Thursday, April 30, 2026
बिहिबार, बैशाख १७, २०८३

E-paper

पर्यटन

आन्तरिक पर्यटनको नयाँ ‘हटस्पट’ ढोरपाटन

बिहिबार, साउन २२, २०८२
नारायण रिजाल
बागलुङ : मध्यबर्खा, रिमझिम पानी, उकालो र चिप्लो कच्ची सडक, मोटरसाईकल, पिकअप जिप र स्कर्पियोको कष्टकर यात्रा । बागलुङको बुर्तिबाङ बजारदेखि ३६ किलोमिटरको कच्ची सडक झण्डै सवा दुई घण्टाको उकालोको यात्रापछि ढोरपाटन छिर्ने नाकाको रूपमा रहेको देउराली पुगिन्छ । देउराली डाँडामा नाउर र झारलको स्तम्भले ढोरपाटनमा स्वागत गरिरहेका छन । यहाँबाट विभिन्न रंङले फुलेका बुकी र मनोरम समथर मैदान देखिन्छ । यही प्राकृतिक मनोरम दृश्य ढोरपाटन शिकार आरक्ष क्षेत्रको दृश्यले यहाँ आउने पर्यटकलाई उकालोमा जाँदाको थक(ाननै मेटाइदिन्छ ।
ढोरपाटन पर्यटनको गज्जब गन्तव्यको रूपमा विकास भएको छ । त्यहाँ पुगेपछि सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रूपमा बनेका घर–गोठहरू र घोडचडीले पर्यटकको मन लोभ्याउँछ । बागलुङ, म्याग्दी र रुकुमको संगमस्थलमा फैलिएको आरक्ष क्षेत्र  आन्तरिक पर्यटनको ‘हटस्पट’ बन्दै गएको छ ।
नेपालको एक मात्र सिकार आरक्षको रूपमा रहेको ढोरपाटन क्षेत्रमा रहेका उत्तरगंगा, ढोरबराह, बुकीपाटन, जलजला, गुम्बा, गर्पाछेडा लेक, भेडीगोठ यहाँको प्राकृतिक सौन्दर्यका कारण ढोरपाटन आन्तरिक तथा बाह्य पर्यटकको ‘हटस्पट’ बन्दै गएको हो । विशेष गरी असार देखी भदौ सम्म फुल्ने विभिन्न रङका बुकी, गर्पाछेडा लेक, बुकीपाटन, टिकाधारा क्षेत्रमा देखिने सौन्दर्यताले वर्खामा पनि पर्यटकलाई लोभ्याएको छ । अहिले ढोरपाटन क्षेत्रमा दैनिक ३ सयको हाराहारीमा पर्यटक पुग्ने गरेका छन ।
फूलसँग रमाउँदै पर्यटक 
वर्षमा दुई सिजन सिकार खेल्ने क्षेत्र जैविक विविधता र संरक्षणकै सन्दर्भमा मात्र परिचित यो गन्तव्य अहिले यहाँ फुल्ने बुकी फुल हेर्नकै निम्ती र घुम्नकै निम्ती युवा युवती देखी पाका पुस्तासँगै प्राकृतिक प्रेमीहरू र पदयात्रा रोज्नेहरूको रोजाइमा पर्न थालेको छ ।
स्थानीयले राके फूलका रुपमा चिन्ने वनफूललाई सिकार आरक्षले नाकेफुली, बुकीफूल, मदानेफूल लगायतको नाम दिएको छ । फूलसँग रमाउने पर्यटकले ढोरपाटन उपत्यकाका फाँटहरुमा चहलपहल बढेको छ ।
चिप्लो बाटो, यादगार क्षण
सामाजिक संजालमा ढोरपाटनको घोडा चढ्ने र फूलहरुसँग रमाउने गरेको देखेपछि साउने झरीको प्रवाह नै नगरी परिवार सहित ढोरपाटन पुगेका बुटबलका अस्मित केसी ढोरपाटन घुम्न आउनेका लागि गज्जबको गन्तव्य भएको बताउँछन । विगतमा ढोरपाटन पुगेपछि उपत्यका मात्र घुमेर फर्किने पर्यटक यस वर्ष  बुकी, फागुनेधुरी र जलजला समेत पुगेका छन् ।
‘मैले सुनेको ढोरपाटन त उपत्यका मात्रै भन्ने थाहा थियो, मलाई पनि यही लाग्थो । गुर्जाघाट, जलजला र बुकीपाट झनै रमणीय रहेछन् । हामी गर्पा छेडा हुँदै बुकी पाटन पुग्यौँ,’ उनले भने, ‘बुकी पुग्नका लागि झण्डै ४ घण्टा लाग्यो, एक दिन माथि गोठस्टेमा नै बस्यौं, बाटो चिप्लो थियो तर ती क्षण यादगार बनेका छन ।
सामाजिक सञ्जालले बढायो पर्यटक
पछिल्ला केही वर्षमा सामाजिक सञ्जालमा ’ढोरपाटन यात्रा’, ’ढोरपाटन ट्रेक’, ‘आहा ढोरपाटन !’ जस्ता ह्यासट्यागहरू देखिन थालेका छन् । बुकीफूल, गोडा चढ्ने रमाउने, भेडाको बथान, गोठ र समथर मैदानका फोटोहरूले धेरैको मन लोभ्याएको छ । घुमफिरलाई ‘लाइफस्टाइल’ बनाएका युवाहरूको उत्साहले ढोरपाटन चर्चामा आएको बागलुङ बजार देखी ढोरपाटन घुम्न गएका बालकृष्ण शर्मा बताउँछन । उनी भन्छन् ढोरपाटन पुग्न सजिलो छैन । तर एकपटक पुग्ने जो–कोही भन्छन्, “यात्रा कठिन हो, तर गन्तव्य अद्वितीय छ ।” यहाँ देखिने दृश्यहरूले यात्रा केवल घुमफिर नभई नयाँ अनुभव पनि प्रदान गरेको े शर्मा बताउँछन ।
होटल तथा होमस्टे व्यवसाय फस्टाउदै 
ढोरपाटन आउने पर्यटकको संख्या बढेपछि यस क्षेत्रमा संचालित होटल व्यवसाय समेत फस्टाउन थालेको छ । ‘दुई वर्ष पहिले यहाँ आउने पर्यटक पाटनको बुकी हेर्ने जाने गर्थे, अहिले माथि बुकीपाटन, जलजला क्षेत्रमा जान लागेपछि घरबास र होटल व्यवसाय पनि फस्टाउन थालेको छ पाखाथर होमस्टेका सञ्चालक सीता बुढा मगर भन्छिन्–‘हरेक पर्यटकको ध्यान पाटनभरी फुलेका फूलले खिच्ने गरेको छ भने बुकीपाटन जलजला निसिलढोर जाने पर्यटक एक रात यहाँ बस्ने गरी आउने गरेका छन । यसले यहाँको होटल र होमस्टेको आम्दानी पनि बढेको छ ।
पछिल्लो समय ढोरपाटनमा घुम्न आउने पर्यटकको संख्या अत्याधिक बढेको भन्दै फुलसँग रमाउने बढी भएको बुढामगर बताउँछिन । पहिले खान बस्नका लागि सुविधा नहुँदा पर्यटक कम आउने गरेको स्मरण गर्दै अहिले धेरै होटल तथा घरबास (होम–स्टे) सञ्चालनमा आएपछि ढोरपाटन घुम्नेहरुका लागि पहिलो रोजाई परेको घर्ती मगर बताउँछिन । बुकी फूललाई पर्यटकले अत्याधिक रुचाएपछि त्यसको संरक्षणमा ध्यान दिनुपर्ने सीताको भनाई छ । होटल तथा होमस्टेमा झण्डै ३५० जनालाई राख्न सक्ने क्षमता रहेको व्यवसायीहरु बताउँछन ।
दैनिक तीन सय बढी पर्यटक
विदाको फुर्सदमा देशका विभिन्न जिल्लाबाट दैनिक  तीन सय आन्तरिक पर्यटक ढोरपाटन भ्रमणमा आएको ढोरपाटन सिकार आरक्षको तथ्याङ्कमा रहेको छ । यहाँ आउने पर्यटकको पहिलो रोजाइ पाटन क्षेत्रमा फुल्ने बुकी फूल घोडामा चढ्ने, ढोरबराह मन्दिर रहेको शिकार आरक्षका संरक्षण अधिकृत  पशुपति अधिकारी बताउँछन । ‘विगत केही वर्षदेखि बर्खायाममा पनि पर्यटक आउने गरेका छन गत वर्षदेखि गर्पाछेडा, बुकी क्षेत्रमा पनि पदम(ार्ग बनेसँगै पर्यटक झनै बढ्दै गएका छन अधिकारीले भने,–‘यसका साथै आरक्षणमा रहेको संग्रहालय हेर्ने पर्यटक पनि बढ्दै गएका छन । संग्रहालयमा आरक्ष क्षेत्रमा पाइने वन्यजन्तुबारे जानकारी सहित विभिन्न जनावर र पशुपन्छीको छालासमेत राखिएको छ ।’
वर्षमा २३ हजार पर्यटक
आ.व. २०८१÷०८२ मा ढोरपाटन क्षेत्रमा २३ हजार ९६२ पर्यटक आएका छन । यसमा २३ हजार ४६७ जना नेपाली रहेका छन् भने १२ जना सार्क राष्ट्र र २१३ जना विदेशी रहेको संरक्षण अधिकृत अधिकारीले जानकारी दिए । ढोरपाटन छिर्नका निम्ति नेपाली पर्यटकलाई सय रुपैयाँ, सार्क राष्ट्रका विदेशी पर्यटकलाई एक हजार पाँच सय र अन्य राष्ट्रका विदेशी पर्यटकलाई तीन हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
धार्मिक रूपमा महत्वपूर्ण
पर्यटकीय गन्तव्यसँगै धार्मिक रूपमा पनि परिचित ढोरपाटनमा ढोरबराह मन्दिर, उत्तरगंगा, रुद्रताल, छेन्टुङ गुम्बा लगायत मठमन्दिर रहेका छन् । जनैपूर्णिमा, शिवरात्री लगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भिड लाग्छ । ढोरपाटन आरक्षको हेटक्वार्टरबाट तीन किलोमिटर पूर्वमा रहेको छेन्टुङ गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को आकर्षण हो । तिब्बती शरणार्थीका जनजीवन, संस्कृति र रहन सहन बुझ्न छेन्टुङ पुग्नै पर्ने गन्तव्य हो । यसैगरी, यहाँ आउने अधिकांश पर्यटकको रोजाइमा घोडचडी पनि पर्छ ।
घोडचढीको मजा 
उपत्यका क्षेत्रमा घोडामा घुमेको प्रतिव्यक्ति दुई सयदेखि ५ सय रुपैयाँ तिर्नुपर्दछ । अहिले पर्यटकको संख्या बढेसँगै व्यावसायिक रूपमा घोडापालन गर्नेको पनि राम्रै आम्दानी भएको छ । दैनिक २०–२२ जनालाई घुमाउने गरेको घोडा चालक फाजेन्दै वि.क बताउँछन् । यस क्षेत्रमा मात्रै ६० देखी ७० वटा घोडा रहेको उनले बताए ।
जलजला र बुकीको मोहनी
उपत्यका क्षेत्रमा पर्यटक पुरानो हवाईमैदान, उत्तरगंगा, स्यालपाखे, नबी र तिब्बती शरणार्थी क्याम्पसम्म घुम्ने गर्छन । त्यसका साथै गर्पाछेडा, बुकी पाटन गुर्जाघाट, जलजला, फागुने धुरी, निशेलढोर, चौरीखर्क लगायतका क्षेत्र झनै रमणीय रहेका छन ।
