Wednesday, February 11, 2026
बुधबार, माघ २८, २०८२

E-paper

प्रचार प्रसारपछि ढोरपाटन आउने पर्यटक बढे

शुक्रबार, साउन ९, २०८२

विदेशी शिकारी शिकार खेल्नका लागि हेलिकप्टर मार्फत सोझै आरक्ष क्षेत्रमा पुग्ने गरे पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक घुम्नका लागि समेत त्यहाँ पुग्न थालेका छन् ।

धार्मिक तथा प्रर्यटकिय क्षेत्र ढोरपाटन घुम्नेको संख्या प्रत्यक वर्ष वृद्धि हुँदै गएको छ । पर्यटकिय गन्तव्यको प्रचार प्रसार हुँदै जाँदा आन्तरिक र बाह्य पर्यटकको संख्या प्रत्येक वर्ष पचास प्रतिशतको दरले वृद्धि हुँदै गएको पाइएको हो । आर्थिक वर्ष २०८०/०८१ मा पन्ध्र हजार पर्यटक ढोरपाटन पुगेकोमा २०८१/०८२ मा २३ हजार ६९२ प्रर्यटक ढोरपाटन घुम्नका निम्ती पुगेको ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ ।
ढोरपाटन उपत्यकामा मात्रै पुग्ने गरेका पर्यटक पछिल्लो समय ढोरपाटन शिकार आरक्षको विभिन्न क्षेत्रमा पुग्न थालको र प्रचार प्रसार समेत वृद्धि हुँदा पर्यटक आवागमन वृद्धी भएको पाइएको हो । कुनै दिन ढोरपाटनमा शिकार खेल्न मात्रै पर्यटक आउने गरेकामा पछिल्लो समय शिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोर बराह मन्दिर, बुकी पाटन लगायतका क्षेत्रको अवलोकनका लागि समेत पर्यटक आउने गरेका छन् ।
विदेशी शिकारी शिकार खेल्नका लागि हेलिकप्टर मार्फत सोझै आरक्ष क्षेत्रमा पुग्ने गरे पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक घुम्नका लागि समेत त्यहाँ पुग्न थालेका छन्। वैधानिक रूपमा नाउर र झारलको शिकार खेल्न पाइने आरक्ष क्षेत्र प्रवेशमा नेपाली र बाह्य पर्यटकले प्रवेश शुल्क तिर्नुपर्छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आरक्षमा पुग्ने विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्दै आएकोमा विगत तीन वर्र्षदेखि आन्तरिक पर्यटकको पनि तथ्याङ्क राख्न थालिएको छ ।
यसवर्ष नेपाली नागरिक २३ हजार चार सय ६७ जना, सार्क नागरिक १२ जना र विदेशी नागरिक दुई सय १३ जना गरी कुल २३ हजार ६ सय ९२ जना पर्यटक ढोरपाटन घुम्न आएको आरक्षका कर्मचारी पदम रोकायाले जानकारी दिए । ‘अघिल्लो वर्ष १५ हजार थिए यो पटक २३ हजार पुगे । यो संख्या वर्षेनी बढ्दै गएको छ,’उनले भने । आर्थिक वर्ष २०८०/८१ मा पन्ध्र हजार स्वदेशी र विदेशी पर्यटक आरक्ष क्षेत्रमा आएका थिए । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८१÷८२ मा करिब ९ हजार बढि पर्यटक ढोरपाटन भित्रिएका हुन ।
ढोरपाटनको प्रचार प्रसार भइरहेका कारण पर्यटक आवागमन वृद्धि भएको र यसलाई अझै व्यवस्थित गर्दे लैजाने ढोरपाटन नगरपालिका—९ का अध्यक्ष खिमबहादुर घर्तीको भनाई छ । ढोरपाटन उपत्यकामा दुई दर्जन होटल, होमस्टे सञ्चालनमा रहेका छन । दैनिक तीन सय बढि पर्यटक आउने र पछिल्लो समय यो क्रम निरन्तर हुँदै गएका कारण होटल तथा होमस्टे व्यवसाय समेत फस्टाउँदै गएको होटल व्यवसायी रामबहादुर घर्तीको भनाई छ । ‘केही वर्षदेखि बर्खामासमा पनि घुम्ने आउनेहरको संख्या बढ्दै गएको छ,’उनी भन्छन्,‘यो सिजनमा बुकी फुल्ने भएकाले अहिले पनि मानिसहरु घुम्न आउँछन् । त्यसले गर्दा यहाँको होटल व्यवसायलाई पनि राम्रो भएको छ ।’
उपत्यकादेखि करिब ४३०० मिटर बुकिपाटन सम्म प्रर्यटक पुग्न थालेपछि विभिन्न स्थानमा गोठ स्टे सञ्चालमा ल्याइएको छ । पर्यटकको सहजताका निम्ती गोठस्टे स्थापना भएपछि उनीहरुलाई खान बस्न र घुम्नका निम्ती सहजता प्राप्त हुने गरेको स्थानीय व्यवसायी महेन्द्र घर्तीको भनाई छ । ‘पहिले ढोरपाटन भनेपछि यही पाटनमा आउने र भोलीपल्ट फर्कने चलन थियो, अहिले माथि बुकीतर्फ जाने चलन सुरु भएको छ, जसले गर्दा पनि यहाँ आउनेहरुले दुई तीन दिन यहाँ बिताउने गरी आउँछन् । अहिले बर्खाको झरीमा पनि पर्यटकको संख्या उल्लेख्य भएको उनले बताए ।

 

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर