जिल्लाको निसीखोला गाउँपालिकामा आठ कार्यालय सहित १९ घरमा तोडफोड तथा चोरी भएको छ । गाउँपालिका भित्रका विभिन्न वडा कार्यालयसहित विद्यालय र घरमा तोडफोड तथा चोरी भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए । सोमबार राति गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ३ र वडा नम्बर ४ को कार्यालय, प्रभा मावि, जनजिवराज सुशिला मावि, हिले प्रावि, बोहोरागाउँ लिटिल रोज बोर्डिङ स्कुल र १९ घरमा तोडफोड तथा चोरी गौतमले बताए ।
निसीखोला गाउँपालिका कार्यालयमा तोडफोडसँगै कागजपत्र छरप्रष्ट बनाएको गौतमको भनाई छ । कागजात राख्ने दराज तोडफोड र सिसी क्यामेराको तार समेत काटिएको छ । सामान भने हराएको अहिले सम्म देखिएको छैन । यद्यपि यसबारेमा सामान चेकजाँच भइरहेको छ । चोरले वडा नम्बर ३ को वडा कार्यालय टोडफोड गरेको छ भने त्यहाँबाट ६०० रुपैयाँ चोरेको सूचना अधिकारी गौतमले बताए ।
वडा नम्बर ४ को कार्यालय पनि तोडफोड भएको छ । कार्यालय तोडफोडसँगै ११ हजार रुपैयाँ समेत चोरेको वडा कार्यालयले जनाएको छ । वडा नम्बर ३ र ४ दुवै कार्यालयको ढोका तोडफोड भएको छ । वडा नम्बर ४ मा रहेको महिला सहकारीको कार्यालय ढोका समेत तोडफोड गरेको छ ।
तीन विद्यालयमा तोडफोड भए पनि कुनै सामानहरु हराएको अहिलेसम्म पत्ता नलागेको गौतमले बताए । बोहोरागाउँ लिटिल रोज बोर्डिङ स्कुलबाट कार्यालयको ढोका तोडफोड गरि १० हजार रुपैयाँ चोरी भएका विद्यालयले जनाएको छ । चोरी गर्ने समूहले विभिन्न कार्यालयसँगै १९ घरमा तोडफोड र चोरी गरेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर २ मा २ र वडा नम्बर ३ मा गरेर १७ वटा घरमा तोडफोडसँगै नगद र जिन्सी चोरी गरेको गौतमले जानकारी दिए ।
वडा नम्बर ३ का वडा सदस्य खिमबहादुर शाहीको घरबाट साढे दुई तोला सुन र एक लाख नगद रुपैयाँ चोरी गरेको गाउँपालिकाले जनाएको छ । विभिन्न कार्यालय, विद्यालय र १९ घरबाट १० लाख रुपैयाँ बराबरको नगद र जिन्सी चोरी भएको सूचना अधिकारी गौतमले जानकारी बताए ।
राति तोडफोड तथा चोरी भए पनि स्थानीय र कर्मचारी, जनप्रतिनिधिले विहान मात्रै थाहा पाएका थिए । प्रभा माविमा राति १ बजे तोडफोड भएको थाहा पाए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिकाको कार्यालय भने विहान ७ बजे कर्मचारी आउँदा ढोकाहरु खुल्लै देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
गाउँपालिकाले क्षति भएका सबै घर तथा कार्यालयको निरीक्षण गरेर क्षति विवरण तयार पारिरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले सबै स्थानमा पुगेर मुचुल्का तयार गरेको र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । घटनाको बारेमा प्रहरीले अनुसन्धानलाई तिब्रता बनाएको छ ।
यो बिषयमा तपाईको प्रतिकृया