विश्वभरका मानिसलाई एकआपसमा जोडानुका साथै सूचना कुराकानी अनुभव विचार तस्बिर सामग्री समाचार भिडियो आदानप्रदान गर्ने माध्यम सामाजिक सञ्जाल हो । फेसबुक टिकटक ट्विटर व्हाटसब म्यासेन्जर टेलिग्राम युटुब भाइबर आदि सामाजिक सञ्जालका प्रमुख एप हुन।मानव सभ्यताको विकास को सुरुवात भएसँगै हाम्रो पुर्खाले ओडारको भित्तामा ढुङ्गामा संकेत वा चित्र कोरेर ढुङ्गा वा काठ बजाएर ठूलो आवाज निकालेर बोलाउने धेरै टाढासम्म देखिने गरी आगो बाली धुवा निकालेर सूचना तथा सञ्चार प्रविधिको उपयोग गर्न सुरुवात गरे फलफुल झार्न पातले कुवाको पानी उभाएर खान र रिस उठेको बेला ढुङ्गा टिपेर हिर्काउन थालेदेखि नै मानब समाजको विकासमा सूचना प्रविधिले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
मानव समाजको विकासक्रमसँगै बिस्तारै हुलाक सेवा टेलिफोन सेवा टेलिभिजन रेडियो पत्रपत्रिका को विकासले सूचना तथा सञ्चारको क्षेत्रमा फड्को मार्यो। नेपाली समाज पनि सूचना तथा सञ्चारको क्षेत्रमा छोटो समयमा द्रुत गतिमा विकास भएको देखिन्छ। इन्टरनेटको आविष्कारले वर्तमान विश्वलाई एउटा सानो गाउँ जस्तो बनाएको छ। कुनै पनि समाज कति विकसित छ भन्ने कुरा त्यो समाजका सदस्यहरूले कति मात्रामा ज्ञान र सूचनालाई उपयोग गर्छ भन्ने कुराले जनाउँछ ।
विकसित मुलुकले सामाजिक सञ्जालको प्रयोग शिक्षा स्वास्थ्य कृषि, पर्यटन उद्योग व्यापार सूचना आदानप्रदान सकारात्मक सोचको विकास ,जनचेतना फैलाउन तथा समाज र देशको आर्थिक सामाजिक राजनैतिक सांस्कृतिक विकास र सामाजिक रूपान्तरणमा प्रयोग गरेका छन् हामीले पनि यसको सही सदुपयोग गर्न सके मात्र हाम्रो विकास अनि समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा हुन सक्छ उदाहरणको लागि किसानले आफ्नो उत्पादन विश्व बजारमा पुर्याउनको लागि विद्यार्थीले संसारभरिका नविनतम ज्ञान हासिल गर्न शिक्षकले उत्कृष्ट शिक्षण विधि पत्ता लगाउन जेन्जी र जेनवाई पुस्ताका युवा युवतीहरूले नयाँ नयाँ ज्ञान सिक्न अनलाइन मिटिङ गरी संसारभरिका राम्रा कुरा सिकेर आफन्त तथा साथीभाई वा विभिन्न क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरी प्राप्त निष्कर्षलाई व्यवहारमा उतार्न सकेमा सामाजिक सञ्जालको प्रयोगले फाइदै फाइदा हुन सक्छ।
आफूले उत्पादन गरेका सामग्रीहरू घरमै बसेर बिक्री गर्नको लागि र आफूलाई आवश्यक परेका सामग्रीहरु घरदैलोमै अनलाइनबाट उपलब्ध गराउन आफ्ना कला, क्षमता विचार प्रस्तुत गर्न बिजुली पानी लगायतका तिर्नुपर्ने किस्ताहरू घरमै बसेर तिर्न कला संस्कृति भेषभुषा भाषा आदिको जानकारी दिई संस्कृतिको विकास गर्न पर्यटकीय ठाउँहरूको प्रचारप्रसार गर्नका लागि हामीलाई सामाजिक सञ्जालले सहयोग पु¥याउँछ ।
