संगम घर्तीमगर
बागलुङ,
अनुहारमा कालो मसीले दाह्री जुङ्गा बनाएका पुरुष कलाकार छन् । केही कलाकार साडी लगाएर अनुहार छोपेका, गर्भवती महिला जस्तो देखिने बनेका छन् । उनीहरुको हातमा टोकरी छ । त्यहाँ केही खुद्रा पैसा राखिएको छ । गर्भवती महिलाको भेष धारण गरेकालाई डो¥याउँदै दाह्री जुङ्गा बनाएका भुसतिघ्रेहरु घर घरमा पस्छन् । घरमा भेटिएका पुरुष जतिलाई भन्छन्,‘यो तिमीले बनाएको हो ? यसका लागि सुत्केरी खर्च लेउ ।’ भन्दै सहयोग उठाउँछन् ।
पछिपछि नेवारी बाजाको तालमा एक जना कटुवाल घोक हाल्छन् । ‘शिरीमा शरी, धौलागिरी, अक्षरमै तिरीमिरी, भोली, राजभण्डारी बाजेको, छैनामुरी खेत, रोप्नु परेकोले, घर घरबाट, गाउँ गाउँबाट, टोल टोलबाट, एक दुई जना, खेताल्नी, कोदाल्नी पठायो भने पठायो, पठाएन भने, एउटा चिचिन्डा डण्ड हुनेछ ।’ यो दृश्य हो, बागलुङ बजारमा निकालिएको भदौरे जात्रा अन्तर्गतको कटुवाल नाचको । बागलुङमा बसोबास गर्दै आएका नेवार समुदायको भदौरे जात्रा सोमबारबाट विधिवत सुरुवात भएको छ र पहिलो दिन कटुवाल नाच प्रस्तुत गरिएको छ ।
विगतमा गाउँ गाउँमा रहेको खबरीको काम गर्ने कटुवाल प्रथालाई यहाँका नेवार समुदायले भदौरे जात्राको समयमा जात्राकै रुपमा प्रस्तुत गर्ने गर्छन् । त्यसलाई रमाईलो पनि बनाउनका लागि गर्भवती महिला जस्तो व्यक्तिलाई संगै लिएर घरघरमा पुग्ने र रोपाइँको लागि खेताला खेताल्नी पठाउनका लागि निम्तो गर्ने र संगै गर्भवतीका लागि खर्च माग्ने प्रचलन छ । भदौरे जात्रा अन्तर्गत हुने रोपाइँ नाचका लागि खेताल खेताल्नी बोलाउनका लागि कटुवाल नाच प्रस्तुत गरिने गरिएको यसका जानकार युवराज राजभण्डारी बताउँछन् ।
‘भोली रोपाइँ हुन्छ, रोपाइँका लागि अनिवार्य रुपमा घर घरबाट खेताल्नी कोदाल्नी पठाउनु भनेर खबर पु¥याउने काम कटुवाल नाचबाट हुन्छ,’उनी भन्छन्,‘त्यसलाई अझ रमाईलो र आकर्षक बनाउनका लागि कुटवाल्नीलाई गर्भवती जस्तो बनाउने र यो गर्भ तिम्रो हो यसका लागि खर्च लेउ भनेर घरधनीसंग पैसा माग्ने पनि गरिन्छ ।’ जात्रालाई आकर्षक बनाउने र सहभागी कलाकारलाई खाजा खुवाउनका लागि सहयोज जुटाउने काम पनि त्यसबाट हुने उनी बताउँछन् ।
‘जनैपूर्णिमाको भोलीपल्टदेखि तीजसम्मै हाम्रा जात्राहरु चल्छन्,’उनले भने,‘त्यसमा सहभागी हुने कलाकारहरुका लागि खाजा खर्च जुटाउने मेसो पनि हो । पुर्खादेखि चल्दै आएको परम्परा जोगाउने प्रयास पनि हो ।’ नेवार युवाहरुको संस्था नेवा ल्याम्ह पुचले भदौरे जात्रामा विशेष ध्यान दिने थालेको छ । युवापंक्ती यसबाट विमुख हुँदै जान थालेपछि जात्रा नै हराउने चिन्ताले सक्रियता बढाउने प्रयासमा लागेको नेवा ल्याम्ह पुच बागलुङका अध्यक्ष जय राजभण्डारी बताउँछन् ।
‘पुराना पुस्ताहरुले जात्रा निकाल्न नसक्ने अवस्था हुने र नयाँ पुस्ताले ध्यान नदिने हुँदा हाम्रो संस्कार नै हराउने अवस्था आउने जस्तो देखिएपछि हामीले अलि सक्रियता देखाउन थालेका छौं,’उनले भने,‘युवालाई यहाँ राख्न नै सबैभन्दा ठूलो समस्या छ । किशोर अवस्थामा जिल्ला र देश छोड्ने चलनले समस्या आईरहेको छ ।’ नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष जयराम भारीले गाईजात्रापछि १२ दिनसम्म विभिन्न जात्राहरु प्रस्तुत गरिने बताए ।
‘गाईजात्राको कार्यक्रमसंगै बास्सा नाच र गोरु जात्रा पहिलो दिनमै देखाईयो, गाईजात्राको भोलिपल्टबाट विधिवत रुपमा भदौरे जात्रा सुरु हुन्छ,’उनले भने,‘विभिन्न दिनमा फरक फरक जात्रा निकाल्छौं । अब भदौ ११ गतेसम्म हाम्रा विभिन्न जात्राहरु सञ्चालन हुनेछन् ।’ भदौरे जात्रामा रोपाइँ नाच, जोगी नाच, घोडा नाच, लाखे नाच लगायतका विभिन्न सांस्कृतिक नाच र जात्राहरु प्रस्तुत गरिन्छ ।
अहिले भन्दा तीन वर्ष अगाडि भक्तपुर बनेपाबाट बागलुङमा विभिन्न पेशा व्यवसाय गर्न आएका नेवार समुदायले आफुसंगै लिएर आएका जात्राहरु अझै पनि चलनचल्तीमा रहेको नेवारी संस्कृतिका जानकार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य प्रेम छोटा बताउँछन् । ‘तीन सय वर्ष पहिले काठमाडौं उपत्यको भक्तपुर र बनेपाबाट नेवारहरु यहाँ आएको भन्ने इतिहास छ,’उनले भने,‘त्यतिबेला उनीहरुले संगै लिएर आएको संस्कृति अहिले पनि चलनमा छ । युवा पुस्तमा हस्तान्तरण हुन नसक्दा कतिपय जात्राहरु भने हराएका छन् ।’
विगतमा भदौरे जात्रा हेर्नका लागि गाउँ गाउँबाट मानिसहरु आएर घुइँचो हुने गरे पनि अहिले यो चलन हराउँदै गएको उनी बताउँछन् । ‘नेवारी समुदाय भनेको विशेषगरी व्यापार व्यवसाय गर्ने समुदाय हो, गाउँ गाउँमा काम सकिएपछि जात्रा लगाउँदा मानिसहरु जात्रा हेर्न आउने र किनमेल गर्ने व्यापार बढ्ने गरेका कारण पनि यो जात्रा यतिखेर निकाल्न सुरु गरेको हुनुपर्छ,’उनले भने,‘पहिले पहिले धेरै जात्रा हुन्थ्यो ।
नागनागिनी लगायतका केही जात्राहरु त अहिले हराईसकेका छन् । हेर्न आउनेहरुको संख्या पनि छैन । परम्परा धान्ने मात्रै काम भैरहेको छ ।’ संस्कार संस्कृति जोगाउने कुरा अब निश्चीत समुदायको मात्रै हातमा नभएको भन्दै उनले राज्यको लगानी आवश्यक भएको बताए ।
टिप्पणी गर्नुहोस्