Friday, January 16, 2026
शुक्रबार, माघ २, २०८२

E-paper

समितिले पूजा चलाएपछि भैरवस्थानको आम्दानी तीन गुणा

सोमवार, साउन १२, २०८२

बागलुङ : बागलुङ नगरपालिका—१२ अमलाचौर स्थीत भैरवस्थान मन्दिरको आम्दानी तीन गुणा वृद्धि भएको छ । भैरवस्थान मन्दिर व्यवस्थापन समितिले आफै पूजा सञ्चालन गरेपछि तीन गुणाले आम्दानी बढेको व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर केसीले बताए । ‘हामीले गत आर्थिक वर्षबाट गुठी संस्थानको अनुमति लिएर आफै पूजा सञ्चालन गर्न थालेका छौं,’कोषाध्यक्ष केसीले भने,‘त्यसले गर्दा आम्दानी राम्रो भएको छ । पहिले पहिले ठेक्कामा लगाउँदा तीन चार लाखमा ठेक्का हुन्थ्यो । अघिल्लो पटक गरिएको ठेक्कामा ९ लाखमा ठेकेदारले जिम्मा लिएका थिए । गत आर्थिक वर्षबाट हामीले सञ्चालन गरेका छौं । एक वर्षमा २७ लाख आम्दानी भएको छ ।’

२०७९ सालमा जेठ ३२ गतेबाट गुठी संस्थानले आफुहरुलाई व्यवस्थापन समितिमा नियुक्त गरेपछि मन्दिरको भौतिकसंगै पूजा व्यवस्थापनमा सुधार गरेको उनले जानकारी दिए । ‘२०७९ सालको असार ३२ गते हामीालाई व्यवस्थापन समितिको जिम्मा दिईयो, त्यतिबेला मन्दिरको माइन्युट पनि थिएन, हामीले पुरानो माईन्युट समेत पाएनौं,’उनी भन्छन्,‘हामी आएपछि सचिवालय व्यवस्थापनदेखि लिएर पूजाको व्यवस्थापन र भौतिक संरचानको सुधारमा ध्यान दिएका छौं ।’ भैरवस्थानमा विगतमा मंगलबार र शनिबार मात्रै पूजा हुने गरेकोमा अहिले सातै बार पूजा गर्ने व्यवस्था मिलाएको उनले बताए ।

‘हामीले मासिक १५ हजार तलब दिएर पूजारी राखेका छौं, अहिले दैनिक पूजा हुन्छ,’उनले भने,‘अन्य व्यवस्थापनका लागि १० हजारमा एक जना कर्मचारी पनि राखेका छौं । जसले गर्दा आम्दानीमा पनि वृद्धि भएको छ ।’ अघिल्लो समितिले नेपाल बैंकमा राखेको ७ लाख रुपैयाँ मात्रै आफुहरुले पाएको भन्दै केसीले अहिले ४० लाख रुपैयाँ विभिन्न बैंकको खातामा रहेको उल्लेख गरे । ‘हामीले भौतिक निर्माणका कामलाई अगाडि बढाएका छौं, गेट निर्माण ग¥यौं, सचिवालय व्यवस्थापन ग¥यौं,’उनले भने,‘अहिले हामी बसिरहेको भवन पनि २७ लाख रुपैयाँको हो । यी संरचनाहरुमा हामीले नेपाल सरकारका विभिन्न निकाय, बागलुङ नगरपालिकासंगै मन्दिरको आम्दानी पनि प्रयोग गरेका छौं । अबको ध्यान हाम्रो मुख्य मन्दिरको पुनः निर्माणको गर्नेमा केन्द्रित गर्दैछौं ।’

मन्दिर पुनः निर्माण गर्ने भनेर सञ्चालन गरिएको क्युआर मार्फत सहयोग अभियानमा ७ लाख बढि संकलन भएको उनले जानकारी दिए । अहिले मन्दिरको नाममा ११ रोपनी ५ आना २ दामको जग्गा रहेको र कुल भौतिक सम्पत्ती एक करोड चार लाख २५ हजार बराबरको रहेको उनले जानकारी दिए । ‘अहिले पनि यो मन्दिर सार्वजनिक जग्गामा छ, अब हामी यसलाई मन्दिरकै नाममा लालपूर्जा निकाल्ने प्रयासमा छौं,’उनले भने । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले आफुहरु व्यवस्थापन समितिमा आएपछि विभिन्न भौतिक संरचनाहरुको निर्माण गरेको बताए ।

‘१० लाखको लागतमा पहिले त सचिवालय व्यवस्थापन ग¥यौं, चौरमा बस्नुपर्ने अवस्था थियो,’उनले भने,‘संघीय सरकारको सशर्त बजेटमा २७ लाख खर्चर दुई तलाको भवन बनाएका छौं । बागलुङ नगरपालिकाले हरेलो मेलामा बोलेको ५ लाख रकममध्ये ३ लाख ४८ हजार रुपैयाँ जोगएर त्यसमा मन्दिरका पनि रकम थपेर गेट निर्माण गरेको छौं ।’ वन कार्यालयको २० लाखबाट ढुङ्गा बिच्छ्याउने र पोखरी निर्माण गर्ने कार्य सम्पन्न भएको उनले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार सामाजिक विकास कार्यालय मार्फत १० लाखमा चारकोठ सौचालय निर्माण गरिएको छ भने दक्ष पौडेलले एक लाख ८० हजार खर्च गरेर खानेपानीको धारो निर्माण गरिदिएका छन् ।

भैरवस्थान मन्दिर परिसारमा स्थानीय एकबहादुर केसी संगमको परिवारले निर्माण गरेको गणेश मन्दिर अन्तिम चरणमा पुगेको छ । मन्दिररको आन्तरिक स्रोतबाट ११ वटा व्यापारिक सटर निर्माण गरिएको छ । त्यसबाट अहिले मासिक ३० हजार आम्दानी भैरहेको उनले जानकारी दिए । ‘चौरमा बसेर डोकोमा पूजा सामग्री विक्री गर्नुपर्ने बाध्यता थियो, दर्शनार्थीहरु मन्दिर दर्शन गरेपछि खाजा खाने ठाउँ पनि थिएन,’अध्यक्ष ढकाल भन्छन्,‘सटर निर्माण गरेपछि पूजा सामग्री विक्री गर्नेलाई पनि सजिलो भएको छ र दर्शनार्थीहरु खाजा खानका लागि पनि ठाउँ भएको छ ।’

पहिलो दुई वर्षे कार्यकालका लागि नियुक्त भएको व्यवस्थापन समितिको फेरी तीन वर्षे कार्यकालका लागि गुठी संस्थानले नियुक्ती गरेको उनले बताए । ‘अहिले फेरी गुठी संस्थानले हामीलाई नै थप तीन वर्षको जिम्मेवारी दिएको छ,’उनले भने,‘अब हाम्रो उद्देश्य भनेको मन्दिरको पुनः निर्माण नै हो ।’ मन्दिर पुनः निर्माणका लागि संघीय सरकारमा प्रस्ताव पेश गरिएकोमा तीन करोड भन्दा तलको योजनामा बजेट नराख्ने भनेर अहिले बजेट नपरेको उनले बताए । मन्दिरमा आउने दर्शनार्थी र मन्दिरको समेत सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर सीसी क्यामेरा समेत जडान गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव भीम पौडेलले जानकारी दिए ।

शनिबार मन्दिर व्यवस्थापन समितिले भैरवस्थान मन्दिर पसिरमै पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी मन्दिरको हालसम्मको गतिविध र आगामी योजनाबारेमा जानकारी गराएको हो । बागलुङ नगरउपप्रमुख राजु खड्काले भैरवस्थान विस्तारै बागलुङ नगर क्षेत्रभित्रको प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गैरहेको बताए । ‘विस्तारै प्रचार प्रसार यहाँको भौतिक विकास हुँदै गएपछि अहिले राम्रो गन्तव्यको रुपमा स्थापित हुँदैछ,’उनले भने,‘बागलुङ कालिका दर्शन गर्न आउनेहरुलाई यहाँ पनि आउनुपर्छ भनेर जोड्न सकियो भने अझ यहाँको थप विकास हुनेछ ।’ भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भिम पौडेलले गरेका थिए ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर