सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ को नियम उपनियम ९ मा उपभोक्ता समिति वा लाभग्राही समुदायबाट सञ्चालित हुने एक्साभेटर, लोडर, डोजर, ग्रेडर जस्ता हेभी मेसिन प्रयोग गर्न पाईदैन । कामको जटिलताको प्रकृति हेरी सम्बन्धित प्राविधिकको सिफारिसमा सार्वजनिक निकायबाट सहमति लिएपछि मात्र त्यस्ता मेशिन प्रयोग गर्न पाइने व्यवस्था छ ।
तर, बागलुङ नगरपालिका अन्तर्गत सञ्चालित अधिकांश सडक निर्माण तथा स्तरोन्नति गर्दा उपभोक्ता समितिको डोजर, एक्साभेटर लगायतको डोजर प्रयोग गरेको पाइएको छ । तर, त्यस्ता हेभि मेसिन प्रयोग गर्दा सिफारिस नलिई कार्यपालिकाको कार्यालयबाट सहमति नलिएको पाइएको महालेखाको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार करीडोर पाल्नेटी सडक स्तरोन्नति उपभोक्ता समितिलाई सडक निर्माण गर्दा एक्साभेटर प्रयोग गरेबापतको १४ लाख १९ हजार ८ सय ४८ रुपैँया भुक्तानी दिइएको छ ।
त्यस्तै, अमलाचौर मुख्य सडक मर्मत तथा सुधार उपभोक्ता समितिले सडक निर्माण गर्दा एक्साभेटर प्रयोग गरेवापत ३ लाख ९३ हजार ५ सय ३ रुपैँया भुक्तानी दिइएको छ । त्यस्तै, पाख्रे भूजाकोट निफन्नी सडक निर्माण गर्दा डोजर बे्रकर प्रयोग गर्दा ३३ लाख ७३ हजार ३ सय रुपैँया भुक्तानी दिइएको छ ।
त्यस्तै, लौसीवारी गामा अड्डा डोय सडक निर्माण उपभोक्ता समितीलाई सडक निर्माण गर्दा ४ लाख १७ हजार ७ सय ४८ रुपैँया भुक्तानी दिइसकिएको छ । त्यस्तै, ओखलढुङगा वडा कार्यालय सडक निर्माण उपभोक्ता समितिलाई पनि सडक निर्माण गर्दा बे्रकर प्रयोग गरे वापत १२ लाख २२ हजार ९ सय ३१ रुपैँया भुक्तानी दिइएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
यो बिषयमा तपाईको प्रतिकृया