अनन्तश्रीविभुषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्प र नेतृत्वमा धौलागिरी क्षेत्रका पाँच स्थानमा पञ्चश्री महायज्ञ सञ्चालन हुने भएको छ । नयाँवर्षका अवसरमा बागलुङ सहित पर्वत र म्याग्दीमा पञ्चश्री महायज्ञ हुने भएको छ ।
महायज्ञ आयोजक समितिले आइतबार बागलुङमा पत्रकार सम्मेलन गरी मृगसरोवर कालञ्जर समाज समृद्धि महायज्ञ पर्वतको जलजला, रारायीकोट समाज समृद्धि महायज्ञ र मालिका भगवती तथा गौशाला समाज समृद्धि महायज्ञ बागलुङ, सिद्धभूमि समाज समृद्धि महायज्ञ र गौश्वारा समाज समृद्धि महायज्ञ म्याग्दीमा गरिने जानकारी गराएको हो ।
पर्यटन प्रवद्र्धनको माध्यमबाट देशको बिकासमा सहयोग पुर्याउने उद्देश्यले धौलागिरीका ५ धार्मिक तथा पर्यटकीय स्थलमा एउटै तिथि मिति र मुहुर्तमा शुरु हुने गरी महायज्ञको आयोजना गरिएको स्वामी कमलनयनाचार्यका उत्तराधीकारी स्वामी सुदर्शन बडालले जानकारी दिए । बडालका अनुसार यसपटकका महायज्ञमा बिशेष गरी ध्यान र साधना गराइने छ । महायज्ञ नयाँबर्ष वैशाख १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने छ ।
वैदिक कालमा विभिन्न ऋषिमुनिहरुको तपोभुमिका रुपमा चिनिएका तीर्थस्थललाई धर्मिक तथा पर्यटकीय क्षेत्रका रुपा उजागर गर्न पञ्चश्री महायज्ञ आयोजना गरिएको बडालले बताए ।
कार्यक्रमको सञ्चालन महायज्ञ आयोजक समिति सदस्य जगन्नाथ आचार्यले गरेका थिए । महायज्ञमा महापूर्णाहुति, अभिषेक, मण्डव पुजा तथा शान्ति प्रार्थना, शालग्राम पुजाअर्जना एवं विष्णु सहस्रनाम पाठ लगायतका विधिहरु हुनेछन् । महायज्ञ मुल आयोजक समितिले आफ्नो घर नजिकै पर्ने कुनै पनि स्थानमा गई सहभागी हुनका लागि श्रद्धालु भक्तजनहरुमा आग्रह गरेको छ ।
यो बिषयमा तपाईको प्रतिकृया