन्छ,’ उनले भने । जिजु बाजेकै पालामा नराम्रो घटना भएर जमरा राख्न छाडेपछि दाजुभाई भित्र कसैले पनि जमरा नराख्ने गरेको उनले बताए ।
टिप्पणी गर्नुहोस्