बागलुङ नगरपालिका–२ मा रहेको न्यू धौलागिरि इन्टरप्राइजेज सञ्चालनमा छ । जैमिनी नगरपालिका–१ कुश्मीशेराका हरिबाबु सापकोटाले सञ्चालनमा ल्याएको पेट्रोल पम्ममाथि होटेल पर्वा एण्ड बेनक्वीट सञ्चालनमा छ । उनले बनाएको घरसंगै उनले गरेको व्यवसाय नै मापदण्ड बाहिर छ । आवासीय घरमा पेट्रोल पम्प राख्न पाइदैन ।
मापदण्डकै धज्जी उडाउदै उनले निर्बाध रुपमा व्यवसाय सञ्चालन गरेका छन् । अति प्रज्वलनशील पदार्थ ‘पेट्रोल’ मा सानो आगोको झिल्काले पनि ठूलो विध्वंस मच्चाउन सक्छ । सो कारण पेट्रोल पम्प संवेदनशील क्षेत्रमा राखिएको छ ।
आवासीय घर त्यहीमाथि पेट्रोल पम्प सञ्चालन गर्दा नजिकका घरहरु समेत जोखिममा परेका छन् । यद्यपि बागलुङ नगरपालिकाले भने घर पास नगिरएको जनाएको छ । बागलुङ नगरपालिकाले सो भवनको लागि २०७५ फाल्गनु २८ गते भवन निर्माणका लागि पत्र प्लीन्थ लेभलसम्मको लागि इजाजत पत्र उपलब्ध गराएको थियो ।
तर, दोस्रो चरणको इजाजत पत्र स्वीकृत नै नलिई घर निर्माण सम्पन्न भैसकेको छ । बागलुङ नगरपालिकाले २०७६ फाल्गुन १९ गते स्थानीय सरकार सञ्चालन ऐनको बर्खिलाप हुने कार्य भएको ठहर गर्दै पत्र प्राप्त भएको सात दिन भित्र उक्त पेट्रोल पम्प हटाउनको लागि समेत पत्र पठाएको थियो ।
हालसम्म पनि सापकोटाले न त पेट्रोल पम्म नै हटाएका छन् नत दोस्रो चरणको स्वीकृति नै लिएका छन् । नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम पदार्थ विक्रेता, विनियमावली, २०७५ अनुसार विक्री केन्द्र स्थापनाका लागि आवश्यक मापदण्ड समेत यस पेट्रोल पम्ममा छैन । जुनसुकै सडकको हकमा पनि ३० मिटर मोहडा र कम्तीमा दुई रोपनी जग्गा हुनुपर्ने, अन्डर ग्राउन्ड ट्याङ्की, खुल्ला स्थानमा हुनुपर्ने, र ट्याङकीमाथि कुनै पनि घर, टहरा निर्माण गर्न नपाइने स्पष्ट नियमावलीमा व्यवस्था छ ।
पम्पको छेउछाउमा पर्खाल लगाएको हुनुपर्ने, विक्री स्थलमा महिला पुरुष शौचालय र पार्किङ लगायतको सुविधा हुनु पर्दछ । तर, मापदण्ड विपरित बनाइएको उक्त पेट्रोल पम्पमा कुनै पनि पूर्वाधार छैनन् ।
बागलुङ नगरपालिका–२ मा गोल्डेनगेटदेखि शान्तिटोलसम्म जाने बाटोमा नेत्र बहादुर विष्ट, छविलाल पुन र इन्द्रबहादुर थापाले निर्माण गरेको गोल्डेन गेट कम्प्लेक्स समेत मापदण्ड बाहिर रहेको छ ।
बागलुङ नगरपालिकाले २०७६ जेठ २१ गते भवन निर्माण आचार संहिता, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को बर्खिलाप हुनेगरी घर निर्माण भएको भन्दै तुरुन्त घर निर्माण रोक्नको लागि पत्र मार्फत आग्रह गरेको थियो ।
तर, उक्त पत्रको बेवास्ता गर्दै भवन निर्माण सम्पन्न भैसकेको छ । नियममा आउनको लागि बागलुङ नगरपालिकाले २०७६ असार ६ गते पुनः पत्र काटेको थियो । बागलुङ नगरपालिकाले पाँच तला भन्दा माथिको सबै भाग हटाउन आग्रह गरेको हो । तर, बागलुङ नगरपालिकाले कुनै पनि कारबाही गर्न सकेको छैन । बागलुङ नगरपालिकाले पत्र काटेर औपचारिकता मात्र पूरा गरिरहेको छ ।
बागलुङ नगरपालिका १ र २ को सिमामा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तथा रोजयोग प्रशिक्षण केन्द्रले समेत बागलुङले नगरपालिकाको अनुमति विना नै संरचना निर्माण गरेको छ । विश्व विद्यालयले नगरपालिकाको अनुमति विना नै विभिन्न संरचना निर्माण गरेको छ ।
बागलुङमा समाजकै प्रतिष्ठित व्यक्ति तथा धर्मको नाममा गरिने जथाभावी भवन तथा संरचना निर्माण गर्ने क्रम बढेको छ । स्थानीय सरकार कमजोर बन्दा यस्तो अवस्था आएको नागरिक अधिकारकर्मी तथा अधिवक्ता राम शर्माले बताए ।
‘स्थानीय सरकारले कडाईका साथ मापदण्ड लागु गर्न नसक्दा यस्तो समस्या भएको देखिन्छ,’ उनले भने,‘स्थानीय सरकारको कमजोरीमाथि खेलेर थप संरचनाहरु निर्माणको काम भैरहेको छ ।’
यो बिषयमा तपाईको प्रतिकृया