Tuesday, April 21, 2026
मङ्लबार, बैशाख ८, २०८३

E-paper

महाशिलावासीद्वारा फलामखानी उत्खनन गर्न माग

बुधबार, भदौ ४, २०८२

पर्वत

पर्वतको महाशिला गाउँपालिका–६ मा रहेको सम्भावित फलामखानी उत्खनन गर्न स्थानीयवासीले पुनःमाग गरेका छन्। विगत चार वर्षअघि पनि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँको टोलीले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको भए पनि अध्ययन, अनुसन्धानमात्र गरेर फर्किएको थियो। भूगर्भविद्हरूले इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी)का माध्यमबाट अध्ययन गर्दा प्रशस्त फलाम रहेको प्रमाण भेटिएको जनाइएको थियो। कुनै ठाउँमा सतहमा फलाम भेटिएको थियो भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको बताइएको छ।

फलामखानीमा दुई किलोमिटर लम्बाइमा खानी फैलिएको अनुमान छ। तर स्थानीयले पटकपटक फलामखानीको उत्खनन माग गर्दा पनि कतैबाट तदारुकता नदेखाएपछि निरास बनेका छन्। कहिले केन्द्र सरकार त कहिले प्रदेश सरकारसँग उत्खननको माग गरे पनि नीति तथा कार्यक्रममा चर्चा हुने तर बजेट विनियोजन नहुने समस्या भएकोे महाशिला–६ का वडाध्यक्ष गोविन्दबहादुर विकले बताए।

धुवाँकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच २०६७ पुस ८ गते सम्झौता पनि भएको थियो। तर उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभाग आएर अध्ययन गरे पनि अन्य प्रक्रिया भने सुरु नभएको उनले जानकारी दिए। उक्त फलामखानी सदरमुकाम कुश्मा बजारबाट झण्डै ३५ किलोमिटरको दूरीमा रहेको छ। महाशिला वडा नं ५ लुङ्खुदेराली र वडा नं ६ फलामखानी क्षेत्रमा फैलिएको यो खानीको विस्तृत सर्वेक्षण गरी उत्खनन गर्न लामो समयदेखि स्थानीयवासीले माग गर्दै आएका छन्।

स्थानीयले उत्खनन गरेको फलामका सामग्री २०४० सालसम्म पनि किन्न र देख्न पाइने यहाँका बुढापाकाहरू बताउँछन्। यहाँको फलाम अन्यत्रजस्तो प्रशोधन गर्नुपर्ने नभएको उनीहरूको भनाइ छ। खानीबाट निकालेको फलाम सिधैँ तताएर आवश्यक सामग्री बनाउन सकिने खालको भए पनि पछि कोइला अभावमा उत्खनन गर्न छाडेको स्थानीय प्रेमबहादुर सुनारले जानकारी दिए।

उनका अनुसार तत्कालीन समयमा यहाँको फलामबाट बनेका घरेलु हतियार बागलुङ, पाल्पा, स्याङ्जाका विभिन्न गाउँमा बिक्री हुन्थ्यो। आधुनिक मेसिन र सडकको यात्रा नहुने भएकाले पर्वत आसपासका खोलामा निर्माण भएका पुलमा समेत यहीँको फलामबाट बनेका लठ्ठाको प्रयोग गरिएको थियो। मोदीवेणी र जैमिनीघाटका पुलमा अझै पनि फलामखानीको फलामले बनेका लठ्ठाका पुल देख्न सकिन्छ।

गाउँभरि सम्भावित फलामको खानी भएकाले नै उतिबेला यो गाउँको नामै फलामखानी राखिएको वडाध्यक्ष विकले बताए। फलामखानीमा बसोबास गर्ने विक र दर्जी परिवारबाट कम्तीमा एक जना उतिबेला फलामको खानीमै बास बस्ने गरेको वडाध्यक्ष विकको भनाइ छ। यहाँको फलामखानी उत्खनन् हुने हो भने मुलुककै आर्थिक अवस्था सुधारमा फाइदा पुग्नुका साथै सयौँ युवायुवतीले रोजगारीको अवसर पाउने उनी बताउँछन्।

घरदैलोमा भएको फलामको खानी उत्खनन गर्न नसकेर आयातित फलाम प्रयोग गर्नु परेको स्थानीय बलबहादुर क्षेत्रीले बताए। तत्कालीन जिल्ला विकास समितिको पहलमा २०६० को दशकमा सरकार र विभिन्न खानी तथा भूगर्भशास्त्रीहरूसँग यहाँको खानी उत्खनन गर्न विभिन्न प्रयास गरेको भए पनि सम्भव नभएको उनको भनाइ छ।

यसैबीच बन्द अवस्थामा रहेको उक्त फलामखानी सञ्चालन गर्ने प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गत शुक्रबार आयोजित मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता कार्यक्रममा विभागीय मन्त्री तथा सचिवलाई फलामखानी तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन्।

नयाँ र युगान्तकारी काम गर्न सबै मन्त्री तथा सचिवलाई निर्देशन दिँदै धौवादीभन्दा पनि राम्रो फलाम पर्वतको फलामखानीमा हुनसक्ने भन्दै त्यसलाई तत्काल सञ्चालनमा ल्याउनका लागि अध्ययन अनुसन्धान थालिहाल्न निर्देशन दिएका हुन्। उनले विशेष गरी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेलाई अध्ययन, अनुसन्धान गर्न लगाइहाल्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले भने, ’पर्वत तथा कास्कीका विभिन्न खोलामा अहिले पनि साविक फलामखानी गाविसको मैमडाँडाको फलामले बनेका पुलहरू रहेका छन्। विशेषगरी पोखराको भिमादमा अहिले पनि साङ्लवाला पुल झुन्डिइरहेको छ। त्यहीँका लोहारहरूको मेहनतले बनाएको पुल अझै झुण्डिएको छ।’

प्रधानमन्त्री ओलीले पर्वतको फलामखानीलाई धौवादीको फलामसँग मिलाएर उन्नत खालको फलाम उत्पादन गर्न सकिने बताए। उनले मुलुकको आर्थिक समृद्धि, रोजगार सृजना र आयातित फलामलाई विस्थापित गर्नका लागि यस्ता खालका उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्। रासस

टिप्पणीहरू (३)

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

  1. yono777login सोमवार, माघ १९, २०८२ मा ०५:२४ बेलुका बजे

    Just logged into yono777login – super easy! Let’s see if I can win some serious cash tonight. Wish me luck! Join the fun yono777login

  2. luckybets सोमवार, माघ १९, २०८२ मा ०५:२४ बेलुका बजे

    Feeling lucky? You should def check out luckybets. Site’s easy enough to navigate, and hey, you might just win something! Give it a shot here: luckybets

  3. 51 game download सोमवार, माघ १९, २०८२ मा ०५:२४ बेलुका बजे

    Looking for the 51 game download? It’s super easy to find on 51gameregister.com. Got it up and running in minutes! Check it out 51 game download

U

सम्बन्धित खबर