उमेरले ५२ वर्ष पार गरेका देउवीर रसाईली बिहान सबेरैदेखि साँझ अबेरसम्म आफ्नै आरन व्यवसायमा तल्लिन हुन्छन् । बागलुङ जिल्लाको दुर्गम मानिने तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि करिब एक घण्टाको उकालो पैदल यात्रा पश्चात् पुग्न सकिने गाउँ हो तमानखोला गाउँपालिका—२ खोलेस्वाङ । त्यही गाउँको बीच भागमा पर्छ देउवीरको घर ।
१६ वर्षको उमेरबाट नै आरन व्यावसायमा लागेका देउवीरले आरन व्यवसाय बाट नै गाउँमा जग्गा किनेर घर समेत बनाई सकेका छन् । उनको आरन व्यावसायको निरन्तरतासंगै त्यसै व्यवसायबाट छोरालाई पढाउने तथा ३ जनाको परिवार पालेका छन् ।
पुराना पुस्ताको आरन व्यवसायमा नयाँ पुस्ताको आकर्षण घट्दै गएसंगै गाउँमा सामान्य औजार बनाउन समेत धेरै दुःख हुन थालेपछि आफुले यो पेसा अँगालेको रसाईलीको भनाई छ । ‘पढाई पनि ३ कक्षासम्म पढें त्यसपछि पारिवारिक अवस्थाको कारणले छोडेर गाउँमा म बाबासंगै घर बनाउने , काठ चिर्ने काम गर्थे त्यसै समयमा गाउँमा आरन व्यवसाय गर्ने पनि कम भएको कारण बाबाले आरन गरम भयो अनि बाबा छोराले सङ्गै काम गर्न थाल्यौ,’ उनले भने ।
पहिले बालिघरे प्रथा भएता पनि अहिले बालिघरे प्रथा नरहेको रसाईलीले बताए । उनले तमानखोला गाउँपालिकाको सिल्गुम, भयरबुङ्गा, हिजा, स्याउला, पहिरा तथा नर्जाखानीबाट समेत औजार बनाउन आउने गरेको बताए । बढ्दो आधुनिकिरणमा पनि आफुले घरेलु औजारबाट नै हसिँया, कोदालो, बन्चरो, फाली लगायत स्थानिय औजार निमार्ण गर्ने गरेको रसाईलीको भनाई छ ।
पछिल्लो समय युवाहरु वैदिशिक रोजगारमा पलायन हुने संख्या बढी रहेको बेलामा पुख्र्यौली पेशालाई आधुनिकिरण गरेर काम थालेमा मनग्य आम्दानी समेत गर्न सकिने रसाईलीको भनाई छ ।
यो बिषयमा तपाईको प्रतिकृया