Wednesday, April 29, 2026
बुधबार, बैशाख १६, २०८३

E-paper

कला संस्कृति

जोगी नाच जोगाउन सकस हुँदै

आइतवार, भदौ १, २०८२

संगम घर्तीमगर

अनुहार र शरिर भरी विभिन्न रङ पोतिएका छन् । धेरै जसोको जिउमा शिवलिङ्ग र सर्पको आकृति देखिन्छ । शिरमा जटा, घाँटीमा रुद्राक्ष माला, एउटा हातमा घण्ट र अर्को हातमा लठ्ठी छ । कतिको हातमा डमरु देखिन्छ । शरिरको तल्लो भागमा गेरु बस्त्र लगाएका कतिपयले हातमा कमण्डलु पनि समातेका छन् । सबै जना ढोलक र झ्यालीको तालमा ताल मिलाएर नाँच्छन् । कतिपयले जोगीले जस्तै घर घरमा पसेर भिक्षा मागिरहेका छन् । यो बागलुङमा बजारमा प्रदर्शन गरिएको लोपोन्मुख जोगी नाँचको दृश्य वर्णन हो । आज भन्दा करिब २५० वर्ष पुरानो जोगी नाच काठमाडौं उपत्यकाको भक्तपुरबाट बागलुङमा भित्र्याईएको हो । अहिले भक्तपुरमै लोप भैसकेको छ । बागलुङमा भने हरेक वर्ष यो नाँच प्रस्तुत गरिन्छ ।

यो नाँच अहिले बागलुङमा मात्रै प्रचलनमा रहेको संस्कृतिकर्मी शाक्य कल्याण समाज बागलुङका पूर्व अध्यक्ष मुकुन्द शाक्य बताउँछन् । ‘भदौरे जात्राका अन्य नाँचहरु नेवार र विशेषगरी शाक्य जाति भएको सबैजसो ठाउँमा पाईन्छ,’ उनले भने,‘यो जोगी नाँच अहिले बागलुङमा मात्रै जिवीत छ । अन्यत्र कतै पनि देख्न पाइँदैन ।’ जनैपूर्णिमादेखि कृष्ण जन्माष्टमीसम्म भदौरे नाँच अन्तर्गतका विभिन्न नृत्यहरु देखाईन्छ ।

बागलुङमा २५० वर्षको इतिहास भए पनि यो नाँचको सुरुवात कसरी भयो भन्नेबारे अझै कुनै त्यस्तो विश्वसनीय प्रमाण भेटिएको छैन । ‘यो समयबाट नै सुरुवात भएको भन्ने अहिलेसम्म एकिन छैन,’ शाक्य भन्छन्,‘पर्वतका राजाले व्यापार व्यवसाय गर्ने र विभिन्न भाँडा वर्तन बनाउने शाक्य र नेवार समुदायलाई भक्तपुरबाट ल्याएपछि बागलुङमा करिब सात पुस्ता देखि यो नाच नाँच्न थालेको सामान्य लिखतहरुमा भेटिन्छ ।’
जोगीको भेषमा नाँच्दा पनि तालमा ताल मिलाएर नाँच्नुपर्छ । ‘बाहिरबाट हेर्दा त्यसै हल्लिएको जस्तो देखिन्छ तर तालमा ताल मिलाए नाँच्नुपर्छ,’ उनले भने,‘यसको लागि पूरा तालिमको आवश्यकता पर्छ ।’ जोगीको रुप निकाल्नका सिंगार पटार गर्ने गरिन्छ । भदौरे नाँचको विभिन्न प्रकिया सकिएपछि सबै काम सकियो अब तिर्थ ब्रत गर्न जानुपर्छ भनेर जोगी नाच नाच्ने गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका राजनकुमार शाक्य बताउँछन् ।

‘बर्खायामको समयमा गर्ने सबै कामहरुलाई हामीले नृत्य मार्फत भदौरे जात्रामा देखाउँछौं,’ उनी भन्छन्,‘अब सबै काम सकियो तिर्थ ब्रतका लागि जाऔं भन्ने सन्देश स्वरुप जोगी नाँच नाँच्ने गरिएको छ । त्यसैले पनि अन्तिममा यो नाच नाँचिन्छ ।’ अहिलेको युवापुस्तामा चासो कम हुँदै गएका कारण यी संस्कृतिहरु जोगाउन कठिन हुँदै गएको उनको भनाई छ । ‘अहिले युवालाई संस्कृतिप्रति चासो र रुची छैन, त्यसले गर्दा पनि जोगाउन कठिन हुँदै गएको छ । यसलाई संरक्षण गर्नका लागि राज्यका निकायहरुले पनि चासो दिनुपर्ने बेला आएको छ,’ उनले भने ।

