नेपाल पत्रकार महासंघ बागलुङको नयाँ नेतृत्व चयन गर्न हुने निर्वाचन अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । आगामी नेतृत्वका लागि अध्यक्ष पदका लागि नेपाल प्रेस युनियन बागलुङका तर्फबाट नरेश कँडेल र प्रेस संगठन बागलुङका राम थापा अविरलले उम्मेदवारी दर्ता गरेका छन् । अघिल्लो पटक सर्वसम्मत नेतृत्व चयन गर्दा भएको पूर्व सहमतीको आधारमा नेपाल प्रेस युनियले अध्यक्ष दाबी गरे पनि प्रेस संगठनले पनि अध्यक्षको दाबी नछोडेपछि अध्यक्ष पदमा यी दुई संगठनले उम्मेदवारी दर्ता गराएका छन् ।
पत्रकार महासंघ बागलुङका लागि आगामी चैत २५गते हुने निर्वाचनमा ३२ पदमा लागि ६८ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । नेपाल पत्रकार महासंघ बागलुङको आगामी कार्यकालका लागि उपाध्यक्षमा प्रेस चौतारी नेपालका नविन शिशिर विक र प्रेस संगठनका थम्मन थापाले उम्मेदवारी दर्ता गरेका छन् । सचिव पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । सचिवमा प्रेस चौतारी नेपालबाट तारानाथ आचार्य, प्रगतिशील पत्रकार संघबाट विजय राना र प्रेस चौतारीबाट रेणु केसीले उम्मेदवारी दिएको निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले जानकारी दिए ।
खुला सहसचिवमा नेपाल प्रेस युनियनका नारायण रिजाल र प्रेस संगठनका विमल खड्काले उम्मेदवारी दिएका छन् । समावेशी सहसचिवका लागि प्रेस संगठनका अनिष खाती र प्रेस चौतारीका खगेन्द्र विश्वकर्माले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा प्रेस चौतारीका खेमराज गौतम र सूर्यबहादुर विकले उम्मेदवारी दिएको समितिले बताएको छ । महिला सदस्यमा मनिषा शर्मा र साधना पन्त, दलित सदस्यमा नवराज नेपाली र योगेन्द्र विक, समावेशी सेदस्यमा केयरसिंह राना र प्रशान्त घर्तीमगरले उम्मेदवारी दिएका छन् ।
अल्पसंख्य सदस्यमा देउमाया रानाको मात्र उम्मेदवारी परेको छ । प्रेस चौतारीको तर्फबाट अल्पसंख्यमा रानाको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत हुने भएकी छिन् । ६ जना खुला सदस्यका लागि १४ जनाको उम्मेदवारी दिएका छन् । अर्जुन कार्की, कृष्णप्रसाद सापकोटा, गुमा आचार्य, छबिलाल पाण्डे, जमूना शर्मा, डम्मर बुढा, दिनेश शर्मा, प्रदीप पन्त, पूर्णभद्र निउरे, बालकृष्ण सुवेदी, योगेश खड्का, रिया शर्मा, सूर्य गौतम, नविनप्रताव जिसीको उम्मेदवारी परेको छ । चार जना केन्द्रीय प्रतिनिधि परिषद सदस्यका लागि ८ जनाले दाबी गर्दै उम्मेदवारी दिए ।
उमाकान्त शर्मा, कमल पौडेल, किरण पौडेल, कोपिला कँडेल, चन्द्र गणेश पौडेल, पिम्ला गौतम, दिलिप पौडेल र मुकेशचन्द्र राजभण्डारीले उम्मेदवारी दिएका छन् । ११ जना प्रदेश परिषद सदस्यका लागि कविता घर्तीमगर, कृष्ण आचार्य, खिमबहादुर कार्की, गणेश नेपाली, गजेन्द्र गौतम, गंगा चोखाल, झपिन्द्रबहादुर क्षेत्री, तुलसी रेग्मी, दीपक राजभण्डारी, प्रेमबहादुर केसी, बबिता शर्मा, बद्रीप्रसाद शर्मा, विरबहादुर चोखाल, बेलु थापा, मनबहादुर थापा, मञ्जुल शाक्य, महेन्द्र घर्ती संगम, राजु खड्का, राज थापा, रोमबहादुर थापा, सजिता गौतम, सञ्जिव बोहोरा, सुवासराज पन्त र त्रिलोचन रिजालले उम्मेदवारी दिएका छन् ।
अन्तिसम्म पनि सर्वसम्मतको प्रयास असफल भएपछि दुई प्यानल जस्तो देखिने गरी उम्मेदवारी दर्ता भएको छ । दिउँसो चार बजेसम्म तोकिएको उम्मेदवारी दर्ता गर्ने समयावधि बेलुका ७ बजेसम्म सारेर उम्मेदवारी दर्ताका लागि समय दिईएको निर्वाचन समितिले जनाएको छ । संगठनहरुले आपसी छलफलबाट सर्वसम्मत नेतृत्व चयन गर्नका लागि समय माग गरेपछि निर्वाचन समितिले समय थप गरेको थियो । त्यो अवधीमा पनि सहमति हुन नसकेपछि उम्मेदवारी दर्ता गरिएको हो ।
पूर्व सहमतीलाई टेकेर धेरै दिनदेखि प्रयासहरु गरिए पनि सहमतीको विन्दु नभेटिएपछि आ—आफ्नै तवरले उम्मेदवारी दर्ता गरिएको नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्तले बताए । ‘हामीले पूर्व सहमतीलाई टेकेर सहमती खोज्ने हरदम खोसिस गरेका हौं,’ उनले भने,‘तर सहमती जुट्न सकेन र उम्मेदवारी दर्ता भएको छ । हामीले अहिले पनि छलफल र वार्ताको ढोका बन्द गरेका छैनौं । उम्मेदवारी दर्ता भए पनि हामीले सहमतीका प्रयास बाँकी नै राखेका छौं ।’
यस अगाडि लिखित रुपमै यस पटक नेपाल प्रेस युनियनले पत्रकार महासंघको नेतृत्व गर्ने सम्झौता भए पनि कतिपय पेशागत संगठनले अस्वीकार गरेपछि सहमतीको वाताबरण बन्न नसकेको नेपाल प्रेस युनियनका अध्यक्षका उम्मेदवार नरेश कँडेल बताउँछन् । ‘अघिल्ला पटकदेखि हामीले सर्वसम्म नेतृत्व चयन गर्ने अभ्यास गरेका थियौं र त्यही बेलामा यस पटक नेपाल प्रेस युनियनले महासंघको नेतृत्व पाउनेछ भन्ने कुरा लिखित रुपमै उल्लेख गरिएको छ,’ उनले भने,‘त्यो सहमतीबाट कतिपय संगठनहरु बाहिर जाने काम भएपछि सर्वसम्मतको प्रयास सफल हुन सकेन । मतदान हुनु अगाडिसम्म पनि हामी सर्वसम्मत गराउनका लागि तयार छौं छलफलका लागि तयार छौं ।’
उनले विगतको सहमती कार्यान्वयन हुनुपर्छ भन्ने पक्षधरहरु एक भएर अगाडि बढेको र त्यसमा अरुलाई पनि सहमतीमा आउन आग्रह गरेको बताए । ‘प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशील पत्रकार संघले पूर्व सहमती कार्यान्वयन हुनुपर्छ भन्ने अडानमा राख्यो,’ उनी भन्छन्,‘त्यस सहमतीमा आउन अरुलाई पनि आग्रह गरेका छौं । अझै पनि सहमतीको ढोका बन्द भैसकेको छैन ।’ पूर्व सहमती नमान्ने र अरुलाई निशेध गरेर जाने भन्ने कतिपय संगठनको अडानका कारण सर्वसम्मतको प्रयास सफल हुन नसकेको प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बताउँछन् ।
‘अघिल्लो पटक हामीले सर्वसम्मत नेतृत्व चयन गरेर प्रेस चौतारीको तर्फबाट महासंघको नेतृत्व गरेका थियौं, यो पटक प्रेस युनियनलाई नेतृत्व दिने भन्ने लिखित सहमती नै छ । हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्छ भन्यौं,’ उनी भन्छन्,‘देशका पछिल्लो राजनीतिक घटनाक्रमसंगै कतिपय संगठनले अर्को संगठनको अस्तीत्व नस्वीकार्ने र निशेध गरेर जानुपर्छ भन्ने अडानका कारण सर्वम्मतका लागि समस्या भएको हो ।’
प्रगतिशील पत्रकार संघ बागलुङले त अझै पनि सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न सम्वद्ध संघ संगठनलाई अपिल गरेको छ । संघका जिल्ला अध्यक्ष रामनारायण सुवेदीले विज्ञप्ती जारी गर्दै विगतको सहमतीलाई कार्यान्वयन गर्दै सहमतीको भावनाका आधारमा अझै पनि निर्विरोध समिति निर्वाचित हुने वाताबरण बनाउन अपिल गरेका छन् ।
यस्तो छ पूर्व सहमती
हाल कार्यरत रहेको नेपाल पत्रकार महासंघ बागलुङको कार्यसमिति चयन गर्दा बागलुङमा क्रियाशील सबै पेशागत पत्रकार संघ संगठनबीचमा सहमती भएको थियो । २०७३ साल माघ २९ गते बसेको नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष, केन्द्रीय सदस्य, तत्कालिन जिल्ला अध्यक्ष तथा विभीन्न पेशागत पत्रकार सम्वद्ध संग संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी बैठकले सहमतीको आधारमा महासंघलाई सबैको साझा संस्थाको रुपमा विकास गर्ने गरी १२ वर्षे सम्झौता गरेको थियो ।
सहमती अनुसार उक्त वर्ष हुने पत्रकार महासंघको अधिवेसनमा प्रेस चौतारी नेपालले नेतृत्व गर्ने त्यसपछि क्रमैसंग नेपाल प्रेस युनियन, प्रेस सेन्टर र प्रगतीशिल पत्रकार संघले पालैसंग नेतृत्व गर्ने र त्यसपछि पनि पुनः सहमतीकै आधारमा अगाडि बढ्ने निर्णय गरेको थियो । विगतको सहमती विपरित तत्कालिन प्रेस सेन्टर अहिलेको प्रेस संगठनले नेतृत्वको दाबी नछाडेपछि यस पटक सर्वम्मतको वाताबरण विथोलिएको हो ।
तत्कालिन पत्रकार महासंघको अध्यक्षको हैसियतमा वर्तमान समितिलाई सर्वसम्मत गराई १२ वर्षे सम्झौतामा हस्ताक्षर गराउन महत्वपूर्ण भूमिका खेलेका पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले नै अहिले सहमती कार्यान्वयनमा उदासीनता देखाएका कारण सर्वसम्मतको प्रयास असफल भएको अन्य संगठनको आरोप छ ।
प्रधानमन्त्रीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि आएको राष्ट्रिय राजनीतिको परिवर्तनपछि सत्ता इतर दललाई समर्थन गर्ने पत्रकार सम्वद्ध पेशागत संघ संगठनको एकता भई पत्रकार महासंघको केन्द्रदेखि प्रदेशसम्म संयुक्त प्यानल बनाएर निर्वाचनको होमिए पनि जिल्लामा भने अवस्था फरक हुन पुगेको छ ।
केन्द्रमा प्रेस युनियन, प्रेस संगठन, सरकार विपक्षीय प्रेस चौतारी, प्रगतिशील पत्रकार संघ लगायत ११ वटा संगठनको प्यानल बनेर प्रदेश स्तरसम्म यही प्यानल तयार भए पनि बागलुङमा प्रेस युनियन, सरकार समर्थित प्रेस चौतारी र प्रगतीशील पत्रकार संघ एक ठाउँमा देखिएका छन् । सरकार विपक्षीय प्रेस चौतारी र तत्कालिन प्रेस सेन्टर अहिलेको प्रेस संगठन अर्को ठाउँमा उभिएका छन् । उम्मेदवारी दर्ता भैसके पनि सर्वम्मतको प्रयास भने जारी रहेको बताईएको छ ।
यो बिषयमा तपाईको प्रतिकृया