पारिवारिक निजी वन संघ बागलुङले बुधबार जिल्ला सदरमुकाममा पारिवारिक निजी वन किसानका सवालमा जिल्ला स्तरीय छलफल कार्यक्रम सम्पन्न गरेको । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सदस्य ईन्द्रलाल सापकोटाले मानिसले प्रकृतिलाई राम्रोसंग उपभोग गर्न नजान्दा अहिले विभिन्न समस्या देखिरहेको बताए । ‘मानिसले प्रकृतिलाई उपभोग गर्न नजान्दा मानिस र प्रकृतिबीच अन्तरविरोध भैरहेको छ,’उनले भने । हरियो वन नेपालको धन भए पनि सहि तरिकाले वैज्ञानिक पद्धतिले वनको उपभोग गर्ने अवस्था नहुँदा समस्या भएको उनको भनाई छ ।
नेपालमा अहिलेको कृषि प्रविधिले किसानलाई सधैं मर्कामा पार्ने गरेको उनको भनाई छ । फर्निचर व्यवसायी संघका दर्गा विकले आफुहरुले वनमा कुहिएका काठको समेत उपभोग गर्न नपाएका बताएका छन् । नेपाल सरकारले वन सम्बन्धी स्पष्ट नीति नबनाएको कारण आफुहरुले वनमा कुहिएका काठ समेत उपभोग गर्न नपाएको गुनासो गरेका छन् ।
काठ तस्करले भने प्रहरी र सरोकारवाला निकायलाई हातमा लिएर बदमासी गरिरहेको समेत आरोप लगाए । उनले भने,‘ नेपाल सरकारले स्पष्ट नीति बनाएको छैन ।
जसका कारण हामी व्यवसायीलाई मर्का परिरहेको छ भने तस्करले प्रहरी र सरोकारवाला निकायलाई हातमा लिएर काठ सस्तो मुल्यमा लगेर बेचिरहेका छन् । तर, हामीलाई विभिन्न बाधा हुने किसिमका निती ल्याएर व्यवासायी मार परेको छ ।’ डिभिजन वन कार्यालय बागलुङका प्रकाश थापाले समग्र निजी वनको काठले नै जिल्लाको माग धानिरहेको बताएका छन् । बागलुङमा हाल आठ निजी वन रहेका छन् ।
नेपाल सरकारले बनाएको वन ऐन २०७६ भएको भए पनि वन नियमावली समयमै तयार नहुँदा झनै समस्या भएको थापाले बताएका छन् । जलवायु अनुकुलताका लागि पनि निजी वनको भूमिका महत्वपूर्ण रहेको उनले बताए । वन सम्बन्धी केहि समस्या भएमा स्थानीय तह र डिभिजन वन कार्यालयले समन्वय समेत गर्न सकिने उनको भनाई थियो ।
कार्यक्रममा पारिवारिक निजी वन संघका केन्द्रिय अध्यक्ष जोगलाल गिरी, काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापा, संस्थाको गण्डकी प्रदेश अध्यक्ष जीवन उचैँ, सामुदायिक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष राज थापा, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई, पत्रकार महासंघ बागलुङका सचिव विजय राना लगायतले आफ्नो मन्तव्य राखेको थिए ।
एक परिवार, एक पारिवारिक निजी वन ः समृद्ध नेपाल हाम्रो अभियान भन्ने मुल नाराका साथ बिक्रम संवत २०७१ फाल्गुनबाट संचालनमा आएको संस्थामा हाल ६१ जिल्लाका करिब १० हजार कृषकहरु आवद्ध छन् । कार्यक्रम संस्थाका अध्यक्ष हरि प्रसाद शर्माको अध्यक्षता, सदस्य तुलसी रेग्मीको स्वागत तथा संस्थाका सचिव बैकुण्ठ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
यो बिषयमा तपाईको प्रतिकृया