संगम घर्तीमगर
बागलुङ : चोली र फरिया लगाएर महिला भेषमा सजिएका दुई दर्जन बढी पुरुषहरु छन् । उनीहरुको हातमा धानको बीउ जस्तो देखिने घाँस छन् । परबाट झट्ट हेर्दा श्रृङ्गारले सजिएका उनीहरु पुरुष नै हुन् भनेर छुट्याउन कठिन हुन्छ । उनीहरु मुखियाको खेत रोप्न आएका रोपारहरुको रुपमा तयार छन् । उनीहरुसंगै केही पुरुष पहिरनमा गाढा र भाङ्ग्रा लगाएकाहरु हातमा कुतो कोदालो समातेका छन् । उनीहरुको काम खेत हिल्याउने र आली लगाउने हो । उनीहरु बाउँसेको भूमिकामा छन् ।
एक जना पुरुषलाई गर्भवती महिलाको भेषमा तयार गरिएको छ । उनको अनुहार छोपिएको छ । अरु केही व्यक्तिहरु हातमा टोकरी समोतका छन् । एक जना अनुहारभरी कालो पोतिएको व्यक्तिले डोकोभरी धानको बीउ जस्तो देखिने घाँस बोकेका छन् । अर्को एक जना व्यक्ति सिंगारिएको छाता समातेर मृदङ्गा बजाउने व्यक्तिलाई ओढाईरहेका छन् । नेवारी बाजा मृदङ्गाको धुनसंगै गित सुरु हुन्छ…..
असारे मासको डबडबे हिलो छुनलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिसे रिन लाग्यो ।
उकाली लाग्यो ओराली लाग्यो हिउँदे सिमीलाई,
जैले म आउँछु सुतेकै देख्छु, के भयो तिमिलाई ।
गितको स्वर र बाजाको तालमा सुरताल मिलाउँदै बाउँसेले खेत खनेको र रोपारहरु धान रोपेको अभिनय गर्दै बजार परिक्रमा गर्छन् । हातमा टोकरी समाएकाहरु गर्भवती महिलाको भेष धारण गरेको व्यक्तिलाई देखाउँदै घरमा घरमा पुगेर ‘उ गर्भवती छ सुत्केरी गर्च दिनुस्’ भन्दै पैसा माग्छन् । यो सबै बागलुङका नेवार समुदायले प्रस्तुत गर्ने रोपाइँ नाचमा देखाईएको क्रियाकलाप हो । सोमबारदेखि सुरु भएको भदौरे जात्रा अन्तर्गत बागलुङका नेवारहरुले मंगलबार रोपाइँ नाच प्रस्तुत गरेका छन् ।
नेवारी संस्कृति अनुसार गाईजात्राको भोलीपल्टबाट सुरु हुने भदौरे जात्रामा देखाईने विभिन्न कलासंस्कृतिमध्ये रोपाई नाँच प्रमुख हो । नेवारी समुदायमा परम्परादेखि चल्दै आएको संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरणका लागि यी जात्राहरु दैनिक प्रस्तुत गर्ने गरिएको नेपाल भाषा मंका खलः बागलुङका अध्यक्ष जयराम भारी बताउँछन् । ‘रोपाइँ नाच पनि भदौरे जात्राकै एउटा भाग हो, अघिल्लो दिनमा कटुवाल नाच प्रस्तुत गदैै खेताला खेताल्नी बोलाएको भोलिपल्ट यो नाच प्रस्तुत गरिन्छ,’उनले भने,‘यसले रमाईलोसंगै कृषि क्षेत्रको प्रवद्र्धन र विकासका लागि सांस्कृतिक पक्षबाट सहयोग पुग्छ ।’
रोपाइँ नाच प्रस्तुत गर्दै गर्दा जिस्किने र इत्रिने पनि हुन्छ । जात्राको क्रममा बाटोमा भेटिने पुरुषलाई रोपारहरुतर्फ देखाउँदै ‘मन परेको छान्नुस् है कान्छी बनाउन’ भन्दै जिस्क्याउँछन् । यसले माहोललाई रमाईलो बनाउने काम पनि गर्छ । रोपाइँ नाचका गितहरु पनि उस्तै रमाईला र ठट्यौली पाराका हुन्छन् ।
ढिपीमा ढिपी बत्ती है बल्यो माटाको पालामा,
सुपारी जत्रो डण्डीफोर रैछ मोइ खाने गालामा ।
त्यो पारी वनको हरियो घाँस खाएन टट्टुले,
झ्यालैमा बसी नहेर कान्छी लैजाला छट्टुले ।
बहरु छाया पिपलु छाया, कदमको के छाया,
पुतली जस्तै बाटैमा पायाँ घरको के माया ।
खेतीपाती लगाएर खाली भएको समयमा मनोरञ्जन गर्नका लागि यी जात्राहहरुले महत्वपूर्ण भूमिका खेलेको नेवारी संस्कृतिका अध्येता महेशचन्द्र प्रधान बताउँछन् । ‘यो समय भनेको खेती लगापछि सबै खाली हुने समय हो,’उनी भन्छन्,‘यो समयमा मनोरञ्जनको कार्यक्रम गर्दा धेरै मानिसहरु आउने र रमाउने चलन थियो ।’ पहिले पहिले मनोरञ्जको अन्य माध्यम नहुँदा यी जात्रा हेर्नेहरु भिड लाग्ने गरेको उनी सुनाउँछन् ।
‘यो यो बेला गाउँघरको खेतबारीको अन्न स्याहारेर नयाँ खेती लगाईन्छ, त्यसले गर्दा जात्रामा गाउँबाट सामान ल्याएर बेच्ने र आफुलाई चाहिने सामान किन्ने मौका पनि हुन्थ्यो,’ प्रधानले भने,‘योसंग लोकसांस्कृतिक पाटोसंगै आर्थिक पाटो पनि जोडिएको पाईन्छ । अब चाडवाड आयो आफुलाई चाहिने सामान पनि किन्ने जात्रा पनि हेर्ने गज्जको संयोग हुन्थ्यो ।’ भदौरे जात्रामा सबै अभिनय पुरुषले गर्ने र त्यसले उच्च मनोरञ्जन दिने उनी बताउँछन् ।
बागलुङ आउँदा नेवार समुदायले लिएर आएको सांस्कृतिक नाचहरुमध्ये नागनागिना, शिकारी, भोटेशेलो, र थेटर नाच अहिले लोप भैसकेको उनी बताउँछन् । यहाँको इतिहासका अध्येता वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले वि.सं. १८४० मा भक्तपुरका राजा रञ्जित मल्लको भित्रिनीपट्टीका छोरा अभ्युदसिंहले पर्वते राजाबाट बिर्ता पाएर बागलुङ उपल्लाचौरमा दरबार बनाएर बसेपछि उनीसंग अन्य नेवार समुदाय र नेवारी संस्कृति बागलुङ प्रवेश गरेको बताउँछन् ।
नेवार समुदायको बसोबास सुरु भएसंगै बागलुङको नाम बागलुङ चौर हटिया रहन पुगेको उनले बताए । नेपाल कृषिमा निर्भर भएको र यहाँका जात्राहरु पनि कृषिसंग सम्बन्धित रहेको उनको भनाई छ । नेवारहरु बढी नै धर्मप्राणी भएको र उनीहरुले हिन्दु र बौद्ध धर्मलाई पनि आफ्नै तरिकाले मान्नउ उनी बताउँछन् । ‘नेवारहरु शैव, वैष्णव र बौद्ध मान्छन् तर आफ्नो पाराले मान्छन्,’उनले भने । भादगाउँबाट भित्रिएको भएर जात्राको नाम भदौरे राखेको हुनसक्ने उनी बताउँछन् ।
भदौरे जात्रा भनिए पनि तिथीले कहिले साउनमै त कहिले भदौ महिनामा पर्ने उनले बताए । गाईजात्राबाट सुरु भएको भदौरे जात्रा कृष्ण जन्माष्टीसंगै सकिन्छ । लाखे नाच भने तीजसम्म देखाउने चलन रहेको छ । बागलुङको गलकोट, बलेवा र पर्वतको फलेवास क्षेत्रमा पनि नेवार समुदायले यी जात्रा देखाउने गर्छन् ।
टिप्पणी गर्नुहोस्