यहाँको अल्पसंख्यक माझी समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गरिएको निशेधाज्ञाका कारण दैनिक ज्यालादारी गरेर जीवन गुजारा चलाउँदै आएका माझी समुदायमा खाद्यान्नको समस्या नहोस् भनेर खाद्यान्न सहयोग गरिएको हो । सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङ नगरपालिका—३ गुठीको संयोजन र हिमानी ट्रस्ट काठमाडौंको सहयोगमा माझी बस्तीमा खाद्यान्न सहयोग गरिएको हो ।
अधिकाँस माझी समुदाय दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने परिवार रहेका कारण उनीहरुलाई निशेधाज्ञाका बेला भोकै बस्न नपरोस् भनेर खाद्यान्न सहयोग गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र गुठीका अध्यक्ष लिलादेवी खड्काले बताईन् । त्यसका लागि हिमानी ट्रस्ट काठमाडौंले ६२ हजार बराबरको खाद्यान्न सहयोग गरेको उनको भनाई छ ।
‘कोरोनाको महामारीले हामी सबैलाई समस्या भएको छ, यसको नियन्त्रणका लागि भनेर निशेधाज्ञा गरिएको छ,’ उनले भनिन्,‘यस्तो अवस्थामा दैनिक काम गरेर बिहान बेलुका छाक टार्नुपर्ने परिवारलाई निकै सकस भएको छ । त्यसैलाई ध्यानमा राखेर हामीले खाद्यान्न सहयोग गरेका छौं । यो सहयोगका लागि हिमानी ट्रस्टले सहयोग गरेको छ ।’
हिमानी ट्रस्टको सहयोगमा बागलुङ नगरपालिका—१ रामरेखाको खनियाबासमा रहेका २१ घरपरिवार माझी समुदाय, बागलुङ नगरपालिका—३ गुठीका ५ परिवार र भुत्लेभिरका एक जना अपाङ्गता भएको परिवारलाई सहयोग गरिएको उनले जानकारी दिईन् । प्रतिपरिवार १५ किलो चामाल, आलु, मुसुराको दाल, चना, अण्डा, नुन र तेल सहयोग गरिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी सहदेव राजभण्डारलिे महामारीको समयमा सबैले आफु जोगिने र अरुलाई सहयोग गर्ने गर्नुपर्ने बताए । ‘यो बेला सबैलाई गाह्रो छ, सामान्य अवधीमा हामी सबै आफ्ना तरिकाले बाँचेका छौं,’ उनले भने,‘यो असामान्य र असहज परिस्थीतिमा एकले अर्कोलाई सहयोग गरेर अगाडि बढ्नुपर्छ । यो बेलामा मानव जीवनको रक्षा नै महत्वपूर्ण हुन्छ ।’
उनले विषम परिस्थितीमा अफ्ट्यारोमा परेकाहरुलाई सबैले आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्ने बताए । विपन्न समुदायलाई खाद्यान्न सहयोगका लागि गुठीका दल बहादुर पुनले समेत एक बोरा चामल प्रदान गरेका थिए ।
यो बिषयमा तपाईको प्रतिकृया