Wednesday, February 11, 2026
बुधबार, माघ २८, २०८२

E-paper

विचार

काठमा आधारित परम्परागत नेपाली कला र वास्तुकलाको पहिचान

सोमवार, पुस १४, २०८२

लालबहादुर नेपाली

नेपालका गाउँहरूमा काठको परम्परागत डिजाइनका तरिकाहरू जीवित सांस्कृतिक सम्पदाका रूपमा रहेका छन्, जसले परम्परागत र आधुनिक नेपाली जीवनशैलीलाई प्रकृति, विश्वास प्रणाली, सामाजिक, सांस्कृतिक रहनसहन र पुख्र्यौली ज्ञानसँग जोड्छन् । शताब्दीयौँ देखि पहाड, हिमाल, उपत्यका र तराईका ग्रामीण समुदायहरूले घर निर्माण, औजार बनाउने, घरेलु सामग्री तयार गर्ने तथा कलात्मक र आध्यात्मिक मूल्य अभिव्यक्त गर्न काठलाई मुख्य सामग्रीका रूपमा प्रयोग गर्दै आएका छन् र अधिकांश आधुनिक वास्तुकलाहरु पनि परम्परगत वास्तुशास्त्रमा आधारित रहेर डिजाइन गरिएका छन् भने धर्म अनुसारका मठ मन्दिर, गुम्वा, चैत्य, मस्जिदहरु र अन्य संरचनाहरु समुदायमा प्रचलनमा रहेका छन् भने धार्मिक मान्यता अनुसारका काठका ढोका तथा झ्याल र सजावटका सामाग्रीहरु पनि ।

गाउँहरूमा काठको प्रयोग कहिल्यै पनि अनियमित वा केवल सजावटी मात्र थिएन यो जलवायु, स्रोतको उपलब्धता र सामाजिक आवश्यकताहरूको सूक्ष्म अवलोकनबाट विकसित भएको हो र थियो । यस दीर्घ परम्पराले आधुनिक प्रविधि बिना नै गाउँलेहरूले वनसँग सन्तुलित सम्बन्ध विकास गरी काठलाई उपयोगी र अर्थपूर्ण रूप दिन सकेको कुरा देखाउँछ ।

पहिलेको समयमा अधिकांश गाउँहरू वन क्षेत्र नजिकै रहेका कारण काठ सजिलै उपलब्ध हुन्थ्यो र नेपाली समाज होस् अन्य कुनै पनि समाज जहाँ प्राकृतिक स्रोतहरुको प्रचुर मात्रा उपलब्ध थियो त्यही क्षेत्रमा बसोवास गरेको गरेको पाइन्छ । गाउँलेहरू विभिन्न जातका रुखहरूको बल, टिकाउपन, बनावट तथा किराफट्याङ्ग्रा र चिस्यान प्रतिरोध क्षमताबारे गहिरो ज्ञान राख्थे । साल, सिसौ, चिलाउने, उत्तिस, सल्ला र चम्पा जस्ता काठहरू क्षेत्र र प्रयोजनअनुसार सामान्य रूपमा प्रयोग गरिन्थे र अहिले पनि प्रचलन छ । साल र सिसौ, ढाल्ने, दरमाज, काफ्ले, धरिस, खर्सु, रुइस्, गिठी, सिरमु जस्ता कडा काठ खम्बा, बीम, ढोका–झ्यालका चौकटजस्ता संरचनात्मक भागका लागि रोजाइमा पर्थे भने हलुका काठ भित्री संरचना र घरेलु सामग्रीका लागि प्रयोग हुन्थे ।

यो ज्ञान किताबमा लेखिएको थिएन, बरु सिकर्मी, बढई वा विभिन्न जातीय समुदायका परम्परागत कारीगरहरूमा पुस्तौंपुस्तासम्म मौखिक रूपमा सरेको थियो र अहिले पनि छ र अध्ययनमा पाइयो तर वर्तमान पुस्तमा भने त्यो ज्ञान कमै मात्रामा देखियो जुन एक अध्ययनका क्रममा देखियो ।