सामाजिक सञ्जालको प्रयोग होसियार भएर सही तरिकाले गर्ने हो भने विश्व बजारमा आएका नयाँ नयाँ प्रविधि र ज्ञान तथा शिप हासिल गरी अधिकतम फाइदा लिनुका साथै अन्तर्राष्ट्रिय स्तरमा व्यापार व्यवसाय बढाउन रोजगारी सिर्जना गर्न अन्तर्राष्ट्रिय स्तरमा हाम्रो हैसियत स्थापित गर्न सकिनेमा आशावादी हुन सकिन्छ।कम्प्युटर वा मोबाइलमा इन्टरनेट जडान गरी आफूले सिर्जना गरेका विचार डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यम सामाजिक सञ्जाल हो। फेसबुक, युट्युब,मेसेन्जर ,भाइबर आजको समाजमा संसारभर लोकप्रिय छन्।
यसको प्रयोगकर्ताहरू दिनदिनै बढ्दै गइरहेका छन्। मानिसले जुनसुकै समयमा घरमै बसेर सजिलैसँग प्रयोग गर्न सकिने भएकाले यसको प्रयोग बढ्दै गइरहेको छ। एक वर्षको सानो बच्चादेखि ८४ पूजा गरेका वृद्धावृद्धाहरू समेत सामाजिक सञ्जालमा रमाइरहेको पाइन्छ। फलेवास नगरपालिका ३ शंकर पोखरीमा बस्ने ८५ वर्षीय नारायण दत्त जैसीले भन्नुभयो भन्नुभयो घरमा कोही छैनन् छोरा बुहारी नातिनातिना विदेशमा गए। उतै कार्ड अनि घर बनाएर बसेका छन् म युट्युबमा रामायण महाभारत र धार्मिक पुराण सुन्छु। दिन बितेको थाहै हुँदैन बेलुका छोरा बुहारीसँग भिडियो कलमा कुराकानी हुन्छ।
मेरो असल साथी सामाजिक सञ्जाल भएको छ। हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छ। सामाजिक सञ्जालको पनि सही सदुपयोग गर्न सकेमा जीवन सफल बन्छ भने दुरुपयोग भएमा मानव जीवन बर्बाद हुन सक्छ। विशेषगरी नेपालमा सामाजिक सञ्जालको प्रयोग घुमघामका फोटा पोस्ट गर्न जन्मदिन विवाह व्रतबन्ध पूजापाठ आदिका तस्बिरहरू सार्वजनिक गर्नका लागि बढी प्रयोगमा आउने गरेको पाइन्छ ।
जतिबेला पनि सामाजिक सञ्जालमा झुम्मिने क्रम बढ्दै गएको सन्दर्भमा मानिस अल्छी हुँदै गएका छन् भने एक्लै रमाउने प्रवृत्तिले मानिस एकल काटे हुँदा समाजमा अर्मपर्म सामूहिक भावना हराउँदै जानुका साथै सामाजिक सञ्जालको दुरुपयोगले समाजमा झैझगडा आत्महत्या हत्या हिंसा सम्बन्ध विच्छेद जस्ता घटनाहरू बढ्नुका साथै विद्यार्थीको शिक्षा को अवस्था खस्किँदै गइरहेको छ भने स्वास्थ्यमा पनि समस्याहरू देखिनुका साथै महत्वपूर्ण समय खेर गइरहेको छ।
सामाजिक सञ्जाललाई आफ्नो निहित स्वार्थ ,मनोरञ्जन ,शुभकामना र तस्बिर पोस्ट गर्नका लागि मात्र प्रयोग नगरौँ। यसमा खर्च हुने समय उत्पादन र नविन सिर्जनात्मक र रचनात्मक कार्यमा उपयोग गरौँ सञ्जाललाई आफ्ना विचार ,भावना ,अनुभव ,आदानप्रदान गर्न प्रयोग गरौँ। नयाँ प्रविधि र सिकाई प्राप्त गर्न आफ्नो लगनशीलता र कार्यमा उत्कृष्टता हासिल गर्न र समाजको हितमा यसको प्रयोग गरौं। सामाजिक सञ्जालमा राखिने सामग्री पनि कम्तीमा सामाजिक हुन जरुरी छ। तपाईं हामीले राख्ने सामग्री कतिको समाजले मन पराउँछ घर परिवारसँगै बसेर हेर्न सकिने छन् कि छैनन्, हामीले राखेका सामग्रीले बाल मनोविज्ञानमा कस्तो प्रभाव पार्छ भन्ने कुरा सोचेर समाजलाई फाइदा हुने र कसैलाई पनि असर नगर्ने खालका सामग्री मात्र राख्नुपर्छ।
