बागलुङ
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनले कृष्ण जन्माष्टमीको अवसर पारेर श्रीकृष्ण मन्दिरको उदघाटन गरेको छ । बागलुङ नगरपालिका—१ मालढुङ्गा खुदुर्केमा निर्माण गरिएको उक्त मन्दिरको कृष्णजन्माष्टमीमा उद्घाटन गरिएको हो । महाविष्णु स्वामी महाराजको बाहुलीबाट मन्दिरको उद्घाटन गरिएको इस्कोन नेपालका केन्द्रीय अध्यक्ष परमेश्वर अच्युतदासले जानकारी दिए ।
‘इस्कोनको गण्डकी परियोजना अन्तर्गत हामीले मन्दिर निर्माण गरेका छौं, यसपटक जन्माष्टमीमा भगवानलाई घर उपहार दिन सफल भएका छौंं,’उनले भने,‘यस पटकको जन्माष्टमी कार्यक्रमलाई साताव्यापी कार्यक्रम पनि ग¥यौं । मन्दिर उद्घाटन पनि गरियो ।’
बृहत गण्डकी परियोजना अन्तर्गत ४५ करोडको डिपीआर तयार गरेर इस्कोन गण्डकीले मालढुङ्गामा विभिन्न संरचना निर्माणको कामलाई अगाडि बढाएको छ । अहिले पहिलो चरणमा साढे दुई करोड खर्च गरेर श्रीकृष्ण मन्दिर तयार भएको उनले जानकारी दिए । ‘पूरै परियोजना त ४५ करोडको डिपीआर हो, पहिलो चरणमा मन्दिर निर्माण भएको छ,’उनले भने,‘कालीगण्डकी किनारमा कटान रोक्नका लागि केही सरकारी बजेटबाट पनि काम भएको छ । बाँकी मन्दिरको काम हामी जस्तै भक्तजनहरुबाट स्वतःस्फुर्त सहयोग गरेर साढे दुई करोड खर्चमा बनेको हो ।’
करिब १७ रोपनी जग्गा रहेको उक्त ठाउँमा अब धार्मिक तिर्थयात्रीहरुका लागि आश्रयस्थल र शाहाकारी भोजनालय गोविन्दाज निर्माण गर्ने योजना रहेको उनले बताए । ‘प्रकृतिक र संस्कृति मार्फत पर्यटनको विकास गर्न सकिन्छ भन्ने देखिन्छ,’उनले भने,‘हाम्रो प्रकृति र संस्कृति हेर्न आएका तिर्थालु भक्तजनहरुलाई एक दिन मात्रै भए पनि यहाँ राख्न सकियो भने यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ भन्ने हाम्रो विश्वास त्यसैले पनि हामी आश्रयस्थल बनाउने योजनामा छौं ।’
मुक्तिनाथ जाने तिर्थयात्रीहरुलाई सात्विक भोजन खुवाउन गोविन्दाज रेष्टुरेन्ट सञ्चालनमा ल्याउने योजनामा रहेको उनले सुनाए । ‘बाहिरबाट शाहाकारी भक्तजनहरु यहाँको होटल रेष्टुरेन्टमा खाना खानुहुन्न,’उनले भने,‘हामीले गोविन्दाज शाहाकारी भोजनालय सञ्चालन गरेर उहाँहरुको समस्या सुल्झाउने प्रयास गर्दैछौं ।’ दामोदर कुण्ड र मुक्तिनाथदेखि बगेको कालीगण्डकी नदीको महिना उच्च रहेको र यस क्षेत्रमा धार्मिक पर्यटक बढ्दै जाने उनले बताए ।
टिप्पणीहरू (१)
c1iy0a