Friday, October 17, 2025
शुक्रबार, अशोज ३१, २०८२

E-paper

भदौरे जात्रा र यसको महत्व

बुधबार, साउन २८, २०८२

सोमबारदेखि बागलुङ बजारमा औपचारिक रुपमा भदौरे जात्रा सुरु भएको छ । यो जात्रा बागलुङ जिल्लामा विशेष रूपमा मनाइने एक सांस्कृतिक पर्व हो । मुख्यतः नेवार समुदायसँग सम्बन्धित छ। यो जात्रा भाद्र महिनामा जनैपूर्णिमापछि तीजसम्म चल्ने गर्दछ । यो पर्वले शरद ऋतुको आगमन र चाडपर्वको सुरुवातको संकेत गर्छ । बर्खाभरी काम गरेर थाकेको ज्यानलाई रमाईलो गरेर स्फुर्ति जगाउनका लागि यो जात्राले सहयोग गर्ने गर्छ । भदौरे जात्रामा विभिन्न परम्परागत नाचहरू जस्तै भदौरे नाच र कटुवाल नाच प्रदर्शन गरिन्छ । यी नाचहरूले स्थानीय संस्कृति र परम्परालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्छन् । पहिले–पहिले गाउँ–गाउँबाट मानिसहरू यी नाचहरू हेर्न बागलुङ बजार आउने गर्थे। यो जात्रा विशेष गरी बागलुङका नेवार समुदायले आफ्नो पुस्तौनी परम्पराको रूपमा मनाउँछन् ।

युवाहरूले संस्कृति र परम्परा जोगाउन सक्रिय सहभागिता जनाउँछन्। तीन सय वर्ष भन्दा अगाडि भक्तपुर र बनेपाबाट बागलुङ बजार आएका नेवारी समुदायले आफुसंगै लिएर आएको संस्कार र संस्कृतिमध्ये प्रमुख संस्कृति हो भदौरे जात्रा । यसले अहिले बागलुङको पहिचान समेत स्थापित गर्दै गएको छ । भदौरे जात्रा शरदयामको छेकोमा आयोजना हुने भएकोले यो समयमा बागलुङ बजार जात्रामय माहोलले भरिन्छ । झरी थामिएर मौसम सुहाउँदो भएकाले चाडपर्वको उत्साह थपिन्छ। कटुवाल नाचपछि हुने रोपाइँ नाच पनि यो जात्राको एक आकर्षण हो, जसले कृषि संस्कृतिलाई प्रतिबिम्बित गर्छ। भदौरे जात्रा नेवार समुदायको सांस्कृतिक पहिचानको एक महत्वपूर्ण हिस्सा हो। यो पर्वले सामुदायिक एकता र सांस्कृतिक निरन्तरतालाई प्रोत्साहन गर्छ ।

पहिलेका दिनहरूमा यो जात्रा हेर्न टाढा–टाढाबाट मानिसहरू बागलुङ बजार आउने गर्थे, जसले सामाजिक र आर्थिक गतिविधिलाई पनि बढावा दिन्थ्यो। हालका वर्षहरूमा यो जात्रा फेरि उत्साहका साथ मनाउन थालिएको छ, विशेष गरी युवाहरूको सक्रियताले यो जात्राको रौनकता फर्किदै जान थालेको छ । भदौरे जात्रा बागलुङको सांस्कृतिक धरोहरको एक जीवन्त उदाहरण हो, जसले नेवार समुदायको परम्परा, नाच, र सामुदायिक भावनालाई उजागर गर्छ । बागलुङ बजार पर्यटकीय र सांस्कृतिक नगरी बनाउनका लागि यी खालका संस्कार संस्कृति र जात्राहरुको संरक्षणमा राज्य तहबाटै लगानी हुनु जरुरी छ । नयाँ पुस्तामा हस्तान्तरणको अभावमा धेरै संस्कृतिहरु लोप भएर गईरहेका छन् । यी विषय केवल एउटा समुदायको मात्रै विषय होईन । संस्कार र संस्कृति लोप हुनु भनेको राज्यको पहिचान र अस्तीत्व नै समाप्त हुनु हो । त्यसैले सांस्कृतिक पहिचान जोगाउनका लागि राज्यको लगानी जरुरी छ ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर