बागलुङ : बागलुङको बडिगाड गाउँपालिकालाई पाँच थान डायलासिस उपकरण प्राप्त भएको छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले एक करोड एक लाख बराबरको पाँच थान डाइलाइसिस गर्ने उपकरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाबाट बडिगाडको अस्पतालमा आइपुगेको बताईन् । बडिगाडको ग्वालिचौरमा रु १८ करोड लागतमा निर्माण भएको अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्ने तयारी भएको अध्यक्ष अधिकारीले बताईन् ।
डाइलाइसिस सेवा सञ्चालनको लागि संघीय सरकारले आवश्यक सम्पूर्ण उपकरणहरु सहयोग गरेको र पालिकामा आईपुगेकाले कार्तिकबाट सेवा सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिईन् । लामो र अथक प्रयासपछि सेवा सञ्चालन गर्न सफल भएको अध्यक्ष अधिकारीको भनाई छ । यसका लागि सहयोग गर्ने नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल, गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ लगायत प्रति अधिकारीले धन्यवाद दिईन् ।
यस अगाडी मृगौला बिरामी डायलासिस सेवाका लागि बागलुङ, पोखरा, बुटबल लगायतका सहरहरुमा जानुपर्ने बाध्यताकाबीच यो सेवा बडिगाडमै सञ्चालनमा आएसँगै बडिगाडसँगै, गलकोट, ढोरपाटन, निसीखोला, तमानखोला, गुल्मी जिल्लाका केही स्थानीय तहका नागरिकहरुले सेवा लिन सक्नेछन् । बडिगाडमा गाउँपालिकामा डायलासिस सेवा सञ्चालनका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीबीच सम्झौता भएको छ ।
टिप्पणी गर्नुहोस्