हाम्रो जीवनलाई सामाजिक सञ्जालले सहज बनाएको छ तर थप जटिलता पनि सिर्जना गरेको देखिन्छ। आजकल केटाकेटी पढाइमा भन्दा मोबाइलमा रमाउने गेम खेल्ने गर्दा सिर्जनात्मक क्षमता कमजोर हुनुका साथै नतिजा पनि खस्किँदै गइरहेको छ। प्रायजसो नतिजामा लगभग आदिभन्दा विद्यार्थी असफल हुनु मा सामाजिक सञ्जालको दुरुपयोग प्रमुख कारणको रुपमा रहेको शिक्षाविदहरूको भनाइ छ। सानो बच्चा हरेक दिन मोबाइल हेर्न खोज्ने र मोबाइल नदिए खाना पनि नखाने हाल बाग्लुङ नगरपालिका ५ मालिका निवासी राधिका रिजाल बताउनुभयो। केटाकेटी मात्र होइन युवा युवती पनि राम्रैसँग बिग्रेको पाइन्छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा विभिन्न अपराधिक घटना भ्रम गलत सूचना र हल्ला फैलाउने जथाभावी कमेन्ट गर्ने स्टाटस लेख्ने नाङ्गो फोटो अपलोड गर्ने धम्क्याउने फोटो तोडमोड गरी जनावरको जस्तो तस्बिर बनाउने चरित्र हत्या हुने खालका विभिन्न गतिविधि भइरहेका समाचारहरू दिनदिनै आइरहेका छन् जसले गर्दा झैझगडा आत्महत्या सम्बन्धविच्छेद जस्ता घटना नेपाली समाजमा बढ्दै गइरहेको देखिन्छ सिर्जनात्मक र रचनात्मक कार्यमा लाग्नुपर्ने युवा युवती केटाकेटी र सामाजिक काममा भन्दा पनि सामाजिक सञ्जालमा बढी व्यस्त हुँदा महत्त्वपूर्ण समय खेर गइरहेको छ।
मानिसहरुले आफ्नो कामधन्दा भुलेर जतिखेर पनि सामाजिक सञ्जालमा समय दिँदा शारीरिक र मानसिक समस्याहरु देखिन थालेका छन् भने खेलकुद सामाजिक क्रियाकलाप सहभागिता अर्मपर्म दुःख सुखमा सहयोग सामाजिक र सामूहिक भावना मेलमिलाप कम हुँदै गएको छ। मानिस एक्लै कमाउने एक्लै रमाउने सामान्यतया कोठाभन्दा बाहिर ननिस्किने समाजमा सामाजिकीकरण हुन नखोज्ने समस्या देखिन थालेको छ।आजकल समाजमा वृद्धाहरू समेत मन्दिर जाने भजन किर्तन गर्ने ओल्लो घर पल्लो घरका बुढाबुढी जम्मा भएर गफगाफ गर्ने चौतारी मा जम्मा भएर गफगाफ गर्ने हाम्रो पुरानो संस्कृति पनि हराउँदै गएको छ।
सूचना प्रविधि र सञ्चारको कारण आज संसार एउटा गाउँ जस्तै बन्दै गइरहेको छ। हरेक मानिस एउटा कोठामा बसेर एकै छिनमा संसारभरिका घटना तथा गतिविधिको जानकारी लिनुका साथै महत्वपूर्ण कागजात फोटो एवं भिडियो तुरुन्तै आदानप्रदान गर्न सकिने कुनै पनि घटनाको प्रत्यक्ष प्रसारण गर्न सकिने घरमै बसेर अनलाइनबाट सामान खरिद बिक्री गर्न सकिने भएकाले सामाजिक सञ्जालको सही सदुपयोग गरेमा यो मानव जीवनकै लागि वरदान साबित हुन सक्ने भएकाले यसको सही प्रयोग गर्न आवश्यक छ। सकारात्मक र नकारात्मक दुवै पक्षलाई राम्ररी बुझेर आफ्नो जीवन जिउनको लागि आवश्यक पर्ने कुराहरूमा सन्तुलन कायम राखेर सामाजिक सञ्जालको प्रयोग गरौं।
लेखक रिजाल नेपाल शिक्षक संघ बागलुङ नगर समिति अध्यक्ष हुन् ।
टिप्पणी गर्नुहोस्