बागलुङ
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनले कृष्ण जन्माष्टमीको अवसर पारेर श्रीकृष्ण मन्दिरको उदघाटन गर्ने भएको छ । बागलुङ नगरपालिका—१ मालढुङ्गा खुदुर्केमा निर्माण गरिएको उक्त मन्दिरको कृष्णजन्माष्टमीमा उद्घाटन गर्नेगरी तयारी गरिएको इस्कोन बागलुङले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी दिएको छ । यस पटक कृष्ण जन्माष्टमीको कार्यक्रमलाई साताव्यापी बनाउने र त्यही अवसरमा मन्दिर उद्घाटन गर्ने तयारी गरिएको इस्कोन नेपालका केन्द्रीय अध्यक्ष परमेश्वर अच्युतदासले जानकारी दिए ।
‘इस्कोनको गण्डकी परियोजना अन्तर्गत हामीले मन्दिर निर्माण गरेका छौं, यसपटक जन्माष्टमीमा भगवानलाई घर उपहार दिदैछौं,’उनले भने,‘यस पटकको जन्माष्टमी कार्यक्रमलाई साताव्यापी सञ्चालन गर्ने र त्यही बेला मन्दिर उद्घाटन गर्ने तयारी गरेका छौं ।’ यस पटकको जन्माष्टमी विशेष कार्यक्रमलाई पर्वत र म्याग्दी पु¥याउनेगरी तय गरिएको उनले जानकारी दिए । ‘विगत वर्षहरुमा एक दिन मात्रै कार्यक्रम गर्ने गरेका थियौं, यस पटक म्याग्दी र पर्वतमा पनि कार्यक्रम गछौं,’ उनी भन्छन्,‘साउन २५ गते हाम्रो कार्यक्रम लक्ष्मीनारायण मन्दिर भएको ठाउँ बानपा—१ मा औपचारिक सुरु हुन्छ । साउन ३१ गते राती भगवान श्रीकृष्णको जन्म राती १२ बजे भएपछि मात्रै कार्यक्रम समापन हुन्छ ।’
२६ गते कुस्मा, २७ गते बागलुङ राधाकृष्ण मन्दिर र २८ गते बेनीमा कार्यक्रम गर्ने र २९ गतेदेखि ३१ गतेसम्म लक्ष्मीनारायण मन्दिर परिसरमा निर्माण गरिएको श्रीकृष्ण मन्दिरमा कार्यक्रम गर्ने उनले बताए । सप्ताहव्यापी कार्यक्रममा धार्मिक कार्यक्रमसंग हाजिरी जवाफ प्रतियोगिताको समेत आयोजना गरिएको छ । बागलुङ ४ विद्यालय, म्याग्दीका ४ र पर्वतका ४ विद्यालय गरी १२ विद्यालय यस अगाडि छनोट भैसकेको र बागलुङमा फाईनल प्रतियोगिता हुने उनले बताए ।
साताव्यापी कार्यक्रमका लागि करिब १० लाख खर्च हुने र सबै स्कोनका भक्तजनसहरु सहयोग उठ्ने उनले बताए । बृहत गण्डकी परियोजना अन्तर्गत ४५ करोडको डिपीआर तयार गरेर इस्कोन गण्डकीले मालढुङ्गामा विभिन्न संरचना निर्माणको कामलाई अगाडि बढाएको छ । अहिले पहिलो चरणमा साढे दुई करोड खर्च गरेर श्रीकृष्ण मन्दिर तयार भएको उनले जानकारी दिए । ‘पूरै परियोजना त ४५ करोडको डिपीआर हो, पहिलो चरणमा मन्दिर निर्माण भएको छ,’उनले भने,‘कालीगण्डकी किनारमा कटान रोक्नका लागि केही सरकारी बजेटबाट पनि काम भएको छ । बाँकी मन्दिरको काम हामी जस्तै भक्तजनहरुबाट स्वतःस्फुर्त सहयोग गरेर साढे दुई करोड खर्चमा बनेको हो ।’
करिब १७ रोपनी जग्गा रहेको उक्त ठाउँमा अब धार्मिक तिर्थयात्रीहरुका लागि आश्रयस्थल र शाहाकारी भोजनालय गोविन्दाज निर्माण गर्ने योजना रहेको उनले बताए । ‘प्रकृतिक र संस्कृति मार्फत पर्यटनको विकास गर्न सकिन्छ भन्ने देखिन्छ,’उनले भने,‘हाम्रो प्रकृति र संस्कृति हेर्न आएका तिर्थालु भक्तजनहरुलाई एक दिन मात्रै भए पनि यहाँ राख्न सकियो भने यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ भन्ने हाम्रो विश्वास त्यसैले पनि हामी आश्रयस्थल बनाउने योजनामा छौं ।’
मुक्तिनाथ जाने तिर्थयात्रीहरुलाई सात्विक भोजन खुवाउन गोविन्दाज रेष्टुरेन्ट सञ्चालनमा ल्याउने योजनामा रहेको उनले सुनाए । ‘बाहिरबाट शाहाकारी भक्तजनहरु यहाँको होटल रेष्टुरेन्टमा खाना खानुहुन्न,’उनले भने,‘हामीले गोविन्दाज शाहाकारी भोजनालय सञ्चालन गरेर उहाँहरुको समस्या सुल्झाउने प्रयास गर्दैछौं ।’ दामोदर कुण्ड र मुक्तिनाथदेखि बगेको कालीगण्डकी नदीको महिना उच्च रहेको र यस क्षेत्रमा धार्मिक पर्यटक बढ्दै जाने उनले बताए ।
‘धर्मशास्त्रमै प्रयागराजमा सय चोटी नुहाए जतिको पुण्य कालीगण्डकी एक पटक नुहाउँदा मिल्छ भनेर उल्लेख गरिएको छ,’उनले भने,‘अस्ती मात्रै ५२ जना चिनियाँ भक्तहरु आएर गण्डकी नुहाउनुभयो । उहाँहरु खुसीले रोएको देखेर म आफै पनि दंग परे । गण्डकीको महिमा ठूलो छ ।’ इस्कोन भित्रैका विशिष्ट व्यक्तिहरुबाट मन्दिर उद्घाटनको तयारी गरिएको इस्कोन बागलुङका अध्यक्ष जगतगुरु गिरीधारीदासले बताए ।
टिप्पणी गर्नुहोस्