नेपालका गाउँघरहरू परम्परागत रूपमा काठलाई संरचनाको मुख्य आधारका रूपमा प्रयोग गर्थे र प्रचलन आज पनि छ र हो । ढुंगा, माटो र इँटाले पर्खाल बनाइन्थ्यो र हो भने काठले सम्पूर्ण संरचनालाई बाँध्ने कंकालको काम गथ्र्यो । ठाडा काठका खम्बाहरूले छानो थाम्थे र तेर्सा बीमहरूले भार समान रूपमा बाँड्थे जस्तै निरलको प्रयोग वा बलाहरुको प्रयाग । पहाडी गाउँहरूमा भूकम्प प्रतिरोध बढाउन ढुंगाको गारोमा काठका पट्टीहरू मिसाइन्थे जसले आधुनिक घरहरुको वीमकारुपमा काम गर्थे । पुस्तौंदेखि परिष्कृत हुँदै आएको यो प्रविधिले आधुनिक इन्जिनियरिङ र डिजाइनको सिद्धान्त आउनु अघि नै गाउँलेहरूले भूकम्पीय व्यवहार सहज रूपमा बुझेको देखाउँछ । काठका छाना संरचनाहरू फलामका कीला प्रयोग नगरी जडान प्रणालीमार्फत जोडिन्थे, जसले तापक्रम र आद्र्रताको परिवर्तनसँगै संरचनालाई स्वाभाविक रूपमा फैलिन र सुक्न मद्दत गथ्र्यो र हावापानीको ताप र चापका आधारमा घरका संरचनाहरुको र्निधारण गरिन्थ्यो जुन परम्परागत सोचमा आधारित भए पनि वैज्ञानिक र तर्क संगत थियो ।

ढोका र झ्यालहरू नेपालका गाउँहरूमा परम्परागत काठ डिजाइनका सबैभन्दा आकर्षक उदाहरण हुन् । साधारण प्वालका रूपमा नभई तिनलाई महत्वपूर्ण वास्तुकलात्मक तत्वका रूपमा हेरिन्थ्यो तर अहिले भने लोपान्मुख अवस्थामा छन् । काठका ढोकाहरू बाक्ला, बलिया र प्रायः ज्यामितीय आकृति, पुष्पीय बुट्टा वा प्रतीकात्मक रूपहरूले कुँदिएका हुन्थे । झ्यालहरू क्षेत्र र सामाजिक हैसियतअनुसार आकार र जटिलतामा फरक हुन्थे, तर साधारण घरहरूमा समेत सादा कुँदाइ भएका काठका चौकटहरू पाइन्थे । काठमाडौं उपत्यकाका नेवार गाउँहरूमा अत्यन्त सूक्ष्म र कलात्मक झ्यालहरूले उच्च कारीगरी देखाउँछन् भने पहाडी र हिमाली गाउँहरूमा बल र मौसम प्रतिरोधलाई प्राथमिकता दिइएको सरल डिजाइन प्रचलित थियो जसका अवषेशहरु को संकलन गरि पुरातत्व विभागमा संरक्षण गर्न जरुरी छ र यो आवश्यकता पनि हो ।

गाउँहरूमा काठ कुँदाइ केवल सजावट मात्र थिएन यसमा गहिरो सांस्कृतिक र धार्मिक अर्थ निहित थियो । कुँदाइमा प्रयोग गरिएका धेरै बुट्टा पात, फूल, चरा, सर्प र जनावरजस्ता प्राकृतिक तत्वबाट प्रेरित थिए, जसले गाउँलेहरूको वातावरणसँगको नजिकको सम्बन्ध झल्काउँछ । धार्मिक प्रतीकहरू पनि विशेषगरी ढोकाका चौकट र मुख्य प्रवेशद्वारमा सामान्य थिए । यस्ता कुँदाइहरूले समृद्धि ल्याउने, घरको रक्षा गर्ने र सकारात्मक ऊर्जा प्रवेश गराउने विश्वास गरिन्थ्यो । यसरी काठ डिजाइन कलात्मक अभ्याससँगै आध्यात्मिक अभ्यास पनि बन्न पुग्थ्यो ।

गाउँघरका भित्री स्थानहरूमा पनि काठको सोचपूर्ण प्रयोग देखिन्थ्यो । काठका छाना, बीम, भर्याङ र पार्टिसनहरूले न्यानो र आरामदायी वातावरण सिर्जना गर्थे । चिसो क्षेत्रहरूमा काठले ताप कायम राख्थ्यो भने तातो क्षेत्रहरूमा हावाको प्रवाह सहज बनाउँथ्यो । काठका मुर्तिहरु, दराज, भकारी, अन्न भण्डारण पेटी, औरी(भडाल्नो), मदानी, ठेकी, हलो, जुवा, खोक, लेड्को, फ्याउरो, आरी, सारङ्गी, मादल, डम्फु, चाल्नो, डमरु, डोलक, खुर्पेटो, थाम, डाँडा, धार्ने ठेको, खुर्पा र अन्य हतियारका बिँड, ढिकी, जाँतोको हाँतो, थुर्मी, टाँढ, तखती, मधुस, चखेए पिङ, घट्ट, खाट, पिर्का, धुम (कुखुराको खोर) र होचा टेबलहरू साधारण औजार प्रयोग गरेर हातैले बनाइन्थे । प्रत्येक सामग्री दैनिक प्रयोगका लागि भए पनि अनुपात र सन्तुलनमा विशेष ध्यान दिइन्थ्यो । फर्निचर प्रायः घरमै समाहित गरी बनाइन्थ्यो, जसले यसलाई वास्तुकलाको अभिन्न अंश बनाउँथ्यो ।

परम्परागत गाउँले जीवनमा कृषि र सामुदायिक गतिविधिका लागि काठ अत्यन्त आवश्यक थियो । हलो, जुवा, गाडा, भर्याङ, अन्न भण्डार र अन्य आवश्यक सामाग्रीहरू सबै काठबाट बनाइन्थे । यी वस्तुहरूको प्रयोग कडा र कठोर मौसम सहन सक्ने गरी डिजाइन गरिन्थे । चौतारा, पानीधारा, मन्दिर, गुम्बा र विश्रामस्थलजस्ता सामुदायिक संरचनाहरूमा काठका तत्वहरू प्रमुख रूपमा देखिन्थे मुख्यत पोखरीको बिचमा कडा प्रकारको काठ बाट बनेको मैलो गाढ्ने चलन थियो र छ पनि । मन्दिर र तीर्थस्थलहरूमा काठ कुँदाइ अझ सूक्ष्म र विस्तृत हुन्थ्यो, जसले ती स्थानहरूको पवित्रता झल्काउँथ्यो र अहिले पनि कुल मन्दिरहरुमा प्राय नेपाली परम्परा यहि छ ।

गाउँहरूमा काठ डिजाइनको प्रक्रिया ऋतु चक्र र सामाजिक संरचनासँग नजिकबाट सम्बन्धित थियो । काठ काट्ने काम टिकाउपन बढाउन र किराको क्षति कम गर्न वर्षको निश्चित समयमा गरिन्थ्यो जस्तै सरुण, र अन्धशुक्र लाग्दा रुख काट्नु हुदैन, वा हिँउदमा रुख काट्नु राम्रो हुन्छ भन्ने प्रचलन थियो र पाइयो यो अत्यन्त वैज्ञानिक र तर्क संगत रहेछ । रुख काट्नुअघि प्रकृति वा वनदेवतासँग अनुमति माग्ने संस्कार गरिन्थ्यो रे र पुजाआजा पनि तर त्यसको अवषेश अहिले फेला नपरे पनि कहि कतै फेला परेको बेलामा उल्लेख गरिने छ, जसले वातावरणप्रतिको सम्मान झल्काउँछ । घर निर्माण र कुँदाइ सामुदायिक गतिविधि हुन्थ्यो, जसमा छिमेकीहरूले एकअर्कालाई सहयोग गर्थे । यस सामूहिक प्रयासले सामाजिक सम्बन्ध बलियो बनाउनुका साथै सीप र ज्ञान व्यापक रूपमा फैलिन मद्दत गथ्र्यो ।

परम्परागत काठ डिजाइनमा प्रयोग हुने औजारहरू सरल तर प्रभावकारी थिए । हातले बनाइएका छिनो, बसुला, आरा र हथौडाले कारीगरलाई काठलाई नापतौलका साथ आकार दिन सक्षम बनाउँथे । मेसिनको अभावमा कामको गति ढिलो भए पनि परिणाम बलियो र भावपूर्ण हुन्थ्यो जसले जसले मानिसको हरेक क्षणमा गर्ने काममा सिजर्नालाई सोच र विचारका साथ गर्दथ्यो । प्रत्येक कटाइमा कारीगरको अनुभव र हातको छाप देखिन्थ्यो, जसले गाउँको काठकामलाई विशिष्ट चित्र र चरित्र दिन्थ्यो ।