नेवारी समुदाय व्यापारीक घरानाको रुपमा देखिन्छ । जहाँ जहाँ व्यापार व्यवसाय फस्टाएको छ, त्यहाँ नेवारहरुको उपस्थीति प्रसस्तै छ । बर्खा सकिएको संकेत गर्दै गाउँ गाउँबाट मानिहरुलाई बजारसम्म ल्याउनका लागि यो नाँच प्रदर्शन गरिएको पाईन्छ । ‘भदौ लाग्दा गाउँघरमा सबै काम सकिएर चाडबाड आउने सुरु भएको हुन्छ,’ उनी भन्छन्,‘यो नृत्य देखाएर मानिसहरुलाई आकर्षण गर्ने र त्यसैको मेलोमा व्यापार बढ्ने भएका कारण यस्तो नचाउन सुरु भएको हो । अझै पनि गाउँघर तिर राम (मेला) हेर्न जाने भन्ने चलन छँदैछ ।’ पूर्वजहरुको धरोहरको रुपमा रहेको जोगी नाँच यहाँ पनि लोप हुने क्रममा छ । यसलाई जोगाउनका लागि आफुहरु लागि परे पनि निकै गाह्रो भैरहेको मुकुन्द शाक्य बताउँछन् ।

‘अहिलेको प्रविधिको विकासले गर्दा यसलाई जोगाउन निकै चूनौतीपूर्ण बन्दै गएको छ,’ उनी भन्छन्,‘ अहिले रमाईलो गर्ने साधन प्रसस्त भेटिए । यस प्रकार संस्कार संस्कृतिका लागि कलाकार पाउनै गाह्रो छ । पुरानो पुस्ता सकिदै जाँदा नयाँ पुस्ताले सजिलै ग्रहण नगर्दा समस्या भैरहेको छ ।’ अहिले यहाँबाट बसाई सर्ने र नयाँ युवाहरुलाई पर्याप्त तालिमको व्यवस्था गर्न नसक्दा जोगी नाँच हराउने चिन्ताले उनले सताउँछ । ‘यो बचेको बागलुङ मात्रै हो, कलाकार नभएपछि यहाँ पनि हराउने चिन्ता छ,’ उनी भन्छन्,‘म्याग्दीले केही सिको गर्न खोजिरहको छ । तालिम दिन नपाउँदा सजिलो छैन ।’

भदौरे जात्रा अन्तर्गत रोपाइँ नाचमा गित हुन्छ । अन्य प्रायजसोमा गित हुँदैन र जोगी नाँचमा पनि गित हुँदैन । क्रमशः संकटमा पर्दै पर्दै गएको मौलिक सांस्कृतिक नृत्यलाई सरोकारवालाको सहयोग पाए बचाउन सकिने उनको विश्वास छ । अहिले संस्कार जोगाउन स्वतः स्फुर्त लाग्नेहरुको जमात सकिदै गएको शाक्य कल्याण समाज बागलुङका अध्यक्ष बाबुलाल शाक्य बताउँछन् । ‘यो बेलामा त हामीले अनिवार्य भनेर उर्दी नै जारी गर्छौं र मान्छेहरु निस्कन्छन्,’उनी भन्छन्,‘नयाँ पुस्ताले यसलाई ग्रहण गर्न सकेका छैनन् । पहिले जस्तो आफ्नै स्वेच्छाले आउनेहरु छैनन् ।’

यहाँका नेवार समुदायले निकाल्ने भदौरे जात्रा अन्तर्गत लाखे नाच र जोगी नाच शाक्यहरुले निकाल्ने गर्छन् । भदौरे जात्राको अन्तिममा जोगी नाच निकालिन्छ भने लाखे नाच तीजसम्म रहन्छ । तीजमा लाखे नाचको समापनपछि जात्राहरु सकिन्छ ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर