करदाता कार्यालय बागलुङले पत्रकारका लागि आयोजना गरेको कर शिक्षा कार्यक्रम । तस्विरःमुक्तिक्षेत्र ।
आन्तरिक राजस्व कार्यालय बागलुङले चालु आर्थिक वर्षमा ८० करोड बढि राजश्व संकलन गरेको छ । कार्यालय चालु आर्थिक वर्षका माघ मसान्तसम्म ८० करोड ३७ लाख ८ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । चालु आर्थिक वर्षमा कुल ८६ करोड २० लाख ६ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा ७ महिनामै वार्षिक लक्ष्य नजिक राजश्व संकलन गर्न सफल भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत जनक शर्माले बताए ।
आन्तरिक राजस्व कार्यालय बागलुङले माघसम्म २५ करोड ४३ लाख ४० हजार आयकर संकलन गर्ने लक्ष्य लिएकोमा ४८ करोड २३ लाख ५७ हजार रुपैयाँ संकलन गर्न सफल भएको छ । यो लक्ष्यको १८९.७ प्रतिशत रहेको शर्माले बताए । बहाल करतर्फ एक करोड ११ लाख ५५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य तोकिएकोमा एक करोड ७ लाख १९ हजार रुपैयाँ संकलन गर्न सफल भएको छ । यसमा ९६.१ प्रतिशत प्रगति देखिएको छ । व्याजकर तर्फ पाँच करोड ७६ लाख ८० हजार लक्ष्य तोकिएकोमा ७ करोड १९ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ । यस लक्ष्यको १२४.७ प्रतिशत प्रगति हो ।
मूल्य अभिवृद्धि तर्फ माघसम्म १० करोड ६९ लाख ८९ लाख लक्ष्य लिईएकोमा २२ करोड ७ लाख ३९ हजार संकलन भएको छ । यसमा २०६.३ प्रतिशत प्रगति देखिएको छ । अन्तशुल्क करतर्फ माघसम्म एक करोड ८ लाख ७७ हजार संकलनको लक्ष्य राखिएकोमा एक करोड ६८ लाख ५८ हजार संकलन भएको छ ।
यसमा १५५ प्रशित प्रगति भएको छ । पाँच महिना बाँकी छँदै यो वर्षको लक्ष्य करिब करिब पूरा गर्ने क्रममा रहेको शर्माले बताए । ‘हामीले लक्ष्यभन्दा बढि काम गर्न सफल भएको छौं,’ उनले भने,‘हाम्रो लागि फेरी नयाँ लक्ष्य निर्धारण भएर आउन सक्छ । हामीले जतिसक्यो धेरै नियम संगत ढंगले सरकारको खातामा जानुपर्ने राजश्व संकलन गर्ने हो ।’ कार्यालयले बधुबार बागलुङका पत्रकारहरुलाई कर शिक्षा सम्बन्धी अन्तक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । आर्थिक ऐन २०७७ ले गरेको छुट सुविधाको समय सकिन लाग्न समेत खासै सेवाग्राहीहरु नआएकाले पत्रकार मार्फत सबैलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।
कार्यक्रममा सहजीकरण गर्दै आन्तरिक राजश्व कार्यालय बागलुङका कर अधिकृत ईश्वर जोशीले कर लिनु राज्यको अधिकार र तिर्नु नागरिकको दायित्व भएको बताए । उनले कर तिर्न आनाकानी गर्दा झन् जरिवाना पनि तिर्नुपर्ने भएकाले समयमै कर तिर्न आग्रह गरे । ‘सरकारले लिनुपर्ने कर जसरी पनि लिएरै छाड्छ,’ उनले भने,‘त्यसैले ढिला गरेर जरिवानाको भागीदार हुनुभन्दा समयमै कर तिर्नु उत्तम हुन्छ ।’ उनले पछिल्लो समय करका धेरै जसो काम अनलाईनबाट घरमै बसी बसी गर्न सकिने भएकाले कार्यालय धाईरहनुपर्ने समस्या समेत नभएको उल्लेख गरे । मल्य अभिवृद्धि करमा दर्ता भएकाहरुले मात्रै वार्षिक रुपमा अनुमति लिनुपर्ने भएकाले कार्यालय पुग्नुपर्ने उनको भनाई छ ।
भ्याटमा जाँदा सबैभन्दा बढि व्यवसायीलाई फाईदा हुने भएकाले त्यसको लाभ लिन पनि उनले आग्रह गरे । ‘भ्याटमा गएका व्यवसायीले छुट्टै कर तिर्नुपर्ने होईन, तिर्नुपर्ने कर उपभोक्ताले नै तिरेको हुन्छ, उपभोक्ताबाट लिएको कर सरकारलाई बुझाईदिने काम मात्रै व्यवसायीको हो,’ उनले भने,‘बरु भ्याट मार्फत उठेको नेपाल सरकारको रकम एक महिनासम्म व्यवसायीले निव्र्याजी रुपमा चलाउन पाउँछन् । राम्रो बुझ्यो भने यो जत्तिको फाईदाको विषय अरु छैन ।’ यो महिनाको कर तिर्नका लागि अर्को महिनाको २५ गतेसम्म सरकारले समय दिएकाले त्यो समयसम्म कर भुक्तानी नगर्नेहरु जरिवानाको भागीदार हुने उनको भनाई छ । उनले कारोबार गर्दा अनिवार्य रुपमा बील लिने दिने गर्ने र दर्ता प्रमाणपत्र देखिने ठाउँमा नराख्नेहरुलाई आन्तरिक राजस्व कार्यालयले कारबाही गर्ने गरेको समेत जानकारी गराए ।
आर्थिक ऐन २०७७ ले कर लाग्ने आयआर्जन गरेर पान नम्बर नलिएका व्यक्तिले यही फागुन मसान्तसम्म पान लिएर विगत तीन वर्षको आय विवरण र त्यसमा लाग्ने कर बुझाएमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाहा हुने व्यवस्था गरेको छ । पान नम्बर लिई आय विवरण पेश नगर्नेले विगत चार वर्षको आय विवरण अनुसार र सोमा लाग्ने व्याजको २५ प्रतिशत मात्र फागुन मसान्तसम्म बझाएमा अन्य शुल्क मिनाहा हुनेछ । २०७३÷०७४ वा सो भन्दा अघिका आय विवरण पेश नगर्ने वार्षिक ५० लाख भन्दा बढिको कारोबार गर्ने निकायले आय विवरण अनुसार लाग्ने व्याजको २५ प्रतिशत बुझाएमा सो मा लाग्ने शुल्क मिनाहा हुनेछ ।
यो बिषयमा तपाईको प्रतिकृया