जिल्लाको बरेङ गाउँपालिकामा मातृशिशु मृत्युदर नियन्त्रणका लागि पोषणा सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ र नेपालले मातृ तथा बाल मृत्युको न्यूनीकरणमा हालैका वर्षहरुमा उत्कृष्ट प्रगति हासिल गरी सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने मार्गमा अग्रसर रहेको सन्दर्भमा बरेङमा मातृशिशु स्वास्थ्यका लागि कार्यक्रम गर्न लागिएको हो ।
बागलुङको बरेङ गाउँपालिका स्वास्थ्य शाखा तथा सुआहाराले पालिकाभरी स्वास्थ्य अभियान सञ्चालन गर्दै पोषणको सुधारले, खासगरी सूक्ष्म पोषकहरु (बालबालिकालाई जुकाको औषधिसहित भिटामिन ए, गर्भवती र स्तनपान गराउने महिलालाई जुकाको औषधिसहित आइरन चक्की तथा पर्याप्त आयोडिनयुक्त नुनको पहुँचमा वृद्धि) ले बाल तथा मातृ मृत्युमा कमी ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको विषयमा पालिकाको हरेक टोल समुहमा पोषण सम्बन्धी जानकारी गराउदैं आएकोमा त्यसलाई निरन्तरता दिइने भएको हो ।
भोकसम्बन्धी सहस्राब्दी विकास लक्ष्य १ का साथै न्यून पोषणको न्यूनीकरणमा अझै प्रगति गर्नुपर्ने छ । न्यून–पोषणको अवस्थामा केही वर्षयता कमी आएको भए पनि यसले ठूलो संख्यामा बालबालिका र महिलालाई असर गरिरहेको छ ।
त्यसकारण गाउँपालिका स्वास्थ्य शाखाले महिला र बालबालिकामा विद्यमान न्यून–पोषणको कमी ल्याउने क्रियाकलापमा तीव्रता ल्याउनु पालिकाको स्वास्थ्य, पोषण तथा जनसंख्या क्षेत्र कार्यक्रमको उच्च प्राथमिकताको विषयलाई जिम्मेवारी सम्झेको छ ।
आमाहरु शिशुहरु र स–साना बालबालिकाको खुवाइ र स्याहारसम्बन्धी प्रचलन, खास गरी स्तनपान, पूरक खाना र स्याहार अभ्यासहरु स्वच्छता, सरसफाइ र प्रारम्भिक बाल प्रेरणा नेपालमा उच्चतम स्तरमा नरहेको विद्यमान प्रमाणहरुले देखाइरहेको छ ।
साथै, केही क्षेत्रमा रहेको गरिबी र खाद्य असुरक्षाका कारण विविधतापूर्ण र पोषिला खाने कुराको पहुँच चुनौतीका रुपमा रहेको पनि पालिकाले अध्ययन गरेको छ ।
यसै सन्दर्भमा बरेङ गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना अनुसार जिम्मेवार रहने गरी गाउँपालिका, महिला तथा बालबालिका, कृषि पशु, शिक्षा, स्वास्थ, खानेपानी तथा सरसफाइ शाखाले आ–आफनो क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न र बहुक्षेत्रीय पोषण योजना सम्बन्धी पालिका स्तरीय कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले यिनै ७ वटा शाखालाई समेटेर समिति गठन गरिने बरेङ गाउँपालिका जन स्वास्थ्य निरीक्षक पदम बहादुर पुनले बताए ।
बहुक्षेत्रीय पोषण योजना कार्यक्रमले पहिलो चरणमा सामान्य हिसाबमा पोषण के हो ? कुपोषण के हो ? कुपोषणमा किन लगानी गर्नुपर्ने रहेछ ? कुपोषणको अवस्था के रहेछ ? र कुपोषणको कारण के रहेछ ? भन्ने विषयमा जानकारी गराइने छ । दोस्रो चरणमा आ–आफनो शिक्षा क्षेत्रको भूमिका के ? महिला तथा बालबालिकाको भूमिका के ? कृषि विकासको भूमिका के ? पशु विकासको भूमिका के ? खाने पानी सरसफाइको भूमिका के ? र अर्को शासकीय प्रबन्ध के भन्ने विषयमा जानकारी गराइने पनि पुनले बताएका छन् ।
यो बिषयमा तपाईको प्रतिकृया