क्षेत्रीय विविधताले परम्परागत काठ डिजाइनमा गहिरो प्रभाव पारेको थियो । तराईमा समथर भूभाग र तातो मौसमअनुकूल उचाइ भएका फर्श र चौडा बरन्डासहितका काठका घरहरू बनाइन्थे जसलाइ बाताअनुकुल भनिन्छ । थारु गाउँहरूमा विशिष्ट काठका खम्बा र सजावटी तत्वहरू देखिन्थे र छन् जुन दुर्गम क्षेत्रमा अझै पनि देख्न पाइन्छ । पहाडी क्षेत्रमा काठका बाल्कनी र झुन्डिएका छानासहितका साना घरहरूले वर्षा र चिसो हावाबाट सुरक्षा गर्थे ।

हिमाली क्षेत्रमा काठको अभावका कारण काठलाई सीमित र कुशल रूपमा ढुंगा र माटोसँग मिलाएर प्रयोग गरिन्थ्यो, गोब्रे सल्ला र ठिग्रे सल्लाहरुको विषेश प्रयोगले यस क्षेत्रमा काठलाई विषेश महत्व दिएको छ । भने डोम वास्तुकलाले हिमपातलाई सहजै पगाल्न सहजीकरण होस् भन्ने मान्यताका साथ वास्तुकलाको महत्व झल्काएको छ । परम्परागत काठ डिजाइनले सामाजिक र आर्थिक अवस्थालाई पनि प्रतिबिम्बित गथ्र्यो । धनी परिवारहरूले ठूलो र बढी कुँदाइ भएका घर बनाउन सक्थे भने गरिब परिवारहरूले सरल रूप अपनाउँथे । तर सरल घरहरूमा पनि बुद्धिमत्तापूर्ण डिजाइन र सामग्रीप्रतिको सम्मान देखिन्थ्यो । काठ कहिल्यै खेर जान दिइँदैनथ्यो बाँकी टुक्राहरू औजार, इन्धन वा साना घरेलु वस्तुका रूपमा पुनः प्रयोग हुन्थे, जसले स्रोतको दिगो प्रयोग दर्शाउँछ ।

हालका दशकहरूमा आधुनिकीकरण, कंक्रिट निर्माण र वन विनाशका कारण गाउँहरूमा परम्परागत काठ डिजाइनको अभ्यास घट्दै गएको छ । धेरै पुराना घरहरू आधुनिक संरचनाले प्रतिस्थापन गरिएका छन् र युवा पुस्ता परम्परागत काठकामका सीपसँग कम परिचित हुँदै गएका छन् । यद्यपि, बाँकी रहेका घर, मन्दिर र सांस्कृतिक अभ्यासहरूमा गाउँको काठ डिजाइनको विरासत अझै देख्न सकिन्छ ।

संरक्षण प्रयास र दिगो वास्तुकलाप्रतिको नयाँ चासोले अहिले यस परम्परागत ज्ञानको मूल्य उजागर गरिरहेको छ ।
नेपालका गाउँहरूमा काठ डिजाइनका परम्परागत तरिकाहरू केवल निर्माण प्रविधि मात्र होइनन् तिनले प्रकृति, समुदाय र संस्कृतिसँग सन्तुलनमा बाँच्ने दर्शन व्यक्त गर्छन् । प्रत्येक बीम, कुँदाइ र जडानले अनुकूलन, सिर्जनशीलता र वातावरणप्रतिको सम्मानको कथा सुनाउँछ । यस सम्पदाको संरक्षण सांस्कृतिक पहिचानका लागि मात्र होइन, भविष्यका लागि दिगो र मानव केन्द्रित डिजाइनलाई प्रेरणा दिन पनि अत्यन्त आवश्यक छ । …………………………..

(नेपाली परम्परामा अनुभव सोध तथा अवलोकन, कला, वास्तुकला र नेपाल अध्ययन र भ्रमणका क्रममा भेटिएका विविध सामाग्री र तथ्यमा आधारित)
जय कला । जय वातावरण ।।

Mail: lbn445@gmail.com

 

टिप्पणीहरू (१)

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

  1. Ernest1474 आइतवार, माघ १८, २०८२ मा १०:४१ बिहान बजे

U

सम्बन्धित खबर