जिल्लाको निसीखोला गाउँपालिका । केही वर्ष अगाडिसम्म जिल्लाको दुर्गम क्षेत्रको रुपमा चिनिन्थ्यो । सडक सञ्जालको पहुँच नहुँदा त्यहाँका स्थानीयले जिल्ला सदरमुकाम आउन निकै दिन पैदल यात्रा गर्नुपथ्र्यो । केही वर्षयता भने मध्यपहाडी लोकमार्गले बागलुङलाई बीचबाट चिरेर गएपछि अहिले निसीखोला सुगम बन्दै गएको छ । लोकमार्गको बागलुङ नगरपालिका भित्रै बेहाल छ तर निसीलाई लोकमार्गले सुगम बनाईदिएको छ । भौतिक विकासमा अगाडि बढ्दै गएको निसीमा शैक्षिक विकासका लागि पनि अभ्यास सुरु भएको छ ।
निसीखोला गाउँपालिका—१ देविस्थानको देविस्थान माविले प्रविधिमैत्री शिक्षण सिकाइ क्रियाकलाप सुरु गरेको छ । सूचना प्रविधिको बढ्दो पहुँचलाई उपयोग गर्दै स्मार्ट विद्यालय बनाउने अभियान अन्तर्गत प्रविधिमैत्री पठन पाठनको सुरुवात गरिएको हो । त्यसका लागि विद्यालयले विभीन्न क्षेत्रबाट स्रोत जुटाएर विद्यालयका शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । विद्यालयमा इन्टरनेटको पहुँच विस्तार भएसंगै विद्यालयलाई स्मार्ट विद्यालय बनाउनका लागि पहिलो चरणको काम अगाडि बढेको विद्यालयका प्रधानाध्यापक झगबहादुर क्षेत्रीले बताए ।
‘हामीले विद्यालयको आन्तरिक स्रोतबाट विद्यालयका सबै शिक्षकहरुका लागि ल्यापटप खरिद गरेर वितरण गरेका छौं,’ उनले भने,‘विद्यालयमा प्रविधिमैत्री पठन पाठनका लागि ल्यापटप वितरण गरिएको हो ।’ त्यसका लागि विद्यालयले शिक्षकहरुलाई कम्प्युटर तालिम समेत दिएको छ । ‘हामीले शिक्षकहरुलाई गतवर्ष नै कम्प्युटर तालिम दिएका थियौं,’ प्रअ क्षेत्रीले भने,‘यस पटक फेरी पुनर्ताजगी तालिम दिएका छौं ।’ विभिन्न क्षेत्रबाट १३ लाख रुपैयाँ जुटाएर ल्यापटप र प्रोजेक्टर किनेको उनले जानकारी दिए ।
‘हामीले गतवर्ष यसवर्ष गरी १६ वटा ल्यापटप किनेका छौं, त्यसका लागि १३ लाख रुपैयाँ खर्च भएको छ,’ उनले भने,‘१० लाख जतिको ल्यापटप र बाँकी प्रोजेक्टर तथा अन्य सामग्रीहरु किनेका छौं ।’ सूचना प्रविधिको विकासलाई शिक्षासंग जोडेर गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालयले यो अभ्यास थालेको उनी बताउँछन् । ‘अहिले सूचना प्रविधिको चरम विकास भएको छ, हरेक कामका लागि विज्ञान प्रविधिमा निर्भर हुने अवस्था आएको छ,’क्षेत्रीले भने,‘त्यसका लागि हामीले विद्यालयबाट उत्पादन गर्ने जनशक्ति पनि त्यही अनुसार तयार हुनुपर्छ भनेर पठन पाठनमा प्रविधि भित्र्याउने काममा लागेका हौं ।’
कोरोना महामारीले गर्दा प्रविधिमैत्री शिक्षण क्रियाकलापको झन् महत्व दर्शाएको उनले बताए । ‘अहिले त कोरोना महामारीले जबरजस्ती प्रविधिमैत्री हुनुपर्ने बाध्य नै बनायो,’ उनी भन्छन्,‘भौतिक उपस्थीतिमा कक्षा सञ्चालन गर्ने अवस्था नभएपछि प्रविधिको सहारा लिनैपर्ने भएको छ ।’ स्मार्ट बोर्डको प्रयोग गरेर पठन पाठन गराउने गरी काम अगाडि बढेको उनी बताउँछन् । ‘अहिले एउटा स्मार्ट बोर्ड राखेका छौं, पछि गएर स्मार्ट बोर्डको प्रयोग गरेर नै पढाउने योजना छ,’ उनले भने,‘अहिलेका लागि प्रोजेक्टर जोडेका छौं । कक्षा ८ देखि १० सम्म जोडिएको छ । कक्षा १ देखि ३ सम्म टिभी जोडेर त्यस मार्फत पठन पाठन सुरु गर्दैछौं ।’
विद्यालयमा गर्त गाउँपालिकाको सहयोगमा इन्टरनेट जोडिएको छ । समग्रमा विद्यालयलाई नै स्मार्ट विद्यायलय बनाउने योजना अनुसार अगाडि बढेको उनको भनाइ छ । ‘अब विद्यालयहरु स्मार्ट हुनुपर्छ भनेर हामीले यो सुरुवात गरेका छौं,’ उनले भने । अहिले विद्यालयमा अध्ययन गर्ने ७० प्रतिशत विद्यार्थी स्मार्ट फोनको पहुँचमा रहेको उनको भनाइ छ । ‘७० प्रतिशत विद्यार्थी स्मार्ट फोनको पहुँचमा छन् । तर विपन्न समुदायको धेरै बसोबास गर्ने क्षेत्र भएकाले डाटाको प्रयोग गर्दा केही समस्या भने पक्कै छ,’ उनी भन्छन्,‘अहिले कक्षा १० मा अनलाईन कक्षा सुरु गरेका छौं । अब अन्य कक्षाहरु पनि क्रमशः सुरु गर्ने योजना छ ।’
स्मार्ट फोनको पहुँचमा नभएका र अनलाईन कक्षा पढ्न सम्भव नभएका विद्यार्थीलाई विद्यालयमै बोलाएर पठन पाठन गर्ने योजना रहेको उनले सुनाए । अहिले विद्यालयमा ४१० विद्यार्थी अध्ययनरत रहेको र उनीहरु सबैका लागि आईप्याड उपलब्ध गराउने विषयमा योजना बनाईरहेको समेत उनले बताए । ‘शिक्षकहरु मात्रै होईन विद्यार्थी पनि प्रविधिमैत्री हुनप¥यो, त्यसका लागि हरेक विद्यार्थीलाई आईप्याड उपलब्ध गराउने गरी विभीन्न क्षेत्र निकायहरुसंग छलफल सरसल्लाह गरेर अगाडि बढ्दैछौं । निकट भविष्यमा विद्यार्थीलाई पनि आईप्याड उपलब्ध गराउनेछौं ।’
तल्लो तहमा केही समस्या भए पनि माथिल्लो तहमा पढाउने शिक्षकहरुलाई प्रविधिमैत्री शिक्षणका लागि कुनै समस्या नभएका विद्यालयका शिक्षक विनोद पौडेलले बताए । ‘तल्लो तहमा पढाउने शिक्षकहरुलाई तालिम दिएपछि अहिले विस्तारै बानी पर्दैछ, माथिल्लो तहमा त खासै समस्या थिएन,’ उनले भने,‘शिक्षकहरु समयसंगै परिवर्तन हुनुपर्छ र आफुलाई अपडेट गर्नुपर्छ भन्ने कुरा हो । केही चुनौती त अवश्य नै थपिएको छ ।’
शिक्षकहरु पनि समय सापेक्ष हुनुपर्ने भएकाले विद्यालयको योजना सहज रुपमा अगाडि बढ्ने उनको भनाइ छ । चक डस्टर बोक्नु नपर्ने भएकाले शिक्षकहरु पनि उत्साहित भएको उनी बताउँछन् ।
यो बिषयमा तपाईको प्रतिकृया