नेपाल प्रजा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले गण्डकी शक्तिपीठको रुपमा बागलुङ कालिका मन्दिर रहेको बताएका छन् । बागलुङ कालिका मन्दिर व्यवस्थापन गुठी व्यवस्थापन समितिले आईतबार गरेको प्रवचन कार्यक्रममा बोल्दै गुरुङले बागलुङ कालिका मन्दिर शक्तीपीठ भएका कारण यसको सही प्रचार प्रसार गर्न सके विश्वका पर्यटकहरु ल्याउन सकिने बताए ।
‘बागलुङ कालिकाको महिमा र महत्व छुट्टै छ,’ उनले भने,‘त्यसले गर्दा यसलाई शक्तिपीठको रुपमा प्रचार प्रसार गर्न सकियो भने विश्वका तान्त्रिकहरु यहाँ आउँछन् ।’ अहिले सिंहदरबारको अधिकार वडा तहसम्म आईपुगेकाले स्थानीय सरकारले यस्तो क्षेत्रको विकासका लागि भूमिका खेल्नुपर्ने उनको भनाई छ । ‘बागलुङ कालिकाबाट बागलुङको मात्र होईन सिंगो देशकै आर्थिक उन्नति सम्भव छ,’ उनी भन्छन्,‘त्यसका लागि हामीले नै पहल गर्नुपर्छ । यसको प्रचार प्रसार गर्नुपर्छ । नेपाली, अंग्रेजी र हिन्दीमा पनि प्रचार सामग्री बनाउन सक्यौं भने सहजता हुनेछ ।’
त्रिकोणात्मक सम्बन्धले विकास सम्भव रहेको उनको भनाई छ । ‘मन्दिर व्यवस्थापन समिति, यहाँको स्थानीय सरकार स्थानीय व्यवसायीहरुएको त्रिकोणात्मक सम्बन्धबाट यसको विकास गर्न सकिन्छ,’ उनी भन्छन्,‘सबैले आ—आफ्नो क्षेत्रबाट यसको विकास लागि योगदान गर्नुपर्छ ।’ विकासका लागि सम्पदाको महत्व बुझाउनु जरुरी रहेको उनको भनाई छ । ‘सम्पदाको महिमा नबुझ्ने र गलत ढंगबाट बुझ्ने गरेका कारण पनि समस्या हुने गरेको देखिन्छ, यसको महिमा पनि बुझाउन सक्यौं भने यहाँ अन्तर साधना गर्ने व्यक्तिहरुको ओईरो लाग्छ,’ गुरुङले भने ।
कार्यक्रममा विभीन्न व्यक्तिले राखेका जिज्ञासाको गुरुङले जवाफ दिएका थिए । कार्यक्रममा बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष राजु खड्काको अध्यक्षता र कोषाध्यक्ष निशान खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
यो बिषयमा तपाईको प्रतिकृया