जिल्लाको जैमिनी नगरपालिकाका किसानले लगाएको अलैचीमा डडुवा रोग देखा परेको छ । जैमिनी गनरपालिका—२ दमेकको अलैची पकेट क्षेत्रका किसानले लगाएको अलैची डडुवा रोका कारण बोट सुकेपछि किसानहरु समस्यामा परेका छन् । राम्रो आम्दानी हुने नगदेबालीको रुपमा रहेको अलैची तर्फ आकर्षित भएका किसानहरुलाई ठूलो मार पर्नेगरी अहिले किसानले लगाएको अलैची मरेको छ । नगदेबाली भएका कारण अन्य खेतीपाती नै छाडेर अलैची खेतीमा लागेका किसानलाई अचानक देखिएको यो रोगले समस्यामा पारेको छ ।
जैमिनी नगरपालिका—२ दमेक नेपानेकी लक्ष्मी कुमारी पुनले अलैची मरेपछि फेरी मकै खेती गरेको बताउँछिन् । ‘वैशाखतिर सबै अलैची म¥यो,’उनले भनिन्,‘हामीले त अलैची उखेलेर फेरी बारीमा मकै लगाएका छौं । चार पाँच वर्ष अलैची खेती गरियो अहिले समस्या भयो ।’ दमेकको माथिल्लो भेगमा लगाएको अधिकांस अलैचीका विरुवा मरेको उनको भनाई छ ।
‘यहाँको धरै जसोले अलैची खेती गरेका थिए, अहिले त सबैको अलैची मरेको छ,’ उनले भनिन्,‘तल्लो दमेकतिर त केही कम मरेको भन्ने सुनिन्छ । हाम्रोतिर तर सखापै भयो ।’ सबै अलैची मरेपछि जरा उखेलेर फ्याँकेर मकै छरेको उनी बताउँछिन् । धान, मकै, कोदो रोप्न छोडेर नगदे बालीको रुपमा रहेको अलैची खेति गरेका किसानहरु अलैचीको बोटमा रोग लागेर सुकेपछि किसानलाई मार परेको छ । जैमिनी नगरपालिकाको वडा नम्बर २ र ३ मा अलैचीको राम्रो उत्पादन हुने भएपछि अलैची पकेट क्षेत्रको रुपमा विकास गरिएको थियो । त्यस क्षेत्रमा दुई वटा अलैची पकेट क्षेत्र छन् । स्थानीय बेल छन्त्यालका अनुसार पकेट क्षेत्रमा नै अलैची सुकेपछि किसानहरु मर्कामा परेका छन् ।
‘यो वर्ष केही समय अगाडिदेखिबाट अलैचीको बोट सुक्दै गएको छ,’ उनले भने,‘अहिले किसानलाई सुकेर गएको बोटको जरा उखेलेर फ्याँक्नका लागि समस्या परेको छ ।’ गत पु महिना यता अलैची सुक्दै गएको र ९५ प्रतिशत बढि अलैची सुकेको उनको भनाई छ । ‘गत पुसबाट अलैची सुक्दै गएको हो, अधिकांस अलैची सुकेको छ,’छन्त्यालले भने,‘९५ प्रतिशत अलैची सुकेको कुरा आएको छ । ठूलो मेहनत गरेर लगाएका किसानलाई ठूलो मर्का परेको छ ।’ उक्त क्षेत्रमा रहेको दुई वटा अलैची पकेट क्षेत्रमा गरी दुई हजार चार सय रोपनी भन्दा बढि जग्गामा अलैची खेती हुने गरेको छ ।
