Friday, October 17, 2025
शुक्रबार, अशोज ३१, २०८२

E-paper

उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड

पशुपंक्षी चेकजाँच गर्ने छैन क्वारेन्टीन

आइतवार, अशोज १२, २०८२

संगम घर्तीमगर

चाडवाडको समय छ । बागलुङमा मासुजन्य प्रयोगका लागि जिल्ला बाहिरबाट पशुपंक्षी भित्रिनेक्रम बढ्दो छ । मालढुङ्गा चेक पोस्टमा खटिएका प्रहरीले सामान्य केरकार गर्ने बाहेक पशुपंक्षीको स्वास्थ्य चेकजाँच गर्ने कुनै संयन्त्र छैन । मानवस्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरोकारवाला पक्ष एकले अर्कोलाई जिम्मेवारी थोपरेर पन्छिने दाउमा छन् । बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख मित्रलाल सापकोटा पशु स्वस्थ भएको प्रमाणित गर्ने काम भेटेरीनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्रको भएको बताउँछन् ।

‘एक जिल्लाबाट अर्को जिल्लामा पशुपंक्षी ढुवानी गर्दा भेटेरीनरी अस्पतालले दिएको प्रमाण लिएर मात्रै ढुवानी गर्न पाईन्छ,’उनले भने,‘पशुपंक्षी निरोगी छन् भन्ने प्रमाणपत्र दिने काम भेटेरीनगरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्रको हो ।’ आफुहरुले स्वस्थ्य मासु उपभोग गर्ने उपभोक्ताको अधिकारका लागि मासु पसलहरुको अनुगमन गर्ने गरेको बताउँछन् । ‘हामीले मासु पसलहरुको अनुगमन र निगरानी बढाएका छौं,’उनले भने,‘स्वस्थ मासु उपभोगका लागि उपभोक्तालाई पनि सचेत बनाउने काम गरेका छौं । बाहिरबाट आउने पशुपंक्षीले प्रमाणपत्र लिएरै आउने भएकाले स्वस्थ नै आएका छन् भन्ने हाम्रो विश्वास हो ।’

अहिले पिपिआर लगायतका महामारीको समस्या नभएकाले पनि यहाँ भित्रिएका भेडाच्याङ्ग्रा स्वस्थ्य रहेको उनको भनाई छ । ‘भेडाच्याङ्ग्रामा महामारीको समस्या छैन, मुस्ताङबाट भित्रिने भेडाच्याङ्ग्रा मुस्ताङमै परीक्षण भएर आउँछन्, लामो समय हिँडेका कारण केही सामान्य समस्याहरु देखिन सक्छन् त्यसमा उपभोक्ताहरु पनि सचेत हुन जरुरी छ,’ उनले भने । भेटेरीनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले व्यवस्थीत बधशाला नहुँदा निगरानी गर्न कठिन भैरहेको बताउँछन् ।

‘एउटा व्यवस्थीत बधशाला हुने र सबैले आफ्नो पशुपंक्षी त्यही बध गर्ने अवस्था भएको भए त्यहाँ पुगेर हामीले परीक्षण गर्न सजिलो हुन्थ्यो,’उनले भने,‘बधशाला नहुँदा परीक्षको लागि समस्या छ । हामी पनि यहाँ जनशक्तिको हिसाबले धेरै समस्या छ । मैले यहाँ छोड्दा वित्तिकै पनि यहाँको काम ठप्पै हुने अवस्था छ ।’ यस्तो विषयमा स्थानीय तहले अलि बढि चासो लिएर काम अगाडि बढाउनुपर्ने उनी बताउँछन् । ‘नगरपालिका तथा स्थानीय सरकारले चासोका साथ हेर्नुपर्ने हो, बधशाला बनाउने कुरामा ध्यान दिए पनि हुने,’ उनी भन्छन्,‘स्थानीय तहले निश्चीत ठाउँ तोकेर प्राविधिक खटाईदिए हामीले पनि समान्य रुपमा सहयोग त गर्नसक्थ्यौं ।’

बागलुङमा १५० भन्दा बढि मासु पसल भएकाले अनुगमन पनि समस्या भएको उनी बताउँछन् । ‘हाम्रो कार्यालयल मात्रै सबै अनुगमन गर्न पनि गाह्रो छ, मैले एक महिना घुमेर पनि सबै पसल अनुगमन गर्न सक्दिन,’उनले भने,‘सबै क्षेत्रबाट सहयोग भएको खण्डमा हामीले उपभोक्तालाई स्वस्थ र स्वच्छ मासु खुवाउन सकिन्छ ।’ बागलुङबाट बाहिर जाने पशुपंक्षीको हकमा आफुले परीक्षण गरेर प्रमाणपत्र जारी गर्ने गरेको उनी बताउँछन् । ‘बागलुङबाट बाहिर जानेको विषयमा मैले प्रमाणपत्र जारी गर्छु, बाहिरबाट आउनेले त उतैबाट लिएर आउँछन्, प्रत्येक जिल्लाबाट स्वस्थ भएको प्रमाणित नभएसम्म पठाउन मिल्दैन,’उनले भने ।

पशु ढुवानी मापदण्ड अनुसार नआएका पशुपंक्षीलाई सुरक्षाकर्मी निगरानी गर्नुपर्ने उनी बताउँछन् । ‘चेकपोस्टमा सुरक्षा चेक जाँच गर्न बसेका सुरक्षाकर्मीले अनिवार्य प्रमाणपत्र लिएर नआएकालाई जफत गर्न मिल्छ, सुरक्षाकर्मीले निगरानी गरेमा पनि धेरै कुरामा सजिलो हुन्छ,’उनले भने । जनशक्तिको समस्या गर्दा पनि गाह्रो भैरहेका उनले बताए । उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले यो विषयमा नगरपालिका, प्रशासन र भेटेरीनगरी अस्पतालको ध्यानाकर्षण गराएको बताए ।

‘सरोकार पक्षलाई मैले यो विषयमा गम्भीर ध्यानाकर्षण गराएको छु, मरेको कुखुरा ल्याएर विक्री गर्ने गरेको भन्ने गुनासोहरु पनि आएका छन्,’उनले भने,‘मासु पसलहरुको निगरानी गर्ने र अनुगमन गर्ने कुराहरुमा पनि ध्यान दिन भनेको छु ।’ पशुपंक्षी बध गर्नु भन्दा पहिले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नका लागि उपभोक्ता मञ्चले जोडका साथ आवाज उठाएको उनले बताए ।

‘उपभोक्ताको अधिकार रक्षाका लागि हामी दृढ छौं, बध गर्ने पशुपंक्षी स्वस्थ छ भन्ने प्रमाणि गरेर मात्रै मासुका लागि बध गर्ने व्यवस्था मिलाउनुपर्छ,’उनले भने । बधशालाबाट मासु ढुवानी गर्दा पनि मापदण्ड अनुसार ढुवानी नभएको पाईएको उनी बताउँछन् । ‘डिपफ्रिजमा राखेर मासुको ढुवानी गर्नुपर्छ, अहिले त्यस्तो भएको पाईदैन, हामीले यो विषयलाई कडाईका साथ कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छौं,’ उनले भने ।

टिप्पणी गर्नुहोस्

टिप्पणी गर्नुहोस्

तपाईँको इमेल सार्वजनिक हुने छैन।आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

U

सम्बन्धित खबर