Wednesday, February 11, 2026
बुधबार, माघ २८, २०८२

E-paper

उपेन्द्र यादवलाई राजनीतिक प्रतिशोध साँध्न खोजिएको जसपाको आरोप

बुधबार, भदौ ४, २०८२

काठमाडौं — जनता समाजवादी पार्टी नेपालले गौर हत्याकाण्डबारे सर्वोच्च अदालतबाट आदेशको पूर्णपाठ वा संक्षिप्त आदेश नै नआउँदै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जोडेर प्रचार गरेकोप्रति आपत्ति जनाएको छ।

प्रवक्ता मनिष सुमनले विज्ञप्ति जारी गर्दै अदालतबाट जारी भएको आदेशसँगको मुद्दामा पक्ष वा विपक्षको रूपमा रहँदै नरहेको विषयमा अध्यक्षलाई पूर्णरुपमा पूर्वाग्रही ढङ्गले नियतवश जोडेको भन्दै असन्तुष्टि जनाए।

विज्ञप्तिमा भनिएको छ, ‘२०६३ सालको त्यो दुखद घटनाको सम्बन्धमा तत्कालीन सरकारले नै उच्च स्तरीय न्यायिक जाँचबुझ समिति गठन गरी सत्य तथ्य अभिलेखीकरण गरी सकेको, संवैधानिक निकायको रूपमा रहेको राष्ट्रिय मानव अधिकार आयोगका साथै नेपाल स्थित संयुक्त राष्ट्रसंघीय समेतले तत्कालकै अवस्थामा घटना वारदातको सम्बन्धमा आ–आफ्नो तर्फबाट स्वतन्त्र अनुसन्धान गरी सत्य तथ्य सहितको प्रतिवेदन समेत सार्वजनिक गरी सकेको, यो राजनीतिक विषयमा राजनीतिक शक्तिहरूबाट नै समाधानको बाटो खोजिनु पर्ने हुन्छ।’

सर्वोच्च अदालतबाट जारी भएको परमादेशको आदेश अनुसार पुनः निष्पक्ष, विश्वसनीय एवं वस्तुपरक रूपमा अनुसन्धान हुने भएमा पनि आत्तिइहाल्नु पर्ने अवस्था नरहेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतबाट जारी भएको आदेशको पूर्णपाठ वा संक्षिप्त आदेश नै नआउँदै विभिन्न सञ्चार माध्यमबाट अपुष्ट रूपमा सम्प्रेषण गरिएको भ्रामक समाचारमा विश्वास गरी सम्मानित सर्वोच्च अदालतबाट जारी भएको आदेशको विरुद्धमा वा सम्मानित अदालतलाई लक्षित गरी कुनै प्रकारको क्रियाकलाप वा गतिविधि नगर्न, नगराउन तथा त्यस्तो कार्यमा सरिक समेत नहुन हार्दिक अपिल समेत गर्न चाहन्छौँ ।’

सर्वोच्च अदालतको आदेशप्रति पूर्ण सहयोग गर्न अध्यक्ष यादव तथा पार्टी सधैँ तयार रहेको बताएका छन्। ‘मधेश आन्दोलनलाई कमजोर पार्ने र अध्यक्षलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने दुष्प्रयास स्वरूप आम सञ्चार माध्यमबाट अतिरञ्जित पूर्ण रूपमा समाचार सम्प्रेषण गर्दै जनमानसमा भ्रम मार्फत द्वन्द्व सृजना गर्ने कार्य नगर्न आम सञ्चारमाध्यमहरूलाई समेत हार्दिक अपिल गर्न चाहन्छौँ’ विज्ञप्तिमा भनिएको छ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर