Friday, January 16, 2026
शुक्रबार, माघ २, २०८२

E-paper

बागलुङका व्यवसायीलाई कर सचेतना

सोमवार, साउन १२, २०८२

बागलुङ : आन्तरिक राजस्व कार्यालय बागलुङको समन्वय र बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा बागलुङका व्यवसायीलाई कर सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा आर्थिक विद्येयक २०८२ ले गरेका व्यवस्थाबारे व्यवसायीलाई जानकारी गराईएको छ । कार्यक्रममा सहजीकरण गर्दै आन्तरिक राजस्व कार्यालय बागलुङका कर अधिकृत राजनमणि शर्माले व्यवसायीले अनिवार्य रुपमा खरिद विक्री खाता अध्यावधिक गरेर राख्नुपर्ने बताए ।

‘तपाईले किनेको वस्तुको रेकर्ड हुनुपर्छ र विक्री गरेको वस्तुको पनि रेकर्ड हुनैपर्छ,’उनले भने,‘खरिद विक्री गर्दा बाँकी रहेको मौज्दातको पनि तपाईले रेकर्ड राख्नुपर्छ । यति गर्नु ठूलो कुरा होईन सबैले अनिवार्य गर्नैपर्छ ।’ शर्माले ग्राहकले बील नमागे पनि अनिवार्य रुपमा बील काट्नुपर्ने उल्लेख गरे । ‘ग्राहकले बील नै मागेन काटिएन भन्ने जवाफ आउँछ, त्यसो भनेर अब चल्दैन । आफ्नो रेकर्डका लागि मात्रै भए पनि बील काट्नुपर्छ,’ उनले भने । उनले वार्षिक ५० लाख भन्दा बढिको कारोबार गर्ने फर्म अनिवार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने बताए ।

उनले ३० लाख भन्दा माथि एक करोडसम्मको वार्षिक कारोबार गर्ने फर्मले अनिवार्य रुपमा डे टु विवरण अपडेट गर्नुपर्ने बताए । फर्महरु कर्मचारीको तलब दिंदा अनिवार्य रुपमा भौचर उठाएर बैंक खातामा हालेको हुनुपर्ने पनि उनले बताए । ‘कर्मचारीको तलबाट सरकारले तोके अनुसारको कर काटेर कार्यालयमा जम्मा गरिदिनुपर्ने दायित्व फर्म सञ्चालकको हो,’उनले भने,‘तलबको भौचर उठाएर बैंक भुक्तानी गरेको नपाईएमा त्यसलाई खर्चमा उल्लेख गर्न पाईने छैन । त्यसको पनि कर तिर्नुपर्ने हुन्छ ।’

शर्माले पसल विक्री वितरण गर्दा प्यान नम्बरको नामसारी नहुने भएकाले किन्ने व्यक्तिले छुट्टै प्यान नम्बर लिनुपर्ने बताए । ‘एक पटक लिएको प्यान नम्बर जीवनभर हुन्छ, यो नामसारी पनि हुँदैन, व्यवसाय गर्न परेर व्यसायिक रुपमा दर्ता गराउने, जागिर खानुपरे त्यसै अनुसार कर तिर्ने गर्नुपर्छ,’उनले भने । घरेलु वा नगरपालिकामा दर्ता भएको छु भनेर आन्तरिक राजस्व कार्यालयमा दर्ता नगरी कारोबार गर्न नमिल्ने उनले बताए ।
‘घरेलु वा नगरपालिकामा दर्ता गरेको छु भनेर कर कार्यालयमा दर्ता नगरे पनि पछि पान नम्बर लिंदा तपाईले फर्म दर्ता गरेको समयदेखिको कर तिर्नुपर्ने हुन्छ,’उनले भने,‘त्यसैले फर्म दर्ता भए लगत्तै करमा दर्ता भएर पान नम्बर लिंदा सबैभन्दा उपयुक्त हुन्छ ।’ मेरो फर्मको त कारोबार छैन भनेर जानकारी नगराई बस्न नमिल्ने उनले बताए । ‘तपाईको फर्मले कारोबार गरेको छैन भने पनि कारोबार नगरेको कार्यालयलाई जानकारी गरानुपर्छ होईन भने एकैचोटी जरिवाना लाग्छ,’उनले भने ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत प्रमोदकुमार श्रीवास्तवले आफुले व्यवसायीलाई अनावश्यक रुपमा दुःख नदिने तर कानुन अनुसार सबै अगाडि बढ्नुपर्ने बताए । ‘हामी तपाईको साथी जस्तै बनेर बस्न सक्दैनौं, तपाईहरुलाई अनावश्यक दुःख चाँही दिदैन,’उनले भने,‘तर कानुन अनुसार तपाई हामी सबै चल्नुपर्छ । नभए उजुरी परेको दिन मैले कारबाही अगाडि बढाउनैपर्छ ।’

उनले असोज मसान्त भित्र अघिल्लो वर्षको कर दाखिला गरिसक्नुपर्ने र सहलियको रुपमा पुस मसान्तसम्म चरचुक्ता गरिसक्नुपर्ने बताए । उनले अरुलाई सहुलिय दिने नाममा आफु फस्ने काममा नलाग्न समेत आग्रह गरे । ‘अहिले विदेश जाने कागज बनाउनका लागि ५० लाख तलब दिएको भनेर कागज बनाईदिने गरेको देखिन्छ,’उनले भने,‘अब त्यसरी काम गर्दा तपाई आफै फस्ने सम्भावना हुन्छ । कर काटेर भौचर उठाई बैंक खातामा तलब भुक्तान गरेको नदेखिएमा त्यसलाई खर्चमा लेख्न पाइँदैन ।’ कर तथा राजश्व सम्बन्धी केही गुनासो भएमा निर्धक भएर कर कार्यालय आउन अनुरोध गर्दै कर शिक्षाका बारेमा सिकाउन कार्यालय सधै तयार रहेको बताए ।

आर्थिक विधेयक २०८२ ले प्रदान गरेका छुट सुविधा तथा कर प्रशासनसंग सम्बन्धित ऐन नियमावलीमा भएका परिवर्तनका बारेमा उद्योगी व्यवसायीहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनक कुमार शाक्यले बताए । संघ व्यवसायीहरुको समस्या समधानमा सधै सक्रिय भएर लाग्ने बताउँदै उनले कर तथा राजश्व नीतिका बारेमा अन्य तालिमको आवश्यक परे प्रदान गर्न संघ सधै तयार रहेको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ बागलुङका पदाधिकारी, कार्यसमिति सदस्यहरू, संघका सल्लाहकार, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगायत व्यवसायीहरूको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघका अध्यक्ष राजनक कुमार शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम, वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमको धन्यवाद मन्तव्य र महासचिव इन्द्रमणि पौडेल अर्जुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर