अपराधिक घटनामा आफन्तकै संलग्नता बढ्दो

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
अपराधिक घटनामा आफन्तकै संलग्नता बढ्दो

गत जेठ ५ गते बिहानै मोरङको रंगेली नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा एक महिलाको शव फेला पर्७शधव;यो । प्रहरी तत्काल घटनास्थलमा पुगेर अनुसन्धानमा जुट्यो । उक्त शव रंगेली नगरपालिका–३ की २४ वर्षीय अनिता यादवको रहेको पाइयो । शवको पहिचान खुलेसँगै हत्याको कारण र हत्याराको पहिचानमा प्रहरी अनुसन्धान केन्द्रित हुन थाल्यो ।

प्रहरीले अनिताका श्रीमान,सासुससुरा र देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढायो । अन्ततः घटना भएको पाँच घण्टाभित्र प्रहरीले हत्यारा पहिचान गर्न सफलता पायो ।

अनिताको हत्या उनकै १९ वर्षीय देवर विनोद यादवबाट भएको खुल्यो । सामान्य घरायसी झगडालाई लिएर रिसइबी साँध्न विनोदले भाउजुको हत्या गरेको प्रहरीको निष्कर्ष थियो ।

विराटनगर महानगरपालिका–१४ झडियारीमा बस्दै आएका ६९ वर्षीय सत्यराम भनिने सीताराम चौहानलाई उनकै दुई छोराले हत्या गरे । पैसा मागेको भनेर रक्सीले मातेको सुरमा फरुवाले हानेर बाबुको हत्या गरेपछि घरभित्रै खाल्डो खनेर शव गाडेका थिए ।

सुनसरीको इटहरी उपमहानगरपालिका स्थायी घर भइ विराटनगर महानगर,मधुमारामा बस्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको आफ्नै श्रीमती मीना श्रेष्ठले जेठ २ गते राति योजना बनाएर घरभित्रै हत्या गराइन् ।

मिनाकै योजनामा सिराहाको लहान घर भइ विराटनगर बस्दै आएका २१ वर्षीय ब्रह्मदेव साह र सुनसरी इटहरीका २० वर्षीय सोनु साहले ओछयानमै देवीप्रसादको हत्या गरेका थिए ।

सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ का १९ वर्षीय कुवेर राईलाई आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयमा भएको विवादलाई लिएर कुवेरले ५७ वर्षीय बाबु सन्तकुमार राईलाई आगो फुक्ने ढुङ्ग्रोले घाँटी र टाउकोमा हानेर हत्या गरेका थिए । घटनास्थलमै सन्तकुमारको मृत्यु भएको थियो ।

तेह्रथुममा पनि आफ्नै छोराबाट एक दम्पतीले ज्यान गुमाउनु परेको छ । घरायसी विवादका कारण तेह्रथुमको फेदाप गाउँपालिकाको ईसिबु बस्ने २० वर्षीय कञ्चन लिम्बुले ४२ वर्षीय बाबु रुपहादुर र ३५ वर्षीया आमा रुपेनी लिम्बुलाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।

बुवा खेतमा काम गर्न गएको बेला घरभित्र रहेकी आमालाई कञ्चनले बञ्चरो प्रहार गरी हत्या गरेका थिए । आमाको हत्या गरी घरबाट बाहिर निस्कँदा अगाडि बुबालाई देखेपछि उनले फेरि त्यहीँ बञ्चरोले बुबालाई पनि काटेर हत्या गरी फरार भएका थिए । उनलाई केही समयभित्रै प्रहरीले पक्राउ गरेको थियो ।

प्रस्तुत कर्तब्य ज्यानका सबै घटनाका अभियुक्तहरु मृतककै परिवारका सदस्य पाइएको छ ।

हत्याका कतिपय घटनामा घरभित्रैको सदस्य संलग्न रहने गरेको पाइन्छ । केहीले प्रेम,केहीले तत्कालीन आवेग थेग्न नसक्दा त केहीले आर्थिक लेनदेनका कारण जघन्य अपराधको बाटो रोजेको देखिन्छ । यी सबै घटनामा संलग्न युवाको उमेर २८ वर्षभन्दा कम छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले निषेधाज्ञा जारी गरेको छ । तर पनि यस्ता अपराधका घटनामा कमी आउन सकेको छैन । निषेधाज्ञाका कारण मानिसहरु घरभित्रै सीमित रहने,कतिपयले रोजगारीका अवसर गुमाएका कारण पनि घरासयी सामान्य झगडाले उग्ररुप लिने गरेको र अपराधका घटना बढ्ने गरेको प्रहरीको भनाइ छ ।

प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका अनुसार कोरोनाको महामारी रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले जारी गरेको निषेधाज्ञाको समयमा प्रदेशमा पाँच पुरुष र चार महिला गरी कुल ९ जनाको हत्या भएको छ । ती सबै घटना श्रीमान्÷श्रीमती,दाजु÷भाइ,बाबु÷छोरी र देवर÷भाउजुबीच भएका छन् । ती हत्यामा सलंग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ती घटनामध्ये आफ्नै श्रीमानबाट तीन महिलाको हत्या भएको छ । त्यसैगरी दाईले भाइको र भाइले दाइको गरी हत्याका दुई घटना भएका छन् । आफ्नै बुबाबाट छोरा र छोराबाट एक बुबाको गरी दुईवटा घटना भएको छ भने आफ्नै देवरले भाउजुको हत्या गरेको घटना पनि यसबीचमा प्रकाशमा आएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले निषेधाज्ञाको अवधिमा पनि व्यक्ति हत्याको घटनामा कमी नआएको बताए । ‘घर,परिवारभित्रका सदस्यमा सामान्य विषयमा हुने ठासठुसलाई लिएर पछिसम्म रिसइबी साँध्ने कार्यले ब्यक्ति हत्याको घटना बढाइरहेको छ,’ श्रेष्ठले भने, ‘धेरै अपराधका घटनामा सोच्नै नसकिने अवस्थाका ब्यक्तिको संलग्नतामा बढोत्तरी भएका छन् ।’

छोरीद्वारा आमाको हत्या,छोराबाट बुबाको हत्याजस्ता अस्वाभाविक र अकल्पनीय घटना पनि समाजमा बढिरहेको उनले बताए । यस्ता घटनामा परिवारको सदस्यबाटै रिसको आवेगलाई थाम्न नसकेर र कतिपय घटना आर्थिक लेनदेनसँग जोडिएर हुने गरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

१० महिनामा आफन्तबाटै हत्याका ५३ घटना

गत साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा आफन्तबाटै प्रदेशमा ५३ जनाको हत्या भएको छ । ती घटनामा संलग्न ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको अभिलेख अनुसार यो अवधिमा भएका हत्याका घटनामध्ये अधिकांश श्रीमान र श्रीमतीबीच भएको छ । अर्थात् २८ वटा हत्याका घटना पति–पत्नीबीच भएको छ ।

त्यस्तै माइजु र भान्जाबीच एक,जेठाजु÷बुहारीबीच एक,बाबुछोराबीच ६ र बाबुछोरीबीच एक हत्याका घटना भएका छन् ।

यो बीचका भएका हत्याका घटनामा चार जना शिशुलाई आमाले हत्या गरेको पाइएको छ भने एक नाबालकलाई ठुलीआमाले हत्या गरेकी छन् । यस्तै,दाजुबहिनी,आमाछोरा,आमाछोरी,ठुलोबुवा र भतिजबीच पनि हत्याका घटना भएका छन् ।

अपराधमा युवा

१ नम्बर प्रदेश प्रहरी कार्यालय,विराटनगरको तथ्याङ्क अनुसार पछिल्ला वर्ष अपराधमा युवाको संलग्नता डरलाग्दो देखिन्छ । आर्थिक वर्ष ०७६÷०७७ मा जघन्य प्रकृतिको अपराधमा युवा उमेर समूहको संलग्नता बढी छ । प्रहरीको अभिलेख अनुसार प्रदेशमा भएका ८ हजार ३१६ आपराधिक घटनामा १ हजार ६२३ जघन्य अपराधका घटना भएका छन् । तिनमा संलग्न १ हजार ४११ जना १६ देखि २५ वर्ष उमेर समूहका छन् ।

त्यसैगरी आर्थिक वर्ष ०७५÷०७६ को अभिलेखअनुसार १ नम्बर प्रदेशका १४ जिल्लामा ७ हजार ६९१ वटा आपराधिक घटनामध्ये जघन्य अपराधका ९९८ वटा घटना भएका छन् । प्रहरीले जघन्य अपराधमा संलग्न १ हजार २४ जना पुरुष तथा ५७ जना महिला गरी १ हजार ८१ जनालाई पक्राउ गरेको थियो । तीमध्ये ३२६ जना १६ देखि २५ वर्ष उमेर समूहका छन् । त्यस्तै २६ देखि ३५ वर्षसम्मका ४८७ जना,३६ देखि ४५ वर्ष उमेरका १९० जना छन् भने ४६ देखि ६० वर्षका ७४ जना र ६० वर्षमाथिका १ जना छन् । यस्तै,१६ वर्ष मूनिका ३ जना रहेको देखिन्छ ।

प्रदेश नम्बर १ मा कर्तव्य ज्यान,जबर्जस्ती करणी,ज्यान मार्ने उद्योग,हातहतियार खरखजाना तथा लागू औषधमा संलग्नमध्ये १६ देखि २५ वर्ष उमेर समूहका युवाको संख्या बढी छ ।

किशोर–किशोरीलाई अभिभावकहरूले बेलैमा राम्रो निगरानीमा राख्न नसक्दा उनीहरू कुलतमा फसेर जघन्य अपराध गर्न पुग्ने प्रहरीको भनाइ छ ।

आर्थिक वर्ष ०७६÷०७७ मा प्रदेशमा कर्तव्य ज्यानका १३८ मुद्दामध्ये १०४ जना १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता पाइएको थियो । जबरजस्ती करणीमा पनि चालू आर्थिक वर्षमा १६० वटा मुद्दामध्ये ९२ वटा मुद्दामा युवा संलग्न छन् । यसैगरी ज्यान मार्ने उद्योगका ८४ वटा घटनामा ५५ जना युवा संलग्न पाइएको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

यसैगरी हातहतियार खरखजाना र लागूऔषध ओसारपसारमा पनि १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता बढी देखिएको छ । प्रहरीले ११ अपराधलाई जघन्य अपराधको सूचीमा राखेको छ,जसमा खुन डाँका,कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग,डाँका चोरी,लागूऔषध,अपहरण,हातहतियार तथा खरखजाना,मानव बेचबिखन तथा ओसारपसार,जबरजस्ती करणी र विष्फोटक पदार्थ छन् । डाँकाचोरी बाहेक सबै किसिमका अपराध बढेको तथ्यांकले देखाउँछ ।

बेरोजगार व्यक्तिले आफू अनुकूल उपलब्धि प्राप्त नगरेपछि अपराधतर्फ उन्मुख हुने जानकारहरू बताउँछन् । महेन्द्र मोरङ क्याम्पस समाज शास्त्रका उपप्राध्यापक चन्द्र उपाध्याय सामाजिक विचलनका कारण युवापुस्तामा आपराधिक मनोवृत्ति बढ्दै गएको बताउँछन् । उपाध्यायका अनुसार किशोर उमेरका युवामा अचानक स्वभाव परिवर्तन भइ रिसाउने,झोक्किने,इन्टरनेटमा बढी झुम्मिने र अश्लील चलचित्र हेर्ने बानीले गलत बाटो अबलम्बन गरिरहेका छन् । रातोपाटीबाट साभार

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal