बागलुङको ताराखोला गाउँपालिका । बागलुङमा ताराखोला गाउँपालिकाको आफ्नै विशिष्ट पहिचान छ । जनयुद्धको समयमा विद्रोही माओवादीको मुख्य सेल्टरको रुपमा चिनिएको ताराखोलाले ठूलो बलिदानी पनि दिएको छ । मुलुक संघीयतामा जाँदै गर्दा ताराखोलाले छुट्टै पालिकाको रुपमा स्थान पायो ।
प्राकृतिक स्रोत साधनसंगै ताराखोलाको सांस्कृतिक पहिचान भिन्न खालको छ । ताराखोलामा वर्षैभरी मेला लाग्छन् भन्ने मिथकहरु पनि छन् । अधिकाँस मगरबस्तीको बाहुल्यता रहेको ताराखोलामा वर्षैभरी विभीन्न लाग्ने पनि गर्छन् ।
मेला र जात्राको बीचमा ताराखोलाका मगर समुदायले मंगलबार मात्रै भदौरे मेला अन्तर्गत सिस्नो खोस्ने पर्व मनाएका छन् । बर्खा सकिएर हिउँद लाग्ने समयमा भदौको अन्तिममा यो पर्व ताराखोला गाउँपालिका—४ तारागाउँमा मनाईएको हो । कोरोना कहरका बीच स्थानीयले यो पर्वलाई धुमधामका सथा मनाएका छन् ।
गत शनिबार साँझबाट सुरु भएको पर्वत मंगलबार समापन गरिएको छ । ताराखोला गाउँपालिका वडा नम्बर ४ र ५ मा बस्ने अर्गासी, रोका, अर्गोल, राम्जाली, सिञ्जाली, बजाङ्गे, रोपनि र हिंजाले मगरहरुले लामो समयदेखि यो संस्कार मान्दै आएका छन् । कुलपितृलाई खुशी पार्नकै लागि यसो गर्ने गरिन्छ ।
पुर्खाहरुको सम्झनामा भदौ महिनाको शुक्ल पक्षको अन्तिम सोमबार र मंगल बार पुख्र्यौली घर हेम्थोघरमा जम्मा भै विशेष पूजाआजा सहित यो पर्व मनाइने मगर भैलो टोलीका संयोजक झकबहादुर घर्ती बताउँछन् । ‘कहिलेबाट किन मनाउन थालिएको हो भन्ने थाहा छैन, हामीले यस विषयमा यहाँका बुढापाकाहरुलाई पनि सोध्यौं, पुर्खाको परम्पराको रुपमा मान्दै र धान्दै आएको हो भन्ने मात्रै छ,’ उनले भने,‘हामीले पनि पुर्खाको परम्परालाई धानेका छौं ।’
देशका विभीन्न क्षेत्रबाट ताराखोला आई बसोबास गर्दै आएका मगर समुदायले पूर्वजको चलन चल्ती अनुसार यो पर्व मनाउने गरेको उनको भनाई छ ।
‘हाम्रो पुर्खा डोल्पाको तारभोटबाट आएको भनिन्छ, उहाँहरुले नै गर्दै आएको परम्परा हामीले धानेका हौं,’ उनले भने । कोरोना महामारी केही मत्थर भएका कारण यो वर्ष पर्व मनाउन सकिएको उनले बताए । ‘कोरोनाको डरले गर्दा के हुन्छ भन्ने थियो,’ उनले भने,‘अहिले ताराखोलामा कोरोनाको संक्रमण घटेका कारण पनि हामीले यो पर्व मनायौं ।’
पुर्खाहरुको स्मृतिसंगै कुनै खालको अनिष्ट नहोस भन्दै पकृति पूजाको रुपमा समेत यसलाई मनाउने गरिएको घर्तीको भनाई छ । शनिबार बेलुकीदेखि नै अग्रज दाजुभाइहरु जम्मा भई कुल देवतासँगै पुर्खाहरुको स्मृतिमा धुपधजा गरी सोमबार बेलुकी ज्यूँदो रागोको मुटु झिकेर पुर्खालाइ चढाउने र रातभर जाग्राम बसि ढ्याङ्ग्रोको तालमा वन गन्नि र पुर्खाहरुको स्मरण गरी सोजो खाएपछि पहिलो दिनको कार्यक्रम सम्पन्न हुन्छ ।
मंगलबार बिहानबाट पुनः ढ्याङ्ग्रोको तालसंगै पूजाआजा सुरु हुन्छ । दिउँसोमा सुँगुरको मुटु झिकेर पुर्खालाई चढाईसकेपछि सुँगुरको सपेटो बाँधिएको सिस्नोमो मुठा युवायुवतीले खोसाखोस गर्छन् । यो नै सिस्नो खोस्ने मेलाको मुख्य रौनक हो । ढ्याङग्रोकै तालमा विभीन्न गित गाउँदै युवायुवतीले यो खोसाखोस गर्छन् ।
त्यसका लागि जतिबेलै खोस्न पाईदैन । मन्त्रोच्चारणमा निश्चीत विन्दु आईपुगेपछि सो… आवाज उच्चारण हुन्छ । त्यसपछि युवायुवती एक आपसमा सिस्नो खोसाखोस गर्छन् । युवायुवतीले पाँच पटकसम्म सिस्नो खोसाखोस गर्ने स्थानीय गोर्ख घर्ती बताउँछन् । सिस्नो खोसाखोसमा अधिकांस समय केटाहरुको समुहले नै जित्ने गरेका छन् ।
यदि युवतीहरुको समुहले जितेको खण्डमा युवकहरुको समुहले जरिवाना तिर्नुपर्छ । त्यसले गर्दा पनि युवकहरु सकेसम्म जीउज्यान लगाएर सिस्नो खोस्न तम्सिन्छन् । अन्य ठाउँमा धेरै संस्कार संस्कृतिहरु नयाँ पुस्तामा हस्तान्तरण नहुँदा हराउँदै जाने थालेको छ । ताराखोलाको यो संस्कृति भने स्थानीयले जोगाएर राख्न सफल भएका छन् ।
यसमा युवा पीढिको पनि राम्रो सहभागिता रहने गरेको छ । यसको इतिहाँस र सैद्धान्तिक पक्षमा जानकार नभए पनि संस्कार र परम्पराको रुपमा यहाँका युवाहरुले सिस्नो खोस्ने परम्परा धान्दै आएका छन् ।
हरेक वर्ष भदौ पर्व अन्तर्गत सामान्य धुपधजाबाट पूजा हुन्छ । १२ वर्षमा एक पटक सिंङ फर्ने चलन छ । सिस्नो खोस्ने कार्यमा अविवाहित युवायुवती मात्रै सहभागी हुन्छन् । जसले गर्दा युवायुवती बीचमा सामाजिकीकरणको विकास गर्नका लागि यो परम्परा थालिएको हुनसक्ने कतिपयले बताउने गरेका छन् ।
यो बिषयमा तपाईको प्रतिकृया