त्यहाँका करिब दुई सय ५० भन्दा बढि किसान अलैची खेतीमा आवद्ध भएका छन् । विगतका वर्षमा अलैचीबाट राम्रै आम्दानी गरे पनि यस पटक अलैची मरेपछि मारमा परेको स्थानीयको गुनासो छ । गतवर्ष मात्रै अलैची विक्रीबाट उक्त क्षेत्रका स्थानीयले ४५ लाख बढि भित्र्याएको बताईन्छ । प्रति विरुवा १३ रुपैयाँसम्म तिरेर लगाएको अलैची सबै सखाप भएपछि ठूलो घाटा व्यहोर्नु परेको छन्त्यालको भनाई छ । ‘एउटै अलैचीको बेर्नालाई १३ रुपैयाँसम्म तिरेर ल्याएर लगाएका थियौं,’ उनी भन्छन्,‘अहिले त सबै मरेपछि गाह्रो परेको छ ।’
रोग नै पत्ता लगाउन नसकिएका कारण अहिले ठूलो क्षति भएको अलैची पकेट क्षेत्रका अध्यक्ष लोकेन्द्र सापकोटा बताउँछन् । ‘अलैचीमा लागेको के रोग भन्ने नै थाहा पाउन सकिएन, केही औषधीहरु पनि प्रयोग ग¥यौं,’ उनले भने,‘तर औषधीले पनि काम गरेन । त्यसले गर्दा हामीले ठूलो क्षति व्यहोरेका छौं ।’ सम्बन्धित सरोकारवाला निकायले चासो नदिएका कारण पनि आफुहरु झन् समस्यामा परेको किसानहरुको गुनासो छ । पछिल्लो समय अलैचीको मूल्य समेत घट्दै गएका कारण किसानहरु अलैचीप्रति आकर्षित हुन छाडेको अलैची किसान मधु अम्माई बताउँछिन् ।
‘हामीले पहिलो वर्ष त २५ सय रुपैयाँ किलो अलैची विक्री गरेको हो,’ उनले भनिन्,‘त्यतिबेला निकै राम्रो मूल्य परेपछि सबैले अलैची खेती गर्न थाले । अहिले यसको मूल्य पाँच गुणा कम भएको छ ।’ अहिले प्रतिकिलो पाँच÷ ६ सय रुपैयाँ मात्रै पर्ने गरेको उनले बताईन् । ‘यसपाला त अलैची नि त्यती फलेको छैन, गतसाल केही फलेको थियो, पाँच÷छ सय रुपैयाँ किलोको हिसाबले विक्री भएको थियो,’ उनले भनिन्,‘हामीले आफै विक्री गर्न सकिन्छ । केही मान्छेहरु लिन आउँछन् उनीहरुले भनेको मूल्यमा दिनुपर्छ ।’ कतिपय वर्षमा त आफुहरु अलैची लैजाने व्यक्तिबाट ठगिएको उनले बताईन् ।
‘एक वर्ष त हामीसंग सबैको अलैची उठाएर गएको व्यक्ति फर्केर आएनन्, गाउँका किसान सबैको गरेर १२÷१३ लाख रुपैयाँ ठगियौं,’ अम्माईले भनिन् । कृषि ज्ञान केन्द्र बागलुङले भने अलैची किसानको यो समस्याबो बारेमा अनविज्ञता प्रकट गरेको छ । ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले दमेकका अलैची किसानको समस्याबारेमा कुनै जानकारी नआएको बताए ।
‘अलैची राम्रो नगदेबाली हो, तर जैमिनीका किसानको समस्या बारेमा हामीलाई जानकारी आएको छैन,’ उनले भने,‘रोगका निदानहरु हुन्छन् । कुन खालको रोग हो पहिले पत्ता लागेपछि समस्या समाधान गर्न सकिन्छ । गलकोटतिर पनि समस्या देखिएको थियो हामीले औषधी दिएपछि ठिक भएको छ ।’ राम्रो बजारमूल्य भएको कारण अलैची खेतीमा लाग्ने किसानलाई सहयोग र प्रोत्साहन गर्ने केन्द्रको नीति रहेको उनले बताए ।
यो बिषयमा तपाईको प्रतिकृया