ढोरपाटन क्षेत्रको जलजला, बुकी क्षेत्र भेडाबाख्रा, गाईभंैसी चरण क्षेत्रको रूपमा पनि परिचित छ । यहाँ परम्परागत रूपमा बनेका गोठ छन् । ढोरपाटनका गोठालाहरू वर्षायाम सुरु हुनुअघि नै गाईवस्तु धपाउँदै लेकतर्फ उक्लन्छन् । यसैलाई रैथाने भाषामा ‘बुकी उक्लनु’ भनिन्छ ।  वैशाखमा लेकतिर उक्लिएका गोठालाहरू असोजमा मात्र ढोरपाटन फर्कन्छन् । यहाँ पुग्दा पुरानो परम्परालाई नजिकबाट नियाल्न पाइने ढोरपाटन नगरपालिकाका कार्यबाहक नगरप्रमुख धनबहादुर कायत कल्याण बताउँछन् ।
कसरी पुग्ने ढोरपाटन ?
रुकुम पूर्व, म्याग्दी र बागलुङ गरी तीन जिल्लाको एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन नगरपालिका– ९ मा छ । पोखराबाट मध्यपहाडी लोकमार्ग पछ्याउँदै बस, गाडी वा बाइकमा बागलुङ सदरमुकाम हुँदै झन्डै चार घन्टामा बुर्तिबाङ पुगिन्छ । बुर्तिबाङबाट लोकमार्गलाई छाडेर अधिकारीचौर, बोबाङ हुँदै ३६ किलोमिटर कच्ची सडकमा जिप, बाइक वा बस मार्फत झण्डै दुई घन्टाको  यात्रा बाट ढोरपाटन पुग्न सकिन्छ ।  पोखराबाट विभिन्न ट्राभल्स एजेन्सीले पनि प्याकेजमा नै ढोरपाटन लैजाने गर्दछन ।
ढोरपाटन पुगेपछि गुर्जाघाट हुँदै जलजला पुग्न थप २२ किलोमिटरको कच्ची सडक छ । उत्तरगंगा नदी किनार हुँदै जलजला पुगेपछि नजिकबाट दर्जनौँ हिमशृङ्खला नियाल्न सकिन्छ ।  बुकी पुग्न भने ५ घण्टाको पैदल यात्रा गर्नुपर्छ । समुद्री सतहबाट दुई हजार आठ सय ५० मिटरदेखि पाँच हजार पाँच सय मिटर उचाइमा रहेको यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । दुर्लभ एवं संरक्षित पंक्षीको सूचीमा परेका डाँफे, मुनाल, चिरसहित एक सय ६४ प्रजातिका चरा पाइने यस क्षेत्रमा पुथा, चुरेन र गुर्जा हिमाल पनि रहेका छन ्।
हिउँदमा यहाँको सेता ढिस्को, बर्खामा हरियाली र फूलहरूको बहार, अनि कहिलेकाहीँ देखिने जंगली जनावर – यी सबैले ढोरपाटनलाई मनोहर बनाउँछ । ढोरपाटन अब ओझेलको गन्तव्य होइन । साँच्चिकै ‘हटस्पट’ बन्ने दिशामा उन्मुख छ — तर त्यो स्वाभाविक सौन्दर्यको भरमा मात्र हैन । प्रचार, पूर्वाधार, योजना, र स्थानीय संलग्नताको समन्वय भएमा मात्र यो गन्तव्य दीगो पर्यटनको नमूना बन्न सक्छ । अब त्यो उत्साह टिकाउने दायित्व सबैको हो ।

टिप्पणीहरू (१)

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

  1. 88online4 शनिबार, माघ १७, २०८२ मा ०४:५५ बिहान बजे

    88online4 is on deck! I love how accessible the interface has being developed. Gonna make myself a cup of coffee and start winning! Come on, let’s explore 88online4 together!

U

सम्बन्धित खबर