Friday, October 17, 2025
शुक्रबार, अशोज ३१, २०८२

E-paper

टप एन्ड टी–२० सिरिजमा दोस्रो जित

बुधबार, भदौ ४, २०८२

काठमाडौं

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमा १०६ रनमा अलआउट भयो । रेनेगेड्सका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए । जे लेमिरले १८ तथा ह्यारी डिक्सनले १६ रन बनाए । नेपालका लागि सोमपाल कामीले ४ ओभरमा १७ रन दिएर ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट लिँदा रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र शाहब आलमले १–१ विकेट लिए ।

त्यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले २२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए । आजको खेलमा कप्तानी गरेका दिपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाए ।

लोकेश बमले १६ बलमा २४ रन बनाए । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२ रन बनाए । रेनेगेड्सका लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २–२ विकेट लिए ।

नेपाल हालसम्म खेलेका ५ खेलमध्ये सुरुवाती ३ खेलमा लगातार पराजित हुँदा त्यसपछि लगातार २ जित निकालेको हो । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

मंगलबार भएको चौथो खेलमा भने नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको थियो । नेपाल हाल ५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्ने प्रावधान छ । नेपालले यसपछि शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर