Friday, April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

E-paper

पर्यटन

गोठालाको गोठमै चिया पसल  

सोमवार, भदौ २, २०८२
नारायण रिजाल
‘बुकी छ, भेडा बाख्रा र गाईभैंसी चराउँछ भन्ने बित्तिकै गोठालो मात्र हो भन्ने नसोच्नुस्, अब त चिया, खाजा नास्ता र बिस्कुट व्यापार गर्ने व्यापारी पनि भएकी छु, उमेरले झण्डै ५० वर्ष पुगेकी सुबित्रा कुमाई बुकी जाने पर्यटकसँग हाँस्दै हातमा चिया थमाउँदै भन्छिन ।’ ठुंगाले बारेको गोठ,  गोठ भित्र धुँवाको मुल्सो त्यही मुल्सो भित्र बसेर मिठो चिया पकाएर पर्यटकको मन जितेकी छिन सुबित्राले । नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षको बुकी पाटनका लागि उकालो चढ्ने पर्यटकलाई दैनिक चिया र खाजा खुवाउनका लागि सुमित्रालाई भ्याई नभ्याई छ ।
पछिल्लो समयमा ढोरपाटनको बुकीपाटन क्षेत्रमा पदमार्ग हुँदै पर्यटक जान लागेपछि उनको पेशा नै थपिएको छ । यहाँका गोठालोको आम्दानीको नयाँ श्रोत बनेको छ चिया र विस्कुट, खाजा नास्ता । सुबित्रा गाईबस्तु र भेडाबाख्राको गोठालोसँगै अहिले साहुनी भएकी छन । चिया र खाजा खाने पर्यटकले पैसा कति भयो साहुनी भनेर सोध्दा सुबित्रा मुसुक्क हास्दै अचम्म मान्छिन ।
‘हाम्रो वर्षौदेखि भेडिगोठ छ । यहाँ भेडाबाख्रा र भैसी पाल्नका लागि बर्खाको समयमा बुकीपाटन क्षेत्रमा आउँछौँ, सुबित्राले भनिन्–‘दुई वर्ष पहिले त यस क्षेत्रमा कोही पनि आउँदैनथ्यो, गत वर्ष देखी बुकी जाने बाटो सजिलो बनेपछि यहाँ मानिसहरु घुम्नका लागि आउन थालेका छन, उनिहरुले हामीलाई गोठमा देख्दा चिया र नास्ता सोधिरहन्थे, हामीले जे पकाउँथ्यौ त्यो खाने जाने गर्थै, यस वर्ष अघिल्लो वर्ष भन्दा धेरै मानिसहरु आउन थालेपछि हामीले गोठमै भए पनि चिया र नास्ता बनाउन लागेका हौं ।’
थकान मेट्ने पुराना गोठ र चिया नास्ता
ढोरपाटनबाट बुकीका लागि उकालो लागेपछि पर्यटकहरुलाई थकान मेट्ने ठाउँ पनि अहिले तिनै पुराना गोठ र चिया नास्ता बनेको छ ।  बुकी पाटन पुगेका पर्यटकहरु गोठमै बस्ने र खाने गर्दा भैसीको दूध, घ्यु तथा भेडाको मासु समेत गोठमा नै खपत हुन लागेको उनी बताउँछिन । सुबित्राका श्रीमानले भेडाबाख्रा र भैसी हेर्ने र तिनको स्याहार सुसार गर्छन, उनिहरुले उत्पादन गरेको दूध, दही र महीसमेत बुकीमै खपत भएपछि आय आर्जनमा वृद्धि भएको छ ।
 बुकी क्षेत्रमै भेडाबाख्रा र भैसी पालेर गरेको आयआर्जनले पाँच जनाको परिवार धान्दै आएका छन् सुबित्राको ।  दम्पत्तीले अहिले गोठमा नै चिया नास्ताको व्यवसाय सञ्चालन गरेपछि आम्दानीको श्रोत पनि बढेको उनले बताउँछिन् । गत असारको अन्तिम साताबाट सञ्चालनमा ल्याईएको चिया नास्ता विक्रिबाट हाल सम्म झण्डै ४५ हजार रुपैयाँ कमाई भएको उनी बताउँछिन । उनीहरुको परिवारमा श्रीमान श्रीमती सहित पाँच छोरा छोरी रहेका छन ।
चरिचरनबाट पर्यटकीय गन्तव्य
चरिचरनको रुपमा रहेको बुकीपाट पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेपछि गोठालाहरु अहिले व्यवसायिक बन्दै गएका छन । यहाँ उत्पादन हुने ध्यू दुध र मोही पनि अहिले यही विक्री हुँदै गएको छ । सुबित्राको गोठमा एकै दिन १ सयदेखि डेढ सय गिलाससम्म चिया खपत भएको छ । चेप्टेढुङ्गा माथि पुरानो ढुङ्गे गोठमा उनीहरुले तीन वटा भैसी र ६० वटा बाख्रा पाल्दै आएका छन ।
पदयात्राको छेउमै गोठ भएकाले दूध, चिया बिस्कुट निकै खपत भएको उनी बताउँछिन् । बुकीमा चरेका भैसीको दूधको चिया पदयात्रीले निकै मिठो मानेर खाने गर्छन । चिसो मौसम भएका कारण अधिकाशंले दूध चिया बनाउन भन्छन यसले उनकोमा उत्पादन हुने सबै दुध यतै खपत भएको छ ।  बुकी जाने पर्यटकले प्रति गिलास चियाको १ सय रुपैयाँ लिने गर्छिन् सुबित्रा ।
एउटै गोठमा ५ देखि १० वटासम्म भैसी हुने र दुध, घिउ राम्रो उत्पादन हुने र विक्रीका लागि ढोरपाटन उपत्यका झर्नुपर्ने बाध्यता पनि अहिले टरेको बुकी पाटकमै बेडा बाख्रा र भैंसी पाल्दै आएका प्रसेन कायत बताउँछन् । ‘पहिले दुध ठेकामा राखेर दहि बनाएर ध्यू उत्पादन गरेर बेचिन्थो, मही त फालिन्थ्यो, अहिले् बुकीपाटनमा पर्यटकहरु आएपछि महीसमेत विक्री हुन्छ कायतले भने,–‘ यहाँ घुम्न आएका पर्यटक यही गोठमा बस्न आउछन्, भैसीको दूधको खिर पकाएर खुवाउँछु, गोठमै दूध, मही बिक्री भएपछि बोकेर ढोरपाटन लानै पर्दैन ।” उनले आफुले परम्परागत शैलीमा दुधबाट छुर्पि पनि उत्पादन गरेर विक्रि गर्ने गरेको बताउँछन ।
बुकी पाटन क्षेत्रमा गोठमा चिया नास्ताको पाईन्छ भने गर्पा छेडामा गोठस्टे समेट सञ्चालनमा ल्याईएको छ ।  यहाँ आउने पर्यटक गोठस्टेमा नै बसेर फर्किने गर्छन । वर्षौं अघिदेखि भेडा बाख्रा र भैंसीपालन गर्दै आएका उनीहरुले गोठालो भनेको केवल चौपायाको हेरचाह मात्र ठान्थे । उनीहरुले अब गोठको कामसँगै अन्य समयमलाई आम्दानीमा बदल्न थालेका हुन । यस क्षेत्रमा अहिले दैनिक १ सय को हाराहारीमा पर्यटक जाने गरेका